वैदेशिक रोजगारीमा गएकाहरु प्रकृयागत अलमलमा पर्दा आरक्षित आईपिओमा देखिएन उत्साह


विदेशमा रोजगारीमा रहेका नेपालीका लागि भनेर छुट्याइएको साधारण सेयर निष्काशन हुन थाले पनि सहभागिता ज्यादै न्यून देखिएको छ । धितोपत्र बोर्डबाट आश्वा सदस्यता लिएका बैंक वित्तीय संस्थाको कमजोर तयारीका कारण अपेक्षित सहभागिता नदेखिएको हो ।

वैदेशिक रोजगारीमा गएकाहरुलाई पहिलो पटक निष्काशन गरिएको कालिन्चोक केबलकारको सेयरमा न्युन संख्यामा आवेदन परेको छ । वैदेशिक रोजगारीमा गएकाहरुले विदेशमा बसेर बैंक खाता तथा डिम्याट खाता र मेरो सेयर सुविधा लिन सकिरहेका छैनन् । अनलाइनबाट प्रभावकारी रुपमा सेवा लिन नपाउँदा र उपलब्ध सेवाहरु पनि तोकिए अनुसार खुलाएर बुझाउने किसिमको नहुँदा खाता खोल्न नसकेको रोजगारीका लागि विदेश गएकाहरुको गुनासो छ ।

“सेयर भर्ने कुरा सुनेको हो, तर नेपालमा आफ्नो बैंक खाता छैन, यहाँबाट कसरी खोल्ने जानेका छैन” संयुक्त अरब इमिरेट्समा चौकीदारको रुपमा कार्यरत धादिङका एक जनाले भने । उनीजस्तै धेरै जना आरक्षित सेयरमा आवेदन दिन चाहन्छन् । केहीको नेपालमा बैंक खाता पनि छ । तर साधारण बचत खातालाई कसरी रेमिट्यान्स खाता बनाउने भन्ने अन्यौलता उनीहरुमा छ ।

साउदी अरबमा कार्यरत इलामका एक जनाले पहिलेदेखि आफुले पैसा पठाउँदै आएको बैंक खातालाई रेमिट्यान्स खातामा रुपान्तरण गर्न असहज भएको बताए । “खाता कसरी रुपान्तरण गर्ने भन्ने कुरा बैंकको साइटमा कतै केही देखिन्न अनि मन लागेर पनि सेयर भर्न सकेको छैन ।”

वैदेशिक रोजगारीका लागि कतार पुगेर सुपर मार्केटमा कार्यरत नुवाकोटका अर्का एक जनाले भने सर्वसाधारणमा निष्काशन हुने सेयरमा आवेदन दिँदै आएको बताए । “मेरो सेयरबाट यस अघिका निष्काशनमा आवेदन दिँदै आएको छु, तर अहिले निष्काशनमा आएको आरक्षित सेयरमा आवेदन दिन पाएको छैन,” उनले भने । उनलाई पनि अरुलाई जस्तै आफ्नो बैंक खातालाई रेमिट्यान्स खातामा रुपान्तरण गर्न असहज भएको हो । “मेरो खाता भएको बैंक मात्र होइन, सबै बैंकले वैदेशिक रोजगारीमा गएकाहरुलाई लक्षित गरी अनलाइनबाट सबै सुविधा दिए सजिलो हुन्थ्यो” उनले भने ।

वैदेशिक रोजगारीमा गएकाहरुलाई लक्षित गर्दै कालिन्चोक केबलकारले मंसिर १४ गतेदेखि १ लाख ८ हजार कित्ता सेयर निष्काशन गरिरहेको छ । निष्काशन सुरु भएको ५ दिनमा जम्मा ७६१ वटा मात्र आवेदन परेको केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) ले जनाएको छ ।

वैदेशिक रोजगारमा रहेका नेपालीका लागि कालिन्चोक केबलकारको आइपीओ खुल्यो, कसरी दिने आवेदन ?

यही तथ्यांकलाई सर्वसाधारणमा निष्काशन हुने सेयरमा पर्ने आवेदन संख्यासँग तुलना गर्ने हो भने ज्यादै कम हो । यस अघि नै विदेशबाट साधारण सेयर आवेदन गर्नेहरुको तुलनामा पनि यो संख्या ज्यादै कम हो । वैदेशिक रोजगारीमा गएका लाखौं जनशक्तिले चाहेर पनि सहजै सेयरमा आवेदन गर्न नसक्नुमा अहिले आश्वा सदस्य बैंक वित्तीय संस्थासँग उनीहरुले सहजै सम्पर्क स्थापित गर्न नसक्नु हो ।

केन्द्रीय निक्षेप प्रणाली सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेका अनुसार प्रकृयागत रुपमा कुनै समस्या छैन । तर पहिले सेयरमा आवेदन गरिरहेकाहरुको तुलनामा कहिल्यै नगरेकाहरुले सजिलै आवेदन गर्न सकिरहेका छैनन् । बैंक खाता तथा डिम्याट खाता खोल्न नेपालमा रहेका बैंकहरुसँग सम्पर्क गर्न उनीहरुलाई समस्या भएको उनको बुझाई छ ।

उता नेपाल धितोपत्र बोर्डले भने नयाँ व्यवस्था भएकाले तत्काल नतिजा नेदेखिएको बताएको छ । पहिलो निष्काशनमा कम आवेदन परेको अवस्थालाई हेरिरहेको भन्दै बोर्डले वैदेशिक रोजगारीमा गएका लक्षित वर्गसम्म बैंक वित्तीय संस्थाको सहज सम्पर्क स्थापित गराउन नीतिगत व्यवस्था गर्न सकिने बताएको छ ।

