कलाकार निशाको स्वास्थ्य अवस्थामा भएन सुधार, नर्भिक अस्पताल भन्छ ‘उपचारमा कसैको सहयोग लिएका छैनौं’


उद्धार गरेको झण्डै तीन महिना बित्न लाग्दा समेत मोडल तथा कलाकार निशा घिमिरेको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन नसकेको नर्भिक अस्पतालले जनाएको छ । अस्पतालले पत्रकार सम्मेलनमार्फत कलाकार घिमिरेको स्वास्थ्य अवस्थाको विषयमा अपडेट दिएको हो ।

अस्पतालका प्रमुख कार्र्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार निशालाई अझै पनि अक्सिजनकै सपोर्टमा सिसीयूमा राखेर उपचार जारी गरिएको छ । आफैं खाना खाने अवस्था अझै पनि छैन भने शरीरमा केही मासु लागे पनि घाउहरु लामो समयसम्म निको हुन सकेका छैनन् ।

“उद्धार गरेको केही दिनसम्म घिमिरेको स्वास्थ्यमा सुधारका लक्षणहरु देखापरेका थिए । उहाँको उपचारमा लगातार नेपाल र नर्भिकमा उपलब्ध सबैखालका प्रविधि, सीप तथा विधिको प्रयोग गरिसकिएको छ,” अस्पतालले भनेको छ, “तर पनि उहाँको स्वास्थ्य अवस्थामा खासै सुधार देखिएको छैन । तीन महिनापछि पनि कलाकार घिमिरेको स्वास्थ्य अवस्था स्थिर नै रहेको छ ।”

नर्भिकका प्रबन्ध संचालक मेघा चौधरीले घिमिरेको जेठ २७ गते केही समाजसेवीको सहयोग लिएर उद्धार गरेकी थिइन् । हालसम्म नर्भिकमा घिमिरेको उपचारमा लागेको सम्पूर्ण खर्च प्रबन्ध संचालक मेघा चौधरी र अस्पतालले प्रायोजन गर्दै आएको छ । अस्पतालका अनुसार हालसम्म निशाको उपचारमा ५० लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ ।

पत्रकार सम्मेलनका क्रममा नर्भिकले निशाको उपचारका क्रममा अरु कोही व्यक्ति वा संस्थाबाट कुनै पनि सहयोग नलिएको र लिन आवश्यक नरहेको प्रष्ट पारेको छ । “निशा घिमिरेको उपचारका नाममा कोही कसैले सहयोग रकम संकलन गरिरहेको भन्ने यदाकदा सुनिन्छ, तर यो विषयमा नर्भिक अस्पताल अनभिज्ञ छ” अस्पतालले प्रष्ट पारेको छ ।

दुर्घटनामा परेर तीन वर्षदेखि मृत्युशैयामा छटपटाइरहेकी कलाकार घिमिरेको उपचार जारी रहेको र उनको स्वास्थ्य अवस्थालाई आवश्यक पर्ने अन्य सबै विकल्पहरुको विषयमा समेत सोच्नुपर्ने अवस्था आएको अस्पतालले जनाएको छ । स्वास्थ्य अवस्था स्थिर नै रहने अवस्थामा घिमिरेलाई राम्रो रिहाब सेन्टरको आवश्यक्ता पर्ने अस्पतालले जनाएको छ ।

डा. पंकज जलान नेतृत्वको टिमले घिमिरेको उपचार गरिरहेको छ । डा. जलानले नर्भिकले सकेसम्म सबै विकल्पमा गएर उनको उपचार गरिरहेको समेत बताएका छन् । उनका अनुसार दुर्घटनाका कारण घिमिरेको ब्रेन इञ्जुरी भएको र त्यसको अवस्था निकै जटिल रहेकोले पूर्ण रुपमा नर्मल हुने संभावना देखिन्न । दुर्घटना पछि घिमिरेको ब्रेनमा निकै ड्यामेज भएको र लामो समय उपचारविहीन अवस्थामा राखिएकोले समेत अहिले सबै कोशिशका बाबजुद घिमिरेको अवस्थामा अपेक्षित सुधार हुन नसकेको उनको भनाई छ ।

तीन वर्षअघिसम्म मिडियाहरुमा छाउने गरेकी मोडल निशा घिमिरेको उद्धार गर्नु अघिको अवस्था निकै दर्दनाक थियो । मोडल निशा आर्थिक अभावका कारण उपचार नपाउँदा घरमै अर्धचेत अवस्थामा थन्किएकी थिएन् । उनलाई नर्भिककी प्रबन्ध संचालक चौधरीले उद्धार गरेकी थिइन् ।