काठमाडौँ । नेपाली समाजमा दसैँ र चिउराको सम्बन्ध निकै पुरानो छ । नेपाली समाजमा दसैँको टीका लगाएपछि दही, चिउरा र केरा खाने परम्परा धेरै प्रचलित थियो ।
आफन्त तथा मान्यजन कहाँ टीका लगाउन जाँदा चिउरा, दही र अन्य परिकार खुवाएर सत्कार गर्ने चलनले दसैँको मौलिकता झल्काउँथ्यो ।
तर पछिल्लो समय दसैँ मनाउने शैलीमा आएको परिवर्तनसँगै चिउरा खाने परम्परा पनि विस्तारै ओझेलमा पर्दै गएको छ । सहरिया जीवनशैली, आधुनिक खानपान र नयाँ पुस्ताको रुचिका कारण दसैँमा चिउराको प्रयोग पहिलेको तुलनामा घट्दै गएको देखिन्छ ।
केही स्थानमा समुदाय विशेषले दसैँमा न्यून मात्रामा चिउरा प्रयोग गर्ने भएपनि पछिल्लो समय दसैँमा चिउरा संस्कृति हराउँदै गएको हो ।
चिउरा संस्कृती विशेष नेवारी समुदायमा महत्वको रुपमा लिने गर्छन् । नेवारी समुदायमा हरेक चाडपर्वमा चिउराको महत्व त उत्तिकै छ तर दसैँमा अझ बढी महत्व हुने गरेको मुना श्रेष्ठ बताउँछिन् ।
पछिल्लो समय बजारमा पाइने विभिन्न प्रकारका जङफुडले गर्दा चिउराको महत्व घटेको उनी बताउँछिन् । चिउरा आवश्यक त पर्छ तर पहिलाको जस्तो सबैले खान नरुचाउने कारणले कम चिउरा किन्ने गरेको उनको भनाई छ ।
उनी भन्छिन्, ‘दसैँलाई चिउरा चाहिन्छ भनेर पाखो बारीमा घैया धान लगाउने प्रचलन समेत रहेको थियो । हरहर बास्नादार चिउराले दशैलाई नै सुगन्धित बनाउँथ्यो । तर अहिले न त घैया धानको खेती गरिन्छ, नत बास्नादार चिउराको प्रयोग नै ।’
विगत १० वर्षदेखि नीलकण्ठ नगरपालिका १२, पशुपति क्षेत्रमा चिउरा तथा भुजा उद्योग सञ्चालन गर्दै आएका हरीप्रसाद सापकोटा भन्छन्, ‘विगतको तुलनामा हाल चिउराको माग अति नै कम भएको छ ।’
उनले सुरुसुरुमा दैनिक ५०० बढी बोरा चिउरा बिक्री गर्ने गरेको र अहिले सो परिमाणको आधा पनि चिउरा निर्यात नहुने बताउँछन् । उनले सुरुमा काठमाडौं, नुवाकोट, गोरखा र धादिङमा निर्यात गर्दै आएकोमा पछिल्लो समय भने चिउराको खासै व्यापार नभएको उनी बताउँछन् ।
विगतमा सामान्य अवस्थामा भन्दा दसैँमा दोब्बर बढी परिमाणमा चिउरा बिक्री हुने गरेको थियो । तर दसैँमा चिउरा खाने चलन क्रमशः घट्दै जाँदा चिउरा उत्पादन तथा बिक्री पनि घट्न पुगेको सापकोटाले बताए । नेपालीहरुले चिउराले स्वास्थ्यमा असर गर्छ भन्ने धारणाले पनि कम प्रयोग भएको उनको दाबी छ, तर बजारमा पाइने जंङफुडभन्दा चिउरा खानु नै राम्रो हुने उनको अनुभव बताएका छन् ।
दसैँमा मात्रै नभई अन्य समयमा पनि चिउरालाई खाजाको रूपमा स्वीकार्ने क्रम घटेको राजेश राइस एण्ड चिउरा मिल नुवाकोटका सञ्चालक राजेश श्रेष्ठ बताउँछन् ।
उनले दसैँमा चिउराको कारोबार घटेको अनुमान गरिएको बताए । यसबाहेक सामान्य अवस्थामा पनि समाजले जंकफूडलाई प्राथमिकता दिँदै जाँदा चिउरा पछि परेको गुनासो गरेका छन् ।
पहिले पहिले दसैँको समयमा चिउरा कुट्न आउनेको भिड हुन्थ्यो तर अहिले त चिउरा कुट्न आउनै छाडे । पहिले पहिले चिउरा कुट्न भने ३÷४ दिन काम गर्नु पर्थ्यो । अहिले १ दिनमा काम सकिने भए पनि उक्त काम प्रति चासो नै छैन ।
नयाँ जेनेरेसनका पुस्ताले चिउरालाई भन्दा जंकफूडलाई प्राथमिकता दिन थाले । जसले गर्दा चिउराको प्रचलन घट्दै गएको हो, उनले भने ।
चिउरा निर्यातमा उल्लेख्य वृद्धि
पछिल्लो समय नेपालमा चिउराको संस्कृति हराउँदै गएको अवस्थामा नेपाली चिउराले विस्तारै विदेशी बजार पाउन थालेको छ ।
चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो २ महिना (साउन–भदौ) मा चिउरा निर्यातमा उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्ष २०८२÷८३ को सोही अवधीको तुलनामा यस वर्ष चिउरा निर्यात वृद्धि भएको हो ।
गत वर्षको २ महिनामा ९ करोड २७ लाख रुपैयाँ बराबरको २ लाख ७ हजार किलोग्राम चिउरा निर्यात भएकोमा यस वर्ष दोब्बरले बढेर २१ करोड ८४ लाख रुपैयाँ बराबरको ४ लाख ६० हजार किलोग्राम चिउरा विभिन्न मुलुकतर्फ निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।
पछिल्लो समय नेपालीहरु विभिन्न मूलुकमा रोजगार तथा पढाईको शिलशिलामा रहँदै आएका छन् । जस कारण विदेशमा रहने नेपालीहरुले नेपाली उत्पादनलाई प्रयोगमा ल्याउँने हुँदा विभिन्न मूलुकमा चिउरा निर्यात भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सूचना अधिकारी माधव मिश्रले बताएका छन् ।
चालु आर्थिक वर्षको दुई महिनामा सबैभन्दा बढी चिउरा अमेरिकातर्फ निर्यात भएको छ । सो अवधीमा अमेरिकातर्फ ६ करोड ९७ लाख रुपैयाँ बराबरको १ लाख १३ हजार किलोग्राम चिउरा निर्यात भएको छ ।
त्यसैगरी, अष्ट्रेलियातर्फ ६ करोड ५१ लाख रुपैयाँ बराबरको १ लाख किलोग्राम चिउरा निर्यात भएको हो । इटालीतर्फ ३ करोड ८० लाख रुपैयाँ बराबरको ८४ हजार किलोग्राम, मलेसियातर्फ २ करोड १५ लाख रुपैयाँ बराबरको ३५ हजार किलोग्राम र जापानतर्फ १ करोड २२ लाख रुपैयाँ बराबरको ९० हजार किलोग्राम चिउरा निर्यात भएको तथ्यांकमा उल्लेख गरिएको छ ।
२ महिनामा नेपालमा भारतबाट ५५ लाख ९७ हजार रुपैयाँ बराबरको १ लाख २० हजार ५२० किलोग्राम चिउरा आयात भएको छ ।








