१३३ कम्पनीको शेयर मूल्य घट्दा १७ कम्पनीमा १० प्रतिशतको गिरावट


बुधबार शेयर बजारमा तिब्र उतारचढाव देखिँदै गर्दा साढे १५ अर्ब रुपैंयाको शेयर किनबेच भएको छ ।

नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीको शेयर मूल्यका सम्बन्धमा सूची सार्वजनिक गरे पछि बिहानै केही समय तिब्र गतिमा ओरालो लागेको बजार केही समय सुधारोन्मुख देखिएको थियो ।

बजार बन्द हुनु पहिलेसम्म ७० अंकमा भन्दा बढीको गिरावट आएको बजार अन्तिममा गिरावट कम हुँदै ५२.३९ अंकमा अडिएको हो । योसँगै बजार परिसुचक नेप्से २९६९.७२ अंकमा अडिएको छ ।

बजार खुलेदेखि नै विभिन्न कम्पनीको शेयर मूल्यमा तिब्र उतारचढाव देखिएको बजारमा ४९ कम्पनीको शेयर मूल्य बढेको छ भने १३३ कम्पनीको शेयर मूल्य घटेको छ । यस क्रममा सोल्टी होटल सहित १७ वटा जलविद्युत र फाइनान्स कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा धेरै घटेको छ ।

यसरी शेयर मूल्य घट्ने कम्पनीहरुमा जोशी हाइड्रो, गोर्खाज फाइनान्स, नेशनल हाइड्रो, छ्याङ्दी हाइड्रो, आँखुखोला हाइड्रो, बेष्ट फाइनान्स, पञ्चकन्यामाई, घलेम्दी, दिव्यश्वरी हाइड्रो, मल्टीपर्पस फाइनान्स, नेपाल फाइनान्स, पोखरा, प्रोग्रेसिभ, समृद्धि फाइनान्स, पाचथर पावर, हिमालयन पावर र सोल्टी होटल रहेका छन् ।

आठ प्रतिशतसम्म शेयर मूल्य घट्नेको सूचीमा पनि जलविद्युत र फाइनान्स कम्पनीहरुको बाहुल्यता छ ।

बजार घट्दै गर्दा केही दिन अघि मात्र साधारण शेयर सूचीकरण भएको सिइडिबि हाइड्रोको शेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । फष्र्ट माइक्रोफाइनान्स, युनियन हाइड्रो, आरएसडिसी लघुवित्त, सामुदायिक लघुवित्त, कालिका लघुवित्तको शेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेको छ ।

बुधबार समुहगत आधारमा हेर्दा लघुवित्त सूचक मात्र बढेको छ भने बाँकी सबै सूचकहरुमा गिरावट आएको छ । निर्जीवन र जीवन बीमा कम्पनीमा सबैभन्दा धेरै गिरावट आएको बजारमा उत्पादन, होटल, विकास बैंक, जलविद्युत समुहमा धेरै गिराववट आएको छ ।

बुधबार २१९ कम्पनीका २ करोड ८२ लाख ८९ हजार १२८ कित्ता शेयरहरु १ लाख ६७ हजार ९३८ पटक किनबेच हुँदा १५ अर्ब ४८ करोड ४४ लाख ७९ हजार रुपैंयाको कारोबार भएको छ । सूचकमा गिरावट आउँदै गर्दा कारोबार रकम पनि संकुचित बन्दै गइरहेको छ ।

ठुला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स ८.५६ अंकले घटेर ५४१.७० अंकमा ओर्लिएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।