११ बजेदेखि सबै आन्तरिक उडान सुचारु हुँदै


वायु सेवा प्रदायकहरुले बुधबार बिहान ११ बजेदेखि सबै उडान सुचारु गर्ने भएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणमा मंगलबार मध्यरातमा बसेको बैठक पछि वायु सेवा प्रदायकहरुले बिहान ११ बजेदेखि सबै उडान नियमित गर्ने भएका हुन् ।

वायुसेवा सञ्चालकहरुले मंगलबार पत्रकार सम्मेलन गर्दै नागरिक उड्डयन प्राधिकरणले जारी गरेको बेस व्यवस्थापन निर्देशन दमनकारी भएको भन्दै बुधबारदेखि सबै उडान बन्द गर्ने चेतावनी दिएका थिए ।

अत्यावश्यक सेवा अवरुद्ध गरेको खण्डमा सेवाप्रदायकका सञ्चालकलाई पक्राउ पुर्जी जारी गर्ने तयारी प्राधिकरणले गरेको थियो । सो लगत्तै सेवा प्रदायक र प्राधिकरणका बिचमा मंगलबार राती वार्ता भएको थियो ।

मंगलबार दिउँसो नै सेवा प्रदायकहरुसँग वार्ता हुने भनिएकोमा एकाएक वार्तामा नआई उडान स्थगन गर्ने निर्णय गरेका कारण सेवा प्रदायकहरुप्रति प्राधिकरण झनै कठोर भएको थियो । पक्राउ पुर्जी जारी गर्ने मात्र नभई उडान बन्द गर्ने सेवा प्रदायकको सञ्चालन अनुमति समेत खारेज गर्ने चेतावनी विभागले दिए पछि सेवा प्रदायकहरु आफ्नो निर्णयबाट पछि हटेका हुन् ।

सेवा प्रदायकहरुको आन्दोलनमा सहभागि नहुने भन्दै बुद्ध एयरले भने आफ्ना उडानलाई नियमित गरिरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।