लगानीका अन्य क्षेत्र संकुचित बन्दा दोस्रो बजार उच्च विन्दुमा : धितोपत्र बोर्ड अध्यक्ष ढुङ्गाना


नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले लगानीका अरु क्षेत्रहरुमा आएको संकुचनले दोस्रो बजारमा लगानीकर्ताको आकर्षण बढेको बताएका छन् । बोर्डको २९ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमममा बोर्डका अध्यक्ष ढुङ्गानाले लगानीकर्ताको संख्या समेत उल्लेख्य रुपमा बढेका कारण दोस्रो बजारको वृद्धि र आकार इतिहासकै उच्च अवस्थामा पुगेको बताए ।

दैनिक करोडको अंकमा हुँदै आएको कारोबार अर्ब रुपैंयाबाट उकालो लागेका कारण दोस्रो बजारमा हुने कारोबारबाट सरकारको राजश्व समेत फराकिलो अन्तरले बढेको उनको भनाई थियो ।

बजारमा हुने कारोबारको आकार बढ्दा अहिले सरकारलाई महिना दिनमा एक अर्बको राजश्व उठ्ने अवस्था देखिएको बताएका उनले विगत वर्षहरुमा वर्ष दिनमा मात्र एक अर्ब राजश्व राज्यको खातामा आउने गरेको बताए ।

प्राथमिक बजारमा पनि कोरोना कहरको सुरुवात हुने समयदेखि अधिक आकर्षण बढेको बताएका उनले इतिहासमा नै पहिलो पटक सबैभन्दा धेरै रकमको प्राथमिक निष्काशन यही अवधिमा भएको बताए ।

दलाल व्यवसायीको कमिशन घटाउनु, उत्पादनशील क्षेत्रको बजार प्रवेश उत्साहजनक देखिनु लगायत विविध कारणहरुले समग्र शेयर बजारको दायरा र आकार बढेको उनको भनाई छ । यस क्रममा बोर्डबाट भएका विभिन्न किसिमका कामहरु ले बजारको विकासमा थप टेवा पुगेको बताएका ढुङ्गानाले नेपाल धितोपत्र बोर्ड ऐन तर्जुमा गर्ने तयारी भएको बताए । साथै धितोपत्रको कारोबारका लागि अलग्गै ऐनको मस्यौदा बनाएर अघि बढ्ने तयारी भएको उनले बताए ।

अहिले विभिन्न ऐनहरुमा आधारित भएर बोर्ड तथा बजार सञ्चालन भइरहेको अवस्थामा अलग्गै ऐन कार्यान्वयनमा आएपछि बजार थप विस्तारित हुने उनले विश्वास व्यक्त गरे । बजारलाई स्वच्छ, पारदर्शी, अनुसाशित बनाउन अहिलेको चुनौती रहेको बताएका ढुङ्गानाले बजारमा हुने अवाञ्छित कृयाकलापहरु नियन्त्रणका लागि पहलकदमी लिने बताए ।

बजारको बिस्तारका लागि नयाँ धितोपत्र दलाल व्यवसायीलाई बजार प्रवेश गराइने बताएका ढुङ्गानाले नेप्से र सिडिएससीको संरचना परिमार्जन गर्दै राफसाफ कोष सञ्चालनमा ल्याइने बताए । आगामी आर्थिक वर्षदेखि वस्तु विनिमय बजार सञ्चालन गरिने उनले जानकारी दिए ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।