गोंगबु बसपार्कबाट ७ गुणा बढि भाडा असुल्ने ३ जना पक्राउ


महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढि भाडा लिने तीन जनालाई गोंगबु बसपार्क आसपासबाट पक्राउ गरेको छ ।

निषेधाज्ञाको फाइदा लिन खोज्ने पोखरा माईक्रो र बुटवल भैरहवा काउण्टरका कर्मचारीलाई ट्राफिक प्रहरीले आज बसपार्कबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा पोखरा माईक्रोमा काम गर्ने पोखराका ३२ वर्षका बन्दराज पराजुली, मोरङ्गका २९ वर्षिय नबीन पौडेल र बुटवल भैरहवा काउण्टरमा काम गर्ने धादिङ् थाक्रेका २९ वर्षिय रंजित सिलवाल रहेको महाशाखाले जनाएको छ ।

काठमाण्डौं देखि पोखरासम्मको नियमित भाडा ५ सय रुपैयाँ र बुटवलसम्मको भाडा १२ सय रुपैयाँ हो । तर उनीहरुले पोखरा जाने यात्रुसँग प्रतिव्यक्ति ३ हजार ५ सय रुपैयाँ र बुटवल जाने यात्रुबाट प्रति व्यक्ति ६ हजार लिने गरेको पाइएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए ।

पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीको लागी महानगरीय प्रहरी प्रभाग, बसपार्कमा बुझाएको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरी महाशाखाले यस्तो बिषम परिस्थितिमा हुन सक्ने यात्रु ठगी तथा आइपर्न सक्ने यातायात सम्बन्धि समस्या अनुगमनको लागी सादा पोशाकमा विशेष टोली परिचालन गरेको छ ।

बढी भाडा लिएमा वा सार्वजनिक यातायात सम्बन्धी कुनै गुनासो भएमा नेपाल प्रहरीको हटलाईन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न समेत महाशाखाले अनुरोध गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।