व्याज आम्दानी बढ्दा पनि प्रभु बैंकको नाफामा गिरावट, सञ्चालन खर्च बढ्यो


प्रभु बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विबरणलाई गत आर्थिक वर्षको सोही अवधिको वित्तीय विबरणसँग तुलना गर्दा व्याज तथा अन्य आम्दानीका सूचक बढे पनि सञ्चालनसँग सम्बन्धित सूचकमा आएको ह«ासले समग्र नाफा प्रभावित भएको छ ।

बैंकले बुधबार सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विबरणका आधारमा चालु आर्थिक वर्षको तेस्रो त्रैमासको समाप्तिसम्ममा १ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा बैंकले २ अर्ब १० करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको खुद नाफामा झण्डै १७ प्रतिशतको गिरावट आएको हो ।

समीक्षा अवधिमा ९ अर्ब ६५ करोड रुपैंयाको व्याज आम्दानीलाई १२ अर्ब १२ करोड रुपैंया पुर्याएको बैंकको व्याज खर्च ५ अर्ब ८२ करोडबाट बढेर ७ अर्ब ८१ करोड रुपैंया पुगेको छ । यसका बावजुद पनि खुद व्याज आम्दानी ३ अर्ब ८३ करोडबाट ४ अर्ब ३२ करोड पुर्याउँदा झण्डै १३ प्रतिशतको वृद्धि देखिएको छ । तर सञ्चालन मुनाफामा आएको बढोत्तरीका कारण बैंकको खुद नाफा प्रभावित भएको छ । इम्पेरमेन्ट चार्ज शीर्षकमा संकलन हुनु पर्ने रकम संकलन हुन नसक्दा बैंकको सञ्चालन मुनाफामा असर परेको हो । यस्तो चार्ज रकम ७ करोड ९६ लाख रुपैंया मात्र फिर्ता भएको छ । गत आर्थिक वर्षमा यस्तो रकम ४६ करोड २० लाख थियो ।

अर्कातिर बैंकको सञ्चालन खर्चका सबै सूचकहरुमा आएको वृद्धिका कारण पनि खुद सञ्चालन आम्दानी प्रभावित भएको छ । व्यक्तिगत खर्च, अन्य सञ्चालन खर्च बढेका कारण ३ अर्ब ५ करोड रुपैंयाको सञ्चालन मुनाफा २ अर्ब २५ करोड रुपैंयामा झरेको छ । समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा १६ प्रतिशतभन्दा धेरैले घटेको हो ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १२ प्रतिशतले बढेको छ भने खुद नाफामा ह्रास आउँदा प्रतिशेयर आम्दानी १८ रुपैयाँ ३९ पैसा कायम भएको छ । प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ४१ पैसा रहेको बैंकको मूल्य आम्दानी अनुपात १५.१२ गुणाले धेरै छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।