तनहुँमा सवारी साधनको दर्ता गरिने, पोखरा जाने बाध्यता हट्दै


तनहुँको बन्दीपुर गाउँपालिकास्थित डुम्रेमा रहेको यातायात व्यवस्था कार्यालयले जिल्लाबाटै सवारी साधन दर्ता कार्य सुरु गर्ने भएको छ । पोखराबाट मात्र हुँदै आएको सवारी साधन दर्ताको काम अब तनहुँबाट पनि सुरु हुन लागेको हो ।

तनहुँबाटै सवारी साधन दर्ता हुने भएपछि सवारी साधन दर्ताका लागि पोखरा जानुपर्ने बाध्यताको अन्त्य हुने भएको छ । यो कार्यले तनहुँ मात्र नभई गोरखा, लमजुङका सर्वसाधारणलाई पनि सहज हुनेछ ।

कार्यालय प्रमुख विष्णु केसीले केही दिनभित्रै सवारी साधन दर्ताको काम सुरु हुने जानकारी दिए । “अहिले बिलबुक मात्रै नवीकरणको काम गर्दै आएको कार्यालयले अब केहीदिनमै सवारी साधनको दर्ता सुरु गर्ने तयारी गरेको छ”, केसीले भने, “अब यहीँबाटै सवारी चालक अनुमतिपत्र नवीकरण र नयाँ वितरणको कामसमेत सुरु हुन्छ ।”

कार्यालयले सम्भव भएसम्म असार पहिलो सातादेखि सवारी चालक अनुमतिपत्र वितरण र नवीकरणको कामसमेत सुरु गर्ने तयारी गरेको छ । सवारी चालक अनुमतिपत्र वितरणका लागि परीक्षा र ट्रायल दिने व्यवस्था मिलाउन कार्यालयले विमलनगरमा पूर्वाधार निर्माण थालेको छ ।

यातायात व्यवस्था कार्यालयले अनलाइनमा फारम खुलाएपछि विमलनगरमा ट्रायल दिने व्यवस्था मिलाइनेछ । सवारी चालक अनुमतिपत्र वितरण र नवीकरण पनि तनहुँबाट हुने भएपछि यस भेगकै सर्वसाधारणलाई राहत मिल्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।