हिमालयन एभरेष्ट इन्स्योरेन्सले साउन १ देखि एकीकृत कारोबार थाल्ने, अध्यक्ष, सीइओ र स्वापमा हिमालयनको वर्चस्व


हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले मर्जर प्रकृया पुरा गरी आगामी साउन १ देखि एकीकृत कारोबार थाल्ने भएका छन् । दुबै संस्थाको बिहीबार सम्पन्न विशेष साधारण सभाले मर्जरलाई अन्तिम रुप दिँदै एकीकृत कारोबारको मिति तय गरेको हो ।

कम्पनीहरुले साधारण सभाले एभरेष्ट इन्स्योरेन्सका सेयरधनीलाई हिमालयनको ८५ प्रतिशत सेयर दिने निर्णय पारित गरेका छन् । जस अनुसार १००ः८५ को स्वाप रेसियोमा मर्जर हुँदा एभरेष्ट इन्स्योरेन्सको १०० कित्ता सेयर हुनेले मर्जरपछि बन्ने कम्पनीको ८५ कित्ता सेयर पाउने छन् भने हिमालयनको १०० कित्ता सेयर हुनेले भने नयाँ कम्पनीको १०० कित्ता नै सेयर पाउने छन् ।

मर्जर पछि बन्ने कम्पनीको नाम हिमालयन एभरेष्ट इन्स्योरेन्स रहनेछ भने उक्त कम्पनीको मुख्यालय हालको हिमालयन जनरल इन्स्योरेन्सको मुख्यालय बबरमहलमा रहनेछ ।

मर्जरपश्चात् बन्ने कम्पनीको सञ्चालक समितिमा दुबै संस्थाबाट तीन तीन जनाको प्रतिनिधित्व हुनेछ भने अध्यक्ष हिमालयन जनरलले पाउनेछ ।

हिमालयन जनरल इन्स्योरेन्सका हालका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठले नै नयाँ कम्पनीमा अध्यक्षको जिम्मेवारी पाउने सम्भावनाका बीच नयाँ अनुहार अध्यक्षमा आउने सम्भावना पनि छ ।

हिमालयन एभरेष्टको सल्लाहकार समितिमा दुबै संस्थाबाट एक एक जनाको प्रतिनिधित्व हुनेछ भने प्रमुख कार्यकारी अधिकृतमा हिमालयन जनरलका हालका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले नेतृत्व लिनेछन् भने एभरेष्टका प्रमुख कार्यकारी कमल गौतम वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको भुमिकामा रहनेछन् ।

८५ प्रतिशत सेयर स्वापमा मर्ज भएपछि हिमालयन एभरेष्टको चुक्ता पूँजी २ अर्ब २१ करोड हाराहारी पुग्नेछ । बीमा समितिले तोकेको न्युनतम २ अर्ब ५० करोड पूँजी कायम गर्न कम्पनीले स्वापबाट बचेको प्रिमियमको सदुपयोग गर्नेछ । कम्पनीले प्रिमियमका साथै आम्दानीबाट ३० करोड रुपैयाँ बराबरको बोनस सेयर वितरण गरेर चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ कायम गर्नेछ ।

मर्जरपश्चात् हिमालयन जनरलका २२५ र एभरेष्टका २१९ जना कर्मचारीलाई व्यवस्थापन गरि कुल कर्मचारी संख्या ४४४ कायम गरिनेछ । यस दौरान कर्मचारीहरुको हालको सेवा, सुविधा, भत्ता र पदलाई सम्मानजनक अवस्थामा राखिनेछ ।

मर्जरपछि दुबै संस्थाको गरी कुल शाखा संख्या ७५ पुग्नेछ भने आवश्यक्ता अनुसार नयाँ स्थानमा व्यवसायको सम्भाव्यता हेरी थप शाखा विस्तार गर्ने तथा शाखा मर्ज र स्थानान्तरण गरि व्यवसाय विस्तारलाई प्राथमिकतामा राखिनेछ ।

२०७९ बैशाख २३ गते एक आपसमा मर्जमा जाने प्रारम्भिक सम्झौता गरेसँगै दुबै कम्पनीको सेयर कारोबार स्थगित गरिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।