धितोपत्र बोर्ड अध्यक्ष ढुङ्गाना सर्वोत्तमको शेयर विवादमा तानिएपछि बोर्डको काम कार्वाही शुन्य


नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानको व्यक्तिगत कारणले धितोपत्र बोर्डको नियमित कामहरु प्रभावित भएका छन् । सर्वोत्तमको शेयर विवादमा मुछिए पछि झण्डै एक महिनायता बोर्ड अध्यक्ष ढुङ्गानाले बोर्डको काममा ध्यान दिन नसक्दा बोर्डका सामान्य भन्दा सामान्य काम समेत प्रभावित भएका हुन् ।

पूँजी बजारको सर्वोच्च निकाय धितोपत्र बोर्डले गर्नुपर्ने निर्णय तथा कामहरु रोकिएपछि बजार सम्बद्ध व्यक्ति तथा संस्थाहरु पनि प्रभावित बनेका छन् । आफु विवादमा आए पछि पटक–पटक गरी लामो समय बोर्ड अध्यक्ष ढुङ्गाना विदामा बसेकाले पनि धेरै कामहरु प्रभावित भएको बोर्डका कर्मचारीहरुको भनाई छ ।

उता साधारण शेयर, हकप्रदका साथै बजारका विभिन्न प्रकृतिका कामहरु बोर्डमा पुगेर अड्किएको भन्दै सम्बद्ध संस्थाहरुले समस्या भएको बताउने गरेका छन् । “सूचीकृत कम्पनीसँग जोडिएका केही कामहरु साउन मसान्तमा नै सक्नु पर्नेगरी बोर्डमा पुर्याइए पनि अहिलेसम्म कुनै निर्णय नहुँदा अन्यौलमा परेका छौं,” शेयर रजिष्ट्रारको काम गर्दै आएको एक मर्चेण्ट बैंकरले नोटबजारसँग भने ।

उता साधारण शेयर निष्काशनका लागि आवेदन दिने, अन्तिम स्वीकृति पाउने लगायत काममा बोर्डका कारण भएको ढिलासुस्तीले निष्काशनकर्ता कम्पनीहरु अलमलमा परेको अर्को एक मर्चेण्ट बैंकका उच्च कर्मचारीले बताए । “बोर्ड अध्यक्षको व्यक्तिगत विषयले प्रमुख निकायको नियमित कामकार्वाही नै प्रभावित हुनु लज्जाको विषय हो,” उनले भने ।

उता नेपाल स्टक एक्सचेञ्जले गत वर्षदेखि बोर्डमा पठाएको तथ्यांकप्रयोग नीति तथा टीएमएस कार्यविधिको काम पनि बोर्डमा अलपत्र पर्दा नेप्सेले ठुलो रकमको आम्दानी गुमाउनु परिरहेको छ । उसले तथ्यांक खरिद गर्न चाहनेहरुलाई बिक्री गरेर नियमित आम्दानी गर्ने सोच बनाएर यस सम्बन्धमा सूचना नै सार्वजनिक गरिसकेको थियो । तर अन्तिम समयमा बोर्डका अध्यक्ष ढुङ्गानाले नेप्सेको उक्त काममा पनि हस्तक्षेप गरे पछि तथ्यांक प्रयोग नीति नै अलपत्र परेको नेप्सेको भनाई छ । उसका अनुसार टीएमएस सेवा अरु ब्रोकरहरुलाई सञ्चालन गर्न दिने सम्बन्धमा अघि बढेको काममा पनि बोर्ड अध्यक्ष ढुङ्गानाले हस्तक्षेप गरे पछि काम अलपत्र परेको हो ।

उता धितोपत्र बोर्डका कर्मचारीहरु पनि पछिल्लो समय बोर्ड अध्यक्ष ढुङ्गानाले गुटबन्दी सुरु गरी आन्तरिक सरुवा तथा बढुवा गर्न थालेको भएको भन्दै रुष्ट बनेका छन् । कर्मचारीको जिम्मेवारी हेरफेर, आन्तरिक बढुवा लगायतका काम एकलौटी रुपमा तत्काल कार्यान्वायन गराउने योजनामा ढुङ्गानाले जबरजस्ती पुरा नभएका कामको समेत कार्य सम्पादन मूल्याङ्कन संकलन गरेको बोर्डका कर्मचारीको गुनासो छ ।

“काम नै पुरा नभएका विषयको पनि हतारो गरेर मूल्याङ्कन खिचेर आफु निकट साथीहरुलाई अघि बढाउने अभियानमा अध्यक्षले सबैलाई दवाब दिनु भयो । यसले बोर्डमा अहिले कार्यसम्पादन हुने अवस्था छैन, ती कर्मचारीले भने, “अध्यक्षज्यूले सधैंजसो आफु राष्ट्रपति निकटको व्यक्ति भएको भन्दै आफ्नो स्वार्थका काम गर्न कर्मचारी साथीहरुलाई दवाब दिनु भयो, अहिलेको घटनाक्रम त्यसैको नतिजा हो भन्ने लागेको छ ।”

ती कर्मचारीका अनुसार बोर्ड अध्यक्ष ढुङ्गानाले अघिल्लो साता मात्र बोर्डका उच्च तहका ४ जना कर्मचारीको जिम्मेवारी हेरफेर गरिसकेका छन् । बजार सम्बन्धि जरुरी कामहरु गर्नुपर्नेमा त्यसो नगरी आफु निकट कर्मचारीलाई प्रोत्साहित गर्ने किसिमले आन्तरिक सरुवा तथा बढुवामा ढुङ्गानाले बढी समय खर्चिएको कर्मचारीहरुको आरोप छ ।

सर्वोत्तमको शेयर प्रकरणमा मुछिए पछि बिरलै कार्यालय पुग्ने गरेका ढुङ्गानालाई अनुसन्धानमा बाधा नपरोस भन्नका लागि सरकारले नै निलम्बन गर्दै उच्च अदालत पाटनका पुर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा ३ सदस्यीय समिति गठन गरिसकेको छ । मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरे पछि विगत ३ दिनदेखि शुक्रबारसम्मको विदा लिएर घर बसेका बोर्डका अध्यक्षढुङ्गाना बिहीबार कार्यालय आएका छन् ।

मन्त्री परिषदले गरेको निर्णयको व्यहोरा औपचारिक रुपमा धितोपत्र बोर्डमा पुगिनसकेकाले बोर्डका सबै कर्मचारीहरु अन्यौलको अवस्थामा छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।