बोर्डका प्रवक्ता रुपेश केसीका अनुसार आश्वा सदस्य बैंक वित्तीय संस्थाहरुले नै क्रमिक रुपमा लक्षित वर्गसम्म पुग्ने अभ्यास गरिरहेका छन् । “त्यस्ता अभ्यास प्रभावकारी नभएको खण्डमा अवस्था हेरेर थप निर्देशन दिन सकिन्छ, तर अहिले नै निर्देशनको कुरा गर्दा अलि हतार हुन सक्छ,” बोर्ड प्रवक्ता केसीले भने ।

केही बैंकहरुले भने आफ्नो वेबसाइटमा नै आईपिओ भर्न सकिने वैदेशिक रोजगारी खाता अनलाइनबाट खोल्न सकिने व्यवस्था गरेका छन् । केही बैंकले भने इमेल तथा फोनमा आएको जिज्ञासाका आधारमा आवश्यक कागजपत्र माग गरेर खाता रुपान्तरण गरि नयाँ सिआरएन नम्बर दिने बताएका छन् ।

एनआईसी एशिया बैंकले वेबसाइटबाटै “सर्वश्रेष्ठ बचत खाता आईपिओ” खोल्न सकिने व्यवस्था गरेको छ । खाता खोल्ने आवेदन पाएपछि बैंकले भिडियो कलबाट केवाईसीको काम पुरा गर्ने बैंकले जनाएको छ । बैंकका अनुसार पहिले नै बैंक खाता भएकाहरुले फोन तथा सामाजिक सञ्जालका विभिन्न माध्यमबाट बैंकमा सम्पर्क गरि आवश्यक कागजात तथा भिडियो केवासी गराउन सक्छन् ।

उता प्रभु बैंकले पनि वेबसाइटमा अनलाइनबाट “फरेन उन्नती सेभिङ” शिर्षकको खाता खोल्न आग्रह गर्दै भिडियो केवाइसीका दौरान उक्त खातालाई रेमिट्यान्स खातामा रुपमान्तरण गरिने जनाएको छ । पहिले नै बैंक खाता भएकाहरुलाई इमेल तथा अन्य माध्यमबाट सम्पर्क गर्नका लागि बैंकले आग्रह गरेको छ ।

प्रभु क्यापिटलले सञ्चालनमा ल्यायो ‘रेमिट्यान्स डिम्याट खाता’, निःशुल्क स्कीम

ग्लोबल आईएमई बैंकले पनि वेबसाइटमा “ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता” खोल्न सकिने व्यवस्था गरेको छ । कुमारी बैंकको वेबसाइटबाट “कुमारी रेमिट प्रिमियम बचत खाता”, नबिल बैंकको “नबिल प्रिमियम रेमिट्यान्स सेभिङ”, हिमालयन बैंकको “हिमाल रेमिट सेभिङ”, सिटिजन्स बैंकको “सिटिजन्स इन्टरनेशनल रेमिट्यान्स सेभिङ” जस्ता खाताहरु खोल्न सकिन्छ ।

अन्य बैंकहरुले पनि अनलाइन सेवा अन्तरगत अनलाइनबाटै खाता खोल्न सकिने व्यवस्था गरेका छन् । उल्लेखित सहितका सबै बैंकबाट खाता खोलेपछि भिडियो केवाइसीका दौरान सेवाग्राहीले आफुले खोल्न चाहेको खाताका सम्बन्धमा बैंकलाई प्रष्ट पारेर माग गरिएका थप कागजातहरु, भिसा, श्रम स्वीकृति, पासपोर्ट लगायत उपलब्ध गराउनु पर्ने हुन्छ ।

पहिले नै खाता भएकाहरुले पनि बैंकको वेबसाइटमा उपलब्ध सम्पर्क नम्बर तथा इमेल ठेगानामा पासपोर्ट भिसा तथा श्रम स्वीकृतिको कागजात सहित सम्पर्क गरी आफ्नो खातालाई वैदेशिक रोजगारी तथा रेमिट्यान्स खातामा रुपान्तरण गर्न सक्छन् ।

यो प्रकृया पुरा गरेपछि बैंकले पहिले नै डिम्याट खाता तथा मेरो सेयर भएकाहरुको हकमा सिआरएन नम्बर परिवर्तन गरेर नयाँ सिआरएन दिनेछन् । नयाँ खाता खाल्नेको हकमा बैंक खाता खोल्दा एकै पटक डिम्याट खाता र मेरो सेयरका लागि आवेदन दिन सक्छन् भने अलग्गै अनलाइनबाट डिम्याट खाता तथा मेरो सेयर लिएर सोको जानकारी बैंकलाई गराउनु पर्ने हुन्छ ।

सेयर आवेदन गर्न पछिल्लो छ महिनामा आफ्नो बैंक खातामा विदेशबाट रेमिट्यान्स गरी ५० हजार रुपैयाँ जम्मा गरेको हुनुपर्नेछ ।

सेवा लिने प्रकृयामा समस्या परेको खण्डमा नेपाल धितोपत्र बोर्डको टोल वि नं. १६६० ०१ ४४४३३ वा गनुासो हटलाइवन नं. ९७७ १ ५५४४०७७ मा समते सम्पर्क गर्न सकिन्छ ।

नेपाल धितोपत्र बोर्डले जारी गरेको जिज्ञासा तथा जवाफ पढ्न यहाँ क्लिक गर्नुहोस्

त्रिशुली जलविद्युतको सेयरमा लगानी थप्न ३ महिनाको समय, नगरे जफत

वैदेशिक रोजगारीमा गएका कामदार पनि आज देखि सामाजिक सुरक्षा कोषमा आबद्ध हुन पाउने

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।