प्रि ओपनिङमा २ प्रतिशतको घटबढ र १० पैसाको अन्तर आदेश कार्यान्वयनमा समय लाग्ने


बजार सुधारका लागि नेपाल स्टक एक्सचेञ्जले धितोपत्र बारोबार सञ्चालन विनियमावली २०७५ का केही बुँदामा संशोधन गरी बजारलाई थप प्रभावकारी बनाउन आग्रह गर्दै धितोपत्र बोर्डलाई पठाएको प्रस्ताव स्वीकृत भएसँगै हालको बजारमा २ उपकरणहरुमा परिमार्जन हुने भएको छ ।

नेप्सेले विनियमावलीमा भएको विद्यमान व्यवस्थामा प्रि ओपनिङ्ग सेसनको मूल्य सीमा र नियमित बजारमा हुने कारोबारको न्यूनतम मूल्य परिवर्तन सीमा टिक साइजु परिमार्जन अपरिहार्य रहेको भन्दै धितोपत्र बोर्डलाई विनियमावली संशोधनको प्रस्ताव पठाएको थियो ।

नेप्सेले पठाएको विनियमावली संशोधनको प्रस्तावलाई धितोपत्र बोर्डले स्वीकृत गर्दै संशोधन गरेर कार्यान्वायनमा जान निर्देशन दिएको छ । योसँगै अब प्रि ओपनिङ् सेसनमा कुनै पनि कम्पनीको शेयर मूल्य ५ प्रतिशतसम्म घटबढ हुँदै आएकोमा बढीमा २ प्रतिशतले मात्र घटबढ हुने व्यवस्था कार्यान्वनमा आउनेछ । त्यसैगरी १ रुपैंयाको अन्तरमा मात्र शेयर कारोबारको मूल्य परिवर्तन गर्ने साविकको व्यवस्था हटेर अब १० पैसाको अन्तरमा शेयर कारोबारको आदेश राख्न मिल्ने व्यवस्था कार्यान्वयनमा आउने छ ।

नयाँ व्यवस्था तत्काल कार्यान्वयन नहुने

नेपाल स्टक एक्सचेञ्ज अहिले अध्यक्षविहीन अवस्थामा छ । विशेष गरी विनियमावली संशोधनको विषय भएकाले नेप्से सञ्चालक समितिको बैठकले निर्णय नगरेसम्म संसोधनका व्यवस्था लागू नहुने अभ्यास छ । यसका अलावा कतिपय परिवर्तनहरुलाई कार्यान्वायनमा ल्याउनु पहिले पनि नेप्सेले सञ्चलक समितिको बैठकले निर्णय गरी कार्यान्वयनमा जाने गरेको छ । बिहीबार धितोपत्र बोर्डले विनियमावली संसोधन गर्न नेप्सेलाई स्वीकृति दिएको हो । अब यो विषयलाई नेप्से सञ्चालक समितिले संशोधन गरी कार्यान्वयनमा ल्याउनु पर्ने हुन्छ ।

झण्डै १ महिना पहिले नै नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपानेको कार्यकाल सकिए पछि अहिले नेप्से अध्यक्षविहीन छ । न्यौपानेको कार्यकाल सकिए पछि हालसम्म नेप्सेको सञ्चालक समितिको बैठक बसेको छैन ।
अध्यक्षको अनुपस्थितीमा पनि कोरम पुर्याएर बैठक बसेको खण्डमा केही दिनमा नै नेप्सेले विनियमावली संशोधन गरी कार्यान्वयनमा ल्याउन सक्नेछ । यसका लागि कम्तीमा पनि एक साता लाग्ने नेप्सेले जनाएको छ ।

नेप्सेले आफ्नो भेण्डर कम्पनी वाइको प्रालिलाई टीएमएसमा प्रि ओपनिङ सेसनको मूल्य परिवर्तनको सीमा २ प्रतिशत बनाउन र १० पैसाको मूल्यअन्तरमा कारोबार राख्ने व्यवस्थाको तयारी पुरा गर्न भनिसकेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।