राष्ट्र बैंकद्धारा पुनरकर्जामा कडाई, विशेष पुनकर्जाको ब्याजदर नै ५ प्रतिशत


नेपाल राष्ट्र बैंकले पुनरकर्जा सुविधामा कडाई गरेको छ । कोरोना महामारीको असर कम हुदै गएसँगै नगद प्रवाह न्यूनीकरण गर्न केन्द्रीय बैंकले पुनरकर्जामा कसिलो नीति लिएको हो ।

कोरोना महामारी सुरु भएसँगै आर्थिक गतिविधिलाई खुम्चिन नदिनका लागि नेपाल राष्ट्र बैंकले पुनरकर्जा मार्फत बजारमा पैसा पठाएको थियो । नेपाल राष्ट्र बैंकले सहुलियत दरमा पुनरकर्जा दिएपछि कर्जाको माग पनि उच्च हुन थाल्यो । तर, कोरोनाका कारण अस्तव्यवस्त भएको आर्थिक गतिविधिलाई पुनरजीवन दिन केन्द्रीय बैंकले बजारमा पठाउने पैसा बढाएसँगै आयातमा अस्वभाविक वृद्धि हुन थाल्यो ।       उच्च आयात तथा रेमिट्यान्स आप्रवाहमा कमी आएसँगै विदेशी मुद्राको सञ्चितिमा उच्च गिरावट आएपछि अर्थतन्त्र नै समस्यामा जाने जोखिम बढेको भन्दै केन्द्रीय बैंकले बजारमा पठाउने पैसामा नियन्त्रण गर्न थालेको हो ।

राष्ट्र बैंकले बजारमा पठाउने पैसामा कमी गर्नका लागि ब्याजदर बढाएको हो । ब्याजदर बढाएपछि कर्जाको मागमा कमी आउने नेपाल राष्ट्र बैंकको विश्लेषण छ । ब्याजदर बढाएको खण्डमा कर्जाको मागमा कमी आउने मात्र नभई आयात निरुत्साहित हुने तथा उत्पादन मूलक क्षेत्रमा कर्जा बढ्ने भएकाले पनि राष्ट्र बैंकले ब्याजदर बढाएर बजारमा पठाउने पैसालाई कमी गर्न खोजेको देखिन्छ ।

केन्द्रीय बैंकले दिने पुनकर्जा दीर्घकालीन नहुने नेपाल राष्ट्र बैंकका एक अधिकारीले बताए । “कोरोनाका कारण यसलाई असाधारण मेजर्सको रुपमा ल्याइएको थियो,” उनले भने, “यो गैरपरम्परागत मौद्रिक नीतिको मेजर्सको रुपमा आयो । अब कोरोनाका कारण अति प्रभावित क्षेत्रहरु समेत सुधार उन्मूख देखिएपछि कमी गर्दै लग्न खोजिएको हो ।” राज्यको विशेष सुविधा अन्तर्गत आएको पुनरकर्जा सुविधा कोरोनाका कारण व्यापार व्यवसाय अति नै प्रभावितका लागि मात्र केन्द्रित गर्न खोजिएको उनले बताए ।

नेपाल राष्ट्र बैंकले मंगलबार पुनकर्जा कार्यविधिको चौथो संशोधन गर्दै विशेष पुनरकर्जाको समेत ब्याजदर बढाएको हो । यसभन्दा अघि एक प्रतिशतमा बैंक तथा वित्तीय संस्थालाई विषेश पुनरकर्जा दिएको केन्द्रीय बैंकले ३ प्रतिशत पुर्याएको छ । अब विशेष कर्जा लिने ऋणीले बैंकलाई ५ प्रतिशत ब्याज तिर्नुपर्छ । त्यसैगरी केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा मार्फत बैंकदरलाई ५ प्रतिशतबाट बढाएर ७ प्रतिशत पुर्याएको छ । बैंकदर बढाएपछि लघु, घरेलु तथा साना उद्यम र साधारण पुनरकर्जाको ब्याजदर भने ७ प्रतिशत तोकिएको छ ।

त्यसैगरी केन्द्रीय बैंकले पुनकर्जाका लागि तोकिएको योग्यताहरुमा पनि हेरफेर गरेको छ । राष्ट्र बैंकले पुनकर्जा कार्यविधि मार्फत पछिल्लो दुई आर्थिक वर्षको औसत रिटर्न अन इक्यूटी ३ प्रतिशत भन्दा बढी रहेका उद्योग व्यवसायका लागि पुनरकर्जा रोकेको हो । यसभन्दा अघि पछिल्लो आर्थिक वर्षको रिटर्न अन इक्यूटी २० प्रतिशत वा सो भन्दा बढी रहेको उद्योग व्यवसायहरुलाई पुनरकर्जा नदिने व्यवस्था गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।