निषेधाज्ञा अवधिभर सुन आयात र वितरण प्रभावित हुने, कोटाको सुन अरुको हातमा पुग्दै


कोरोना महामारीका कारण काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न प्रमूख शहरहरुमा जारी निशेधाज्ञाले गर्दा सुन आयात प्रभावित हुने भएको छ ।

सरकारले निशेधाज्ञा जारी गरेको स्थानमा सुनको कारोबार पनि हुन नसक्ने र यस्तो अवस्थामा बैंकहरुले सुरक्षाको कारण देखाउँदै सुन आयात गर्न अप्ठ्यारो हुने जनाएकोले पनि सुन आयात हुन कठीनाई हुने नेपाल सनुचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

निशेधाज्ञा अवधिभर महासंघले आफ्नो कार्यालय बन्द गर्ने निर्णय गरिसकेको छ । यद्यपी केही जिल्लामा कारोबार सुचारु रहेकोले महासंघले सुनको दरभाउ भने तोक्दै आएको महासंघका महासचिव धर्मशुन्दर बज्राचार्यले बताए । उनले अधिकांस स्थानको व्यवसाय नै बन्द रहेको र ग्राहक पनि पसलसम्म जानसक्ने अवस्था नरहेकोले अहिले दैनिक २० किलो सुन ल्याउन आवश्यक नदेखिएको बताए ।

अहिले रोकिएको सुनको आयातलाई ब्यवसाय सुचारु भएपछि निरन्तरता दिँदा अहिले रोकिएको समेत गरी थप सुन ब्यवसायीकै हातमा पुग्ने उनले बताए ।

अहिले पनि पहिला जसरी दैनिक २० केजीका दरले नै सुन वितरण गर्दा सिमित ब्यक्तिको हातमा मात्र त्यो सुन पर्ने र वास्तविक ब्यवसायी र उपभोक्ताले त्यो नपाउने अवस्था आउन सक्ने उनको आशंका छ ।
महासंघका प्रवक्ता मनोज कुमार शाहले कारोबार सुचारु रहेका जिल्लाहरुका लागि स्थानियस्तरमा नै सुनको विक्री वितरणको ब्यवस्था मिलाउन बैंकर्स संघसँग आग्रह गरिएको बताए ।

यसका लागि ब्यवसायी र बैंकर्स संघका बिचमा आवश्यक परामर्श भैरहेको उनको भनाई छ । कारोबार सुचारु रहेका स्थानमा बिशेष स्वास्थ्य सुरक्षा अपनाएर कारोबार गर्न समेत उनले व्यवसायीलाई आग्रह गरेका छन् ।

विगतमा पनि बन्दको वेला सुन आयात गरिँदा त्यो सुन वास्तकिव ब्यवसायी र ग्राहकले उपभोग गर्न नपाएको आशंका गरिएको थियो । गत बर्षको बन्दमा भण्डै ५०० किलो सुन बैंकमा थुप्रिएको भए पनि बन्द खुलेको केही दिनमा नै उक्त सुन सकिएको थियो । उक्त सुन कहाँ गयो भन्ने तथ्याङ महासंघसँग नभएको बताइएको छ ।

फेरी पनि त्यसरी सुन गायव नहोस भन्नेतर्फ ध्यानाकर्षण गराउन खोजिएको महासंघले जनाएको छ । सामान्यतया बैंकहरुवाट आयात हुने सुन १५ दिन पछि ब्यवसायीको सिफरिस विना नै विक्री गर्न पाइन्छ । यसरी थुप्रिएको सुन बिक्री गरिँदा सिमित ब्यक्तिको मात्र हातमा पर्न सक्ने हुनाले यसतर्फ सचेत हुनुपर्ने आवश्यकता रहेको महासंघले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ वैशाख २०७८, शुक्रबार  १२ : ५८ बजे