बैतडी । दसैं नेपालीहरूको सबैभन्दा ठूलो चाड मानिन्छ । गाउँघरमा दसैंको आगमनसँगै घरआँगन लिपपोत गर्ने, बाटोघाटो सफा गर्ने, नयाँ लुगा लगाउने र आफन्तसँग भेटघाट गर्ने चहलपहल बढ्छ ।
तर, बैतडीको दोगडाकेदार गाउँपालिका–२ स्थित ब्रह्मपुर गाउँमा भने दसैंको समयमा पनि पहिलेको जस्तो रौनक छैन । कुनै समय मानिसहरूको चहलपहलले भरिभराउ रहने गाउँ अहिले सुनसान बन्दै गएको छ ।
दसैंको समयमा पनि ब्रह्मपुर गाउँका १६ घरधुरीमा जम्मा ३३ जना मात्रै छन् । तीमध्ये १५ वर्षमुनिका ८ जना बालबालिका छन् भने ६० वर्षमुनिका १२ जना र ६० वर्षभन्दा माथिका १३ जना छन् । १५ वर्षमुनिका बालबालिकामा चार बालिका र चार बालक छन् । त्यस्तै, ६० वर्षमुनिका १२ जनामध्ये सात पुरुष र पाँच महिला छन् । ६० वर्षभन्दा माथिका १३ जनामा पाँच पुरुष र आठ महिला रहेका छन् ।
रोजगारीको खोजीमा विदेशिने युवाहरू र सुविधा सम्पन्न जीवनको आशामा तराई तथा सहरतिर बसाइँ सर्ने परिवारका कारण गाउँ बस्तीहरू क्रमशः रित्तिँदै गएका छन् । यसको प्रभाव गाउँको जनजीवनमा मात्रै सीमित नभएर पुख्र्यौली घर, खेतीयोग्य जमिन, सामाजिक सम्बन्ध र परम्परागत संस्कृतिमा समेत देखिन थालेको स्थानीय संस्कृतिका जानकारहरू बताउँछन् ।
ताल्चा लागेका घर, छानामा उम्रियो घाँस
दसैँ नजिकिँदै गर्दा गाउँका धेरै घरका ढोका बन्द छन् । कुनै समय परिवारका सदस्य र आफन्तको जमघट हुने आँगन अहिले सुनसान छन् । केही पुराना ऐतिहासिक र परम्परगत घर जीर्ण बनेका छन् भने कतिपय घरका छानामा घाँस उम्रिएको छ । गाउँमा रहेका थोरै परिवारका लागि दसैँको चहलपहल पनि पहिलेको जस्तो छैन । काठैकाठका बार्दली र परम्परागत वास्तुकला भएका घरहरू सुनसान र जीर्ण अवस्थामा छन् ।
शिक्षा, स्वास्थ्य, रोजगारी तथा अन्य आधारभूत सेवासुविधाको खोजीमा मानिसहरू गाउँ छाडेर सहर र तराईतिर जान थालेपछि बस्ती पातलिँदै गएको छ ।
दोगडाकेदार गाउँपालिका–२ का वडाध्यक्ष विष्णुदत्त भट्ट गाउँको बदलिँदो अवस्थाले चिन्तित बनाएको बताउँछन् । उनका अनुसार गाउँ रित्तिनुको प्रमुख कारण रोजगारीको अभाव र वैदेशिक रोजगारीपछि युवाहरूको गाउँप्रतिको दृष्टिकोणमा आएको परिवर्तन हो ।
“पछिल्लो समय गाउँबाट युवाहरू रोजगारीको खोजीमा विदेश गएका छन् । विशेषगरी खाडी मुलुकमा जानेको संख्या बढी छ । खाडीमा दुःख गरेर कमाएको केही पैसाले पनि उनीहरूले पहाडमै केही गर्ने इच्छा देखाएनन्,” वडाध्यक्ष भट्ट भन्छन् ।
स्वदेशमा रोजगारीको अवसर नपाएपछि विदेशिएका युवाहरूले विदेशमा कमाएको पैसा गाउँको विकास र पुख्र्यौली घरको संरक्षणमा लगाउनुको सट्टा तराई तथा सहरमा घरजग्गा जोड्न खर्च गर्ने प्रवृत्ति बढेको उनको भनाइ छ । विदेशमा कमाएको पैसाले तराईमा सानो जग्गा किन्ने, घर बनाउने र परिवारलाई समेत त्यतै सार्ने क्रम बढ्दै गएको उनले बताए ।
यो प्रवृत्ति वैदेशिक रोजगारीमा गएका युवाहरूमा मात्रै सीमित छैन । नेपालमै सेना, प्रहरी तथा अन्य क्षेत्रमा रोजगारीमा रहेका व्यक्तिहरूले समेत कमाइबाट तराईमा घरजग्गा जोड्ने र परिवारसहित उतै बसाइँ सर्ने क्रम बढेको वडाध्यक्ष भट्टको भनाइ छ ।
“पहाडमा केही छैन भन्ने सोच विकास हुँदै गएको छ । स्वदेशमै रोजगारीमा रहेका व्यक्तिहरू पनि तराईमा घरजग्गा जोड्न सके गाउँ छाड्ने मनस्थितिमा देखिन्छन्,” उनी भन्छन् ।
दोगडाकेदार गाउँपालिकाका पूर्ववडाध्यक्ष दलबहादुर महरा पनि गाउँ रित्तिनुको प्रमुख कारण युवाहरूमा पहाडप्रतिको दृष्टिकोण बदलिनु रहेको बताउँछन् । “युवाहरूमा पहाडमा केही छैन भन्ने सोच विकास हुँदा उनीहरूले कमाएको पैसा तराईमा घरजग्गा जोड्न खर्च गरे । यसले गर्दा गाउँहरू खाली हुँदै गए,” महरा भन्छन् ।
