परम्परागत सीप र जनशक्ति विकासका लागि बजेट सकारात्मक : सुन चाँदी व्यवसायी


नेपाल सुनचाँदी व्यवसायी महासंघले आर्थिक बर्ष २०७८/७९ को बजेटको स्वागत गरेको छ ।

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले कोभिड-१९ को मारबाट शिथिल बनेको मलुकको अर्थतन्त्र र सामाजिक जन-जीवनका हरेक क्षेत्रमा सहुलियत एवं राहतको व्यवस्थाको साथै अर्थतन्त्रको पुनरोत्थानका लागि गरिएको प्रक्षेपण सहितको पहल व्यावहारिक र सकारात्मक भएको महासंघले जनाएको छ ।

यसैगरी स्वदेशी उद्योगका लागि शीपयुक्त जनशक्तिको आपूर्ति र परंपरागत पेशा एवं सीप विकासको लागि विभिन्न किसिमका तालिमको व्यवस्था गरिने बिषय बजेट वक्तव्यमा उल्लेख हुनु उत्साहजनक रहेको महासंघद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । बहुमूल्य गहना निर्माणको लागि कालिगढ तालिम दिईएमा युवा पुस्ताले उच्च पारिश्रमिक पाउने रोजगारी स्वदेशमा नै प्राप्त गर्न सक्ने महासंघको विश्वास छ ।

“महामारीका कारण अर्थतन्त्रका विविध क्षेत्रले काम नै गर्न नसकेकोले आर्थिक वृद्धिदर ऋणात्मक हुन पुगेको अवस्थामा महामारी माथि नियन्त्रण गरी अर्थतन्त्रलाई सुचारु तुल्याई वार्षिक ६ प्रतिशतको वृद्धिदर हाँसिल गर्ने अठोट र प्रतिवद्धता सहितको प्रक्षेपणले निजी क्षेत्रको मनोबल बढाएको छ” विज्ञप्तिमा भनिएको छ ।

यसैगरी सुर्खेतमा स्वदेशी रत्न, पत्थरको प्रशोधन तथा प्रवद्र्धनका लागि निजी क्षेत्रसंगको सह-कार्यमा परियोजना संचालन गर्ने कार्यक्रम बजेटमा समावेश हुनुले आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन, रोजगारी विस्तार, राजश्व अभिवृद्धि आदि क्षेत्रमा ठोस योगदान पुग्ने विश्वास महासंघले लिएको छ ।

वहुमूल्य गहनाको निर्यात विस्तारको प्रसस्त संभावना रहेको भएपनि त्यसतर्फ भने बजेटले छुन नसकेकोले आगामी मौद्रिक नीति मार्फत त्यसको सम्वोधन हुने महासंघको अपेक्षा छ । यसले निकासी पैठारी विचको चरण विभेद हटाउन समेत सहसयोगी भूमिका खेल्ने श्विास महासंघको छ । सुनको चरम अभावले व्यवसायको भविष्य माथि नै गंभीर चुनौती उत्पन्न हुने गरेको भन्दै महासंघले सुनको आयातमा लामो समयदेखि कायम परिमाणात्मक वन्देज र एकाधिकारको अन्त्य हुनु पर्नेमा जोड दिएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।