नेपाल टेलिकमका सेवाको महसुल साउन १ देखि घट्ने

0
Shares

नेपाल टेलिकमले उपलब्ध गराइरहेको विभिन्न सेवाहरुको महसुल २०७९ साउन १ गतेदेखि घट्ने भएको छ । दुरसञ्चार सेवा दस्तुर घटाएर सेवाको महसुल घटाउन लागिएको टेलिकमले जनाएको छ ।

सरकारले हाल लिदै आएको १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुरलाई २०७९ साउन १ देखि लागु हुने गरी १० प्रतिशत गर्दा हुने नयाँ महसुल दर कायम गरिएको टेलिकमद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । कम्पनीले उपलब्ध गराइरहेको प्याकेज बाहेकको साधारण महसुल दर अन्तर्गतका भ्वाइस र डाटा सेवा तथा पीएसटीएन, एडीएसएल र एफटीटीएच लगायतका सेवाको महसुलमा समेत लाग्दै आएको दस्तुरमा ३ प्रतिशत रकम स्वतः घट्ने टेलिकमले जनाएको छ ।

यसैगरी साउन १ देखि समर अफर अन्तर्गत विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराइएको टेलिकमले जनाएको छ । “पहिले उपलब्ध सबै अफरहरुलाई अब उही मूल्यमा थप डाटा तथा भ्वाइस मिनेट अफरका साथ उपलब्ध गराइएको छ । त्यसैगरी कतिपय अफरलाई परिमार्जन गरिएको छ भने केही नयाँ अफर समेत थप गरिएका छन्,” टेलिकमले भनेको छ ।

यस अनुसार केही अफरहरुमा उही मूल्यमा पहिले भन्दा ४ गुणासम्म बढीे डाटा भोल्युम थप भएका छन् । यस बाहेकका डाटा प्याकेज, भ्वाइस प्याकेज, एक दिने तथा एक मासिक प्याकेजहरुमा समेत सोही अनुसारको रिसोर्स थप गरी आकर्षक बनाइएको छ । सीयूजी १००० मा १० जीबी डाटा प्रदान गर्दै आएकोमा अब ४० जीबी प्रदान गरिएको छ । त्यस्तै सीयूजी १५०० मा २० जीबी डाटा प्रदान गर्दै आएकोमा अब ८० जीबी प्रदान गरिएको छ । यसैगरी पोस्टपेड, प्रिपेडलगायतका अन्य विभिन्न अफरहरुमा पनि थप रिसोर्स प्रदान गरिएको छ ।

समर अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।