‘तत्कालीन र दीर्घकालीन आर्थिक कार्यक्रम ल्याउन जरुरी’


नेपाली कांग्रेसका सांसद डा प्रकाशशरण महतले मुलुकको गतिशील मार्गचित्र कोर्नका लागि तत्कालीन र दीर्घकालीन आर्थिक कार्यक्रम ल्याउन जरुरी रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले बढ्दो व्यापार घाटा न्यूनीकरण गर्न विद्युत् उत्पादन वृद्धि गरी यातायात र खाना पकाउने प्रविधिलाई विद्युत्मा रुपान्तरण गर्न आवश्यक रहेको बताएका हुन् ।

“२०४६ पछि हामीