सामाजिक सुरक्षा कोष विरुद्ध एक पछि अर्को गर्दै बैंक वित्तीय संस्था आन्दोलनमा, एन आई सी एशिया पनि थपियो


योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा गरिएको व्यवस्था विभेदपुर्ण भएको भन्दै बैंक तथा वित्तीय संस्थाले एक पछि अर्को गर्दै बिरोधका कार्यक्रम अघि सारेका छन् । यस क्रमममा माछापुच्रे बैंकबाट सुरु भएको बिरोध कार्यक्रम शुक्रबार एनआईसी एशिया बैंकमा पुगेको छ । चरणबद्ध रुपमा एक पछि अर्को गर्दै वाणिज्य बैंकका कर्मचारी संगठनको आयोजनामा बिरोध कार्यक्रम तिब्र भएको हो । यस अघि नबिल बैंकले पनि कोषको बिरोधमा कार्यक्रम गरिसकेको छ ।

२९ बैंक वित्तीय संस्थाले केही दिन अघि मात्र विभेदका बूँदासँगै समग्र विषयमा संशेधन गरेर मात्र कार्यान्वयनमा जान कोषको ध्यानाकर्षण गराएका थिए । १५ बुँदे माग सहित संयुक्त विज्ञप्ति जारी गरेका बैंक वित्तीय संस्थाले कोषका बिरुद्ध अभियान नै सुरु गरेका हुन् ।

यस क्रममा एन आई सी एशिया बैंक कर्मचारी संघले पनि कोषको बिरोध गर्दै असार १८ गते शुक्रबार देशभरका प्रमुख कार्यालय तथा प्रादेशिक कार्यालयहरुमा विभिन्न मागहरु राख्दै विरोध प्रर्दशन गरेको छ ।

सामाजिक सुरक्षा कोष ऐन, नियमावली तथा कार्यविधिमा यस अघि नै बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका कर्मचारी युनियनहरुले संयुक्त रुपमा पेश गरेका सुझावहरुको सम्बोधन गर्न संघले जोडदार माग गरेको छ ।

सामाजिक सुरक्षा कोष योजनाका कतिपय बुँदा कर्मचारीको हित हुने गरी परिमार्जन गर्नु पर्ने आवश्यकता देखिएको र हालको विभेदकारी व्यवस्थाले विगतका उपलब्धिहरु समेत गुम्ने खतरा रहेको भन्दै संधले योजनामा कुनै पनि हालतमा सहभागि हुन नसक्ने जनाएको छ ।

“हालको व्यवस्था न्युनतम पारिश्रमिक हुने वर्गलाई केही राम्रो देखीए पनि लामो समयसम्म संघर्ष गर्दै विभिन्न सुविधा हासिल गर्न सफल बैंकिङ्ग क्षेत्रका कर्मचारीलाई भने आवस्यक नदेखिएकोे अवस्थामा पनि सरकारको योजनालाई मुर्त रुप दिन बैंकिङ्ग क्षेत्रका कर्मचारीवर्ग उक्त योजनामा आवद्ध हुन तयार रहेको तर हालको विभेदकारी बुँदाहरुलाई भने परिमार्जन गर्नुपर्ने हाम्रो माग छ”, संघका अध्यक्ष सुमन थापाले भनेका छन्, “सरकारले युगान्तकारी योजना ल्याएको र समग्र कर्मचारीवर्गको हितको लागी यो योजनाले काम गर्ने छ भन्ने हाम्रो अपेक्षा विपरीत उक्त योजनाले बैंकिङ्ग कर्मचारीलाई अन्यायपूर्ण व्यवस्था लागु गर्दै वाध्यकारी बनाउन खोजेको हुनाले सबै कर्मचारी एक्यबद्ध भई आन्दोलनमा उत्रिनु परेको सम्बन्धीत सबैलाई जानकारी गराउन चाहन्छौं र हाम्रा माग पुरा गरी न्यायोचित ढङ्गबाट उक्त सामाजिक सुरक्षा कार्यविधी परिमार्जन नगरेसम्म यो दबाब निरन्तर राख्नेछौं ।”

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।