‘भारत भ्रमणमा प्रधानमन्त्री देउवाले ठूला जलविद्युत आयोजनामा छलफल गर्नुपर्छ’ – ज्ञानेन्द्रलाल प्रधान


विश्वव्यापी रुपमा उर्जाको मूल्य आकासिँदै गईरहेका बेला नेपाल पनि महंगोमा भारतसँग उर्जा किन्न बाध्य छ । त्यसमा पनि भने अनुसार विद्युत आपूर्ति नहुँदा मुलुकभरका उद्योग कलकारखानाहरुमा विद्युत आपूर्ति नियमित हुन सकिरहेको छैन ।

यस्तो अवस्थामा प्रधानमन्त्री शेरबहादुर देउवाले ठूला जलविद्युत परियोजना निर्माणका सम्बन्धमा भारतसँग छलफल गर्नुपर्नेमा ज्ञानेन्द्रलाल प्रधानले जोड दिएका छन् । नेपाल उद्योग परिसंघको उर्जा विकास परिषदका सभापति प्रधानले झिना मसिना कुरामा भ्रमण गर्दा त्यसको औचित्य नहुने भन्दै पञ्चेश्वर, पश्चिम सेती जस्ता जलविद्युत परियोजनाको निर्माणका सम्बन्धमा छलफल गर्नु पर्ने बताएका हुन् ।

शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटका क्रममा देउवाले नयाँ दिल्लीको खानेपानीको समस्या समाधानमा नेपालको भूमिकाका साथै ठूला जलविद्युत आयोजनामा भारतको सहभागिताका सम्बन्धमा छलफल गर्नुपर्नेमा प्रधानले जोड दिए ।

प्रधानको भनाई भिडियोमा ।

जलस्रोतलाई केन्द्रविन्दु बनाएर काम गर्न सके देशको विकास सम्भव भएको बताउने प्रधानले पेट्रोकेमिकल्सको आयातलाई जलविद्युत उत्पादनबाट प्रतिस्थापन गर्नुपर्नेमा जोड दिए । उनले भने, “ग्याँसलाई प्रतिस्थापन गरौ न, अहिले नै जलविद्युतले ४० अर्बको ग्याँस आयात प्रतिस्थापन गर्न गर्न सक्छ । १५ अर्बको विद्युत आयात भएको होला, यस्तो गर्दा ५० अर्बको प्रतिस्थापन आफ्नै देशको विजुलीले गर्न सक्छ ।”

भारत र बंगलादेशमा जलविद्युतको बजार प्रशस्त भएको भन्दै प्रधानले त्यसको फाइदा नेपालले लिनुपर्नेमा जोड दिए । स्वदेशी जलविद्युतलाई प्रोत्साहन नगरी आयातित पेट्रोलियम पदार्थमा अर्बौको सहुलियतले उर्जा उत्पादनको एजेण्डालाई ओझेलमा पारेको उनको भनाई छ ।

खाना पकाउने ग्याँसमा ६१८ रुपैयाँ सहुलियत दिएर आयातलाई मलजल गरिरहेको अवस्थामा मुलुकमा जलविद्युत उत्पादनमा कुनै किसिमको सहुलियत नदिनुले समस्या भएको उनको भनाई छ । “भारतबाट आयात हुने ग्याँसमा सवसिडि दिने, त्यसको १० भागमा नेपाल आयल निगमले ट्याक्स तिर्ने अनि विजुली महङ्गो बनाउन विद्युत नियमन आयोग गएर १० रुपैयाँले भएन १२ रुपैयाँ कायम गरौं भनेर नेपाल विद्युत प्राधिकरणलाई भन्ने । यो त भएन नि, प्राधिकरणले नाफा कमाउन सक्छ भने अनिकालमा निगमलाई घाटाको भार किन बोकाउने ?” प्रधान भन्छन् ।

प्रधानको भनाई भिडियोमा ।

प्रत्येक घरमा बल्ने ग्याँस चुल्होलाई विद्युतीय चुल्होमा रुपान्तरण गरेर स्वदेशी जलविद्युतको बजारीकरण गर्नुपर्नेमा प्रधानको जोड छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।