विराटनगरका व्यवसायीले चर्काए आन्दोलन, एफएनसीसीआई विरुद्ध नाराबाजी


आगामी आर्थिक वर्षको बजेटका केही व्यवस्था संशोधनको माग गर्दै आएका विराटनगरका उद्योगी व्यवसायीले माग सम्बोधन नभएको भन्दै दोस्रो चरणको आन्दोलन सुरु गरेका छन् ।

अर्थमन्त्रालयले बजेटका त्रुटि सच्याउने भनेर दिएको आश्वासन पूरा नभएको भन्दै बिहीबारदेखि उनीहरूले विराटनगरमा ठूलो सङ्ख्यामा सहभागि भेला गरेर दोस्रो चरणको आन्दोलन सुरु गरेका हुन् ।

मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश १ मा आबद्ध उद्योगी व्यवसायीका साथै कर्मचारी युनियन, श्रमिकहरूले बजेटमा सीमित उद्योगीलाई फाइदा हुने गरि राखिएका प्रावधान संशोधनको माग गर्दै विराटनगरमा विशाल प्रदर्शन गरेका हुन् ।

मोरङको विराटनगरस्थित गोकुवा चोकमा आयोजना गरेको विरोध सभामा सहभागि हुन शहरका कुना कुनाबाट ठूलो सङ्ख्यामा सहभागीहरू नाराबाजी गर्दै आएका छन् । अर्थमन्त्री जनार्दन शर्माको राजिनामा माग्दै गोकुवा चोकसम्म पुगे पछि उनीहरूले अहिले कोण सभा सुरु गर्ने तयारी गरेका छन् । कोणसभाबाट औपचारिक रुपमा आन्दोलन सुरु गर्ने र माग पूरा नभएसम्मका निरन्तरता दिने उनीहरूको योजना छ । उनीहरूले नेपाल उद्योग वाणिज्य महासङ्घको भूमिका कमजोर भएको भन्दै महासंघ चाहिँदैन भन्दै चर्को नाराबाजी समेत गरेका छन् ।

 

आर्थिक विधेयक २०७९/०८० मा जीआई. वायर उद्योग, वनस्पति घ्यूतेल उद्योग, स्यानिटरी प्याड उद्योग, यार्न उद्योग आदि विभिन्न क्षेत्रका लागि गरिएका त्रुटिपूर्ण व्यवस्थाहरूका कारण मुलुकका कतिपय स्वदेशी उद्योगहरू धरापमा पर्न गई सञ्चालक र श्रमिक मजदुरहरू विस्थापित हुनुपर्ने बाध्यात्मक अवस्था सृजना भएको व्यवसायीहरूको भनाई छ ।

अर्थमन्त्री शर्माले ले गत जेठ २७ गतेका दिन अर्थ मन्त्रालयले आर्थिक विधेयकमा हुन पुगेका त्यस्ता त्रुटिहरूलाई प्रकृयागत रूपमा सच्याउने आश्वासन दिएपनि हालसम्म सरकारबाट सो विषयहरूमा कुनै कदम नचाहिएकाले प्रभावित उद्योगहरू सहित निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरू र ट्रेड युनियनहरू निराश हुन पुगेको र संयुक्त रूपमा दोश्रो चरणको आन्दोलनका कार्यक्रमहरू अघि बढाउन बाध्य भएको उनीहरूको भनाई छ ।

उनीहरूले बजेटले स्टिल उद्योग, वनस्पति घ्यूतेल उद्योग र स्यानिटरी प्याड उद्योगलाई सङ्कटमा पारेको भन्दै तत्काल बजेट संशोधनको माग राखेका छन । सीमित उद्योगी व्यवसायीको व्यवसाय फस्टाउन सहयोग पुग्ने किसिमका विषय बजेटमा समेटिएका कारण समग्र उद्योगी व्यवसायी मारमा पर्ने अवस्था उत्पन्न भएको उनीहरूको भनाई छ ।

बजेट संसोधनको माग गर्दै विराटनगरका उद्योगीले सडक आन्दोलन गर्ने, “सीमित उद्योगी पोस्न खोजियो”

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।