चन्द्र ढकालले दिए धितोपत्र बोर्डको सञ्चालकबाट राजीनामा, अध्यक्ष ढुङ्गाना दवाबमा


नेपाल धितोपत्र बोर्ड सञ्चालक समितिका सदस्य चन्द्र प्रसाद ढकालले पदबाट राजीनामा दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षको हैसियतमा बोर्डको सञ्चालक भएका ढकालले सेबोन सञ्चालक समिति सदस्यमा नबस्ने व्यहोरा उद्योग वाणिज्य महासंघ नेतृत्वलाई अवगत गराएका हुन् ।

ढकालले महासंघ अध्यक्ष शेखर गोल्छालाई कार्यव्यस्तताको कारण देखाउँदै धितोपत्र बोर्डको सञ्चालकमा बस्न नसक्ने जानकारी गराएका हुन् ।

ढकालले आज २०७८ भदौ ८ गतेका दिनदेखि नै लागू हुने गरी सेबोन सञ्चालकबाट राजिनामा दिएको उद्योग वाणिज्य महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार ढकालले दिएको राजीनामा स्वीकृत भईसकेको छ भने रिक्त पदपूर्ति गर्ने सम्बन्धमा कुनै निर्णय भएको छैन । महासंघले धितोपत्र बोर्डलाई ढकाल सञ्चालक पदमा नरहने व्यहोरा जानकारी गराउँदै नयाँ प्रतिनिधि नियुक्त भएपछि जानकारी गराउने व्यहोराको पत्र पठाउने निर्णय पनि गरेको छ ।

धितोपत्र बोर्डको सञ्चालकको पदमा रहेर ढकालले सर्वोत्तम सिमेन्टको शेयरमा लगानी गरेपछि विवादित बनेका थिए । यस सम्बन्धमा अर्थ मन्त्रालयले छानबिन सुरु गरेपछि ढकालले सेबोन सञ्चालक समितिबाट राजीनामा दिएका हुन् ।

बोर्डका अध्यक्ष र सञ्चालक नै गम्भिर आर्थिक अपराधमा सामेल, सबैलाई कारबाही गर्न अध्ययन समितिको सुझाव

मंगलबार मात्र नेप्सेका प्रमुख कार्यकारी अधिकृतले आफ्नो पदबाट राजीनामा दिएका थिए । बुधबार ढकालले पनि राजीनामा दिएपछि बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना नैतिक दवाबमा परेका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।