सहकारी संस्थालाई सुरक्षा दिन गृह मन्त्रालयलाई सहकारी मन्त्रालयको आग्रह


भूमी व्यवस्था, सहकारी तथा गरबी निवाबरण मन्त्रालयले सहकारी संस्थाहरुमा सुरक्षा प्रबन्ध मिलाइदिन भन्दै गृह मन्त्रालयलाई आग्रह गरेको छ ।

बचत फिर्ता लिने तथा कर्जा असुलीका क्रममा सहकारी संस्थामा अप्रिय घटना हुन सक्ने भन्दै सहकारी मन्त्रालयले गृहलाई सुरक्षा माग गर्ने संस्थाहरुमा आवश्यक व्यवस्था मिलाइदिन भन्दै पत्राचार गरेको हो ।

पछिल्ला दिनमा केही सहकारी संस्थाहरुमा बचतकर्ताको अर्बौ रुपैयाँ फसेसँगै सहकारी संस्थाका बचतकर्ताहरु सहकारी धाउन थालेका छन् । अधिकांश सहकारी संस्थाहरुमा अहिले बचत फिर्ता लिन जानेहरु बढिरहेका छन् ।

आफ्नो बचत फिर्ता लिनका लागि सहकारी जाने सदस्य तथा बचतकर्ताको संख्या बढ्न थालेपछि सहकारी संस्थाहरुले सुरक्षा व्यवस्थाका लागि आग्रह गरेका थिए । यसका साथै सहकारीले कर्जा असुली गर्ने क्रममा पनि समस्या भएको भन्दै सहकारी विभागसँग सुरक्षा प्रबन्धका लागि आग्रह गरेका थिए ।

विभागले सहकारी मन्त्रालयलाई बचत फिर्ता तथा कर्जा असुलीका क्रममा केही सहकारी संस्थाका कर्मचारी तथा सञ्चालकहरु माथि दुव्र्यवहार तथा कुटपिट समेत भएको भन्दै सुरक्षा व्यवस्था मिलाइदिन भनेको थियो ।

विभागको पत्र अनुसार सहकारी मन्त्रालयले सहकारीले माग गरेको समयमा आवश्यक सुरक्षा व्यवस्था मिलाइदिन गृह मन्त्रालयलाई पत्राचार गरेको हो ।

सिभिल सहकारीमा बचतकर्ताको अर्बै रुपैयाँ फसेको घटना बाहिर आएदेखि अन्य केही सहकारी संस्थाहरुमा पनि बचतकर्ताको रकम फसेको खबर सार्वजनिक भईरहेका छन् । जसका कारण सहकारीका बचतकर्ताहरु आफ्नो निक्षेप फिर्ता लिनका लागि सहकारी जाने क्रम बढेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।