भारतबाट ३८ रुपैंयामा बिजुली किन्दै विद्युत प्राधिकरण, भन्छ ‘लोडसेडिङ हुन दिँदैनौं’


नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जा अभावको अवस्था उत्पन्न भएको बताएका छन् । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी घिसिङले भारतबाट प्रतिमेगावाट ३८ रुपैंयासम्मको लागतमा विद्यत आयात गरेर उद्योगमा आपूर्ती गर्ने जानकारी दिएका हुन् ।

‘विद्युत क्षेत्रमा तत्कालीन रुपमा संकट उत्पन्न भएको छ, यद्यपी यो दीर्घकालिन नहुने भएकाले लोडसेडिङ नै गर्ने अवस्था आईसकेको छैन र आउन पनि दिँदैनौ’ पत्रकार सम्मेलनमा घिसिङले भने ।

कहिलेकाहीँ उत्पन्न हुने संकटका रुपमा पछिल्ला दिनमा विद्युत आपूर्ती कम भएको बताएका उनले ग्लोबल क्राइसिसका कारण नेपाल पनि आंशिक रुपमा त्यसबाट प्रचावित भएको बताएका थिए । उनले अन्य मुलुकको तुलनामा नेपाल उर्जाका क्षेत्रमा सबल अवस्थामा रहेको भन्दै आशावादी हुने अवस्था बाँकी नै रहेको बताएका हुन् ।

तत्कालका लागि भारतबाट महंगो मूल्यमा विद्युत आयात गरे पनि नेपालमा सोही अनुसार मूल्य वृद्धि नहुने प्रष्ट पार्दै घिसिङले भने, ‘हिजोका दिनमा हामीले सस्तोमा विद्युत आयात गरेका थियौं, त्यसैमा अहिलेको लागतलाई समायोजन गरेर महसुल बढाउँदैनौं ।’

केही समय उर्जा अभाव रहने बताउँदै वर्षत सुरु भएसँगै स्वदेशी विद्युतमा आत्मनिर्भर हुन सकिने बताएका उनले त्यस पछिका दिनमा थोरै मात्रामा भए पनि विद्युत निर्यात गर्न सकिने बताए ।

अहिले भारतबाट महंगोमा बिजुली किन्नुपर्दा प्राधिकरणलाई दैनिक २० करोड रुपैंयाको थप भार पर्ने बताएका उनले दीर्घकालसम्म समस्या रहीरहेको अवस्थामा भने विद्युतको मूल्य बढाउनै पर्ने बताएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।