रोजगारीका लागि युवाहरू विदेशिने क्रमसँगै परिवारका अन्य सदस्यसमेत गाउँ छाड्न थालेका छन् । विशेषगरी बालबालिकाको शिक्षादीक्षा, गुणस्तरीय स्वास्थ्य सेवा र अन्य आधारभूत आवश्यकताको खोजीमा महिलाहरू बालबालिकासहित सहर तथा तराईतिर बसाइँ सर्ने गरेका छन् ।
यसको प्रत्यक्ष असर गाउँको जनसांख्यिक संरचनामा परेको छ । गाउँमा युवा र बालबालिकाको संख्या घट्दै जाँदा वृद्धवृद्धाको अनुपात बढेको छ । छोराछोरी तथा नातिनातिना गाउँबाहिर बस्न थालेपछि धेरै वृद्धवृद्धा एक्लै बस्न बाध्य छन् । पछि उमेर बढ्दै जाँदा अशक्त हुने र दैनिक जीवनयापनमा कठिनाइ हुन थालेपछि उनीहरू पनि छोराछोरीसँगै गाउँ छाड्न बाध्य हुने गरेका छन् ।
यसरी पुस्तौँदेखि बसोबास गर्दै आएका परिवारहरू गाउँबाट पलायन हुँदा सामाजिक सम्बन्ध र परम्परागत जीवनशैलीसमेत कमजोर बन्दै गएको सरोकारवालाहरूको बुझाई छ । गाउँमा नयाँ पुस्ताको उपस्थिति घट्दै जाँदा पुराना संस्कार, संस्कृति र परम्पराको पुस्तान्तरणमा समेत संकट देखिन थालेको छ ।
दसैं, तिहार र गौरामा समेत छैन पहिलेको रौनक
स्थानीय संस्कृतिका जानकार तथा शिक्षाविद् धनबहादुर महराका अनुसार दसैं, तिहार र गौरा जस्ता प्रमुख चाडपर्वमा समेत गाउँमा पहिलेको जस्तो चहलपहल र उत्साह देखिन छाडेको छ । “चाडपर्वका समयमा पनि गाउँ सुनसान देखिन थालेको छ । मानिस बस्न छाडेका घरमा बनमारा उम्रिएको छ । घरमा चरोमुसो समेत देखिने अवस्था छैन । चाडपर्व मनाउने परम्परासमेत संकटमा पर्न थालेको छ,” शिक्षाविद् महरा भन्छन् ।
उनका अनुसार गाउँमा मानिसको उपस्थिति घट्दै जाँदा सामूहिक रूपमा मनाइने चाडपर्व, परम्परागत भेटघाट र सांस्कृतिक गतिविधिहरू कमजोर बन्दै गएका छन् ।
यस्तै गाउँबाट युवा जनशक्ति पलायन हुँदा कृषि क्षेत्र र विकास निर्माणका कामसमेत प्रभावित भएका छन् । खेतीपाती गर्ने मानिसको अभावमा खेतबारी बाँझिँदै गएका छन् । गाउँमा श्रमशक्ति घट्दा परम्परागत कृषि प्रणाली सञ्चालन गर्नसमेत कठिनाइ हुन थालेको छ ।
स्थानीयस्तरमा सडक, खानेपानी, सिँचाइ तथा अन्य विकास निर्माणका काममा जनशक्तिको अभाव महसुस हुन थालेको रौलेश्वर माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष जयराज भट्टको भनाइ छ । गाउँमा काम गर्ने उमेर समूहका मानिस कम हुँदै जाँदा उत्पादनशील गतिविधि घट्ने र स्थानीय अर्थतन्त्र कमजोर हुने जोखिम बढेको उनी बताउँछन् ।
शिक्षाविद् महरा पहाडी क्षेत्रमा बसाइँसराइ बढ्नुको अर्को कारण सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा अपेक्षित सुधार हुन नसक्नुलाई पनि मान्छन् । बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले अभिभावकहरू सहर तथा तराईतिर जाने गरेका छन् । शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवासुविधा गाउँमै सहज र गुणस्तरीय रूपमा उपलब्ध हुन नसक्दा बसाइँसराइको क्रम थप बढ्ने गरेको उनको बुझाइ छ ।
पहाडी गाउँमा बढ्दै गएको जनसंख्या पलायन र त्यसबाट उत्पन्न सामाजिक, आर्थिक तथा सांस्कृतिक संकट समाधान गर्न तीनै तहका सरकारले विशेष योजना ल्याउनुपर्ने स्थानीयको माग छ ।
गाउँमै रोजगारीका अवसर सिर्जना गर्ने, कृषि तथा स्थानीय उत्पादनमा आधारित उद्यमलाई प्रोत्साहन गर्ने, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउने तथा आधारभूत पूर्वाधारको विकास गर्ने कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने उनीहरूको सुझाव छ ।
त्यसैगरी, गाउँ छाडेर गएका परिवारलाई पुनः गाउँ फर्किन आकर्षित गर्ने खालका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा पनि स्थानीयले जोड दिएका छन् । स्थानीय स्रोतसाधनको उपयोग, कृषि उत्पादनको बजारीकरण, पर्यटनको सम्भावना र ग्रामीण उद्यमशीलताको विकासमार्फत गाउँमै आम्दानी गर्न सकिने वातावरण बनाउनुपर्ने उनीहरूको भनाइ छ ।








