बंगलादेश बैंकको मर्जर सर्शत: विदेशी संस्थापकले बिक्री गर्ने शेयरमा निर्भर


नेपाल बंगलादेश बैंकको मर्जरलाई विदेशी लगानीकर्ताले बिक्री गर्ने शेयरले निर्धारण गर्ने भएको छ । बंगलादेशी आईएफआईसी बैंकको ४१ प्रतिशत शेयर वित्तीय संस्थाले नै खरिद गरे मात्र बंगलादेश बैंक मर्जरमा जाने भएको हो ।

नेपाल बंगलादेश बैंकको उक्त शेयर खरिद गर्नका लागि धेरै संस्था तथा व्यक्तिले चासो देखाएको भए पनि कुनै निर्णयको चरणमा पुगिनसकेको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानाले बताए । “बंगलादेशी साझेदारहरुको ४१ प्रतिशत शेयर खरिद गर्न कुनै बैंक अघि सरेको खण्डमा बैंक मर्जरमा जान्छ,” उनले भने, “त्यो शेयर व्यक्तिले खरिद गरेको खण्डमा बैंक आफैं अघि बढ्छ ।”

बैंकहरुले संस्थागत रुपमा बंगलादेशी साझेदारको ४१ प्रतिशत शेयर खरिद गर्ने सम्बन्धमा कुनै संवाद नभएको बताएका ढुङ्गानाले केही बैंकका संस्थापकहरुले उक्त शेयर खरिद गर्न चाहेको बताए । यद्यपी को व्यक्तिले शेयर किन्ने भन्ने सम्बन्धमा कुनै पनि किसिमको निर्णय भईनसकेको उनको भनाई छ ।

बैंकले बंगलादेशी संस्थापकहरुको शेयर बिक्री गर्नका लागि केही समय अघि सूचना निकालेको थियो । उक्त शेयर खरिद गर्नका लागि एनबी समुहका लक्ष्मी बहादुर श्रेष्ठले आवेदन गरेका थिए । तर नेपाल राष्ट्र बैंकले श्रेष्ठलाई शेयर किन्न अयोग्य ठहर्याए पछि उक्त प्रकृया रोकिएको थियो ।

यस्तो अवस्थामा बंगलादेश बैंक मर्जरमा जाने सम्बन्धमा कुनै किसिमको घटनाक्रम विकास नभएको उनको भनाई छ । मर्जरको सम्बन्धमा कुनै संवाद नभएको अवस्थामा बंगलादेश बैंकले ५ वर्षे रणनीति अनुसार अघि बढ्ने योजना बनाएको उनको भनाई छ ।

विदेशी साझेदारको हिस्सा धेरै भएको अवस्थामा उनीहरुको चाहना अनुसार बैंक आक्रामक रुपमा उपस्थित नभएको ढुङ्गानाको भनाई छ । बैंकको ग्रोथलाई १५ प्रतिशतसम्मको औसतमा कायम गराउँदै आगामी दिनमा अघि बढ्ने योजना बैंकले बनाएको छ ।

यसै बिच बंगलादेश बैंकका नवनियुक्त अध्यक्ष एआरएम नाजमुस सकिब र सञ्चालकहरु एम. शाह आलम सरवर तथा क्यामरुन नहर अहमद सपथग्रहणका लागि आइतबार नेपाल आईपुगेका छन् । गत बिहीबार सम्पन्न बैंकको साधारण सभाले ३ जना बंगलादेशीसहित ६ जना सञ्चालक निर्वाचित गरेको थियो । सञ्चालक समितिको बैठकले बैंकका सञ्चालक सकिबलाई अध्यक्ष बनाउने निर्णय गरेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।