साढे १८ किमि दूरीको बिराटनगर बथनाह कार्गो रेल्वे तत्काल सञ्चालन गर्न सकिन्छ : भारतीय रेल्वे


विराटनगर–वथनाह मालवाहक रेल्वे निर्माण अन्तिम चरणमा पुगेसँगै सञ्चालनका लागि तयार भएको छ । दुई मुलुकबीचको प्रशासनिक काम पूरा गर्नासाथ कार्गो रेल्वे सञ्चालन गर्न सकिने भारतीय रेल्वेले जनाएको हो ।

भारतको वथनाहदेखि मोरङको विराटनगरसम्म निर्माणको अन्तिम चरणमा पुगेको मालवाहक रेल्वे संचालन पूर्व तयारीका सम्वन्धमा उद्योग संगठन मोरङमा भएको वैठकमा भारतीय रेल्वे कटिहार डिभिजनका डिभिजनल मेनेजर एस.के. चौधरीले विराटनगर देखि कार्गो रेल्वे तत्काल सञ्चालनमा ल्याउन सकिने बताएका हुन् ।

छलफलमा उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले मिरगंज पुलमा आएको अवरोधले गर्दा मालवाहक सवारीका साधन रिरुट गरी ल्याउदा उद्योगीलाई थप आर्थिक व्ययभार परिरहेको अवस्थामा मालवाहक रेल्वे संचालनले राहत दिने बताए । यस क्षेत्रबाट भईरहेको नेपाल भारत वीचको व्यापार अभिवृद्धिमा यो परियोजना कोशेढुंगा सावित हुने वताउदै उनले स–साना वाधा व्यवधानलाई अविलम्व समाधान गरी मालवाहक रेल्वे संचालनमा ल्याउन भारत र नेपाल पक्षका अधिकारीलाई आग्रह गगरेका थिए । यसका लागि निजी क्षेत्रका तर्फबाट उद्योग संगठन मोरङ सहजीकरण गर्न तयार रहेको उनको भनाई थियो ।

भारतीय रेल्वे, डिभिजनल रेल्वे मेनेजर एस.के.चौधरीले १८ दशमलव ६ किलोमिटर लम्वाई भएको वथनाह विराटनगर रेल्वेको काम अन्तिम चरणमा पुगेको जानकारी दिए । उनका अनुसार नेपाल र भारत सरकार वीच प्राविधिक र प्रशासनिक प्रकृया पुरा भएको १० देखि १५ दिनमा कार्गो रेल संचालनमा ल्याउन सकिनेछ । उनले जोगवनीमा रेल्वे रिपेयरिङ सेन्टरको निर्माणका लागि भारतीय रेल्वे मन्त्रालय समक्ष आवश्यक बजेटका लागि अनुरोध गरेको जानकारी दिदै उक्त सेन्टरको निर्माण पश्चात अन्य स्थानका लागि नया प्यासेन्जर रेल थपिने जानकारी दिए ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोईरालाले दुई देशीय व्यापार विस्तारका लागि महत्वपूर्ण मानिएको कार्गो रेल संचालनमा ल्याउन महानगरपालिकाका तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दै नेपाल सरकारका तर्फबाट गर्नुपर्ने प्राविधिक र प्रशासनिक प्रकृयाका पुरा गर्न प्रधानमन्त्री समक्ष पहल गर्ने बताए ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले निर्माणको क्रममा देखिएका वाधाहरु समाधानमा मोरङ प्रशासनको तर्फबाट पूर्ण सहयोग रहने बताए ।

छलफलमा विराटनगर भन्सारका प्रमुख अधिकृत ताराप्रसाद सापकोटाले मिरगंज पुलका कारण आयात निर्यातमा समस्या आउदा राजश्व संकलन समेत प्रभावित भएको जनाउँदै कार्गो रेल संचालनमा ल्याउन भन्सारको सहयोग रहने वताए ।

नेपालको रेल विभागका ईन्जिनियर रोशन कुमार देवले दुवै देशका प्राविधिक टोलिले निर्माणधिन परियोजनाको प्राविधिक पक्ष परिक्षण गरी अन्य प्रशासनिक प्रकृया पुरा गरेर रेल संचालनको तयारी भईरहेको बताए ।

संगठनका वरिष्ठ उपाध्यक्ष प्रदिप मुरारकाले ईडिवल आयल उत्पादन गर्ने उद्योगहरुमा कच्चा पदार्थ स्टोर गर्न आफनै खर्चमा टेंक निर्माण गर्न तयार रहेको बताउदै त्यसका लागि सहजीकरण गरिदिन डिभिजनल रेल्वे मेनेजर समक्ष अनुरोध गरका थिए ।
संगठनका पूर्व अध्यक्ष किशोर प्रधान र अशोक मुरारकाले जोगवनी रेल्वे यार्डमा पानि जम्नुका साथै नेपालको मालसमान रातीको समयमा अनलोड गर्न समस्या भईरहेकोतर्फ ध्यानाकर्षण गराएका थिए ।
संगठनका पूर्व उपाध्यक्ष एव उद्योगी राकेश सुरानाले नेपालबाट भारतको विभिन्न स्थानमा उपचार गराउन, अध्ययन गर्न र धार्मिक प्रयोजनका लागि यस क्षेत्रबाट जाने यात्रुहरुको संख्या अत्यधिक रहेकाले थप गन्तव्य पहिचान गरी नया रेल थप्नुपर्नेमा जोड दिए ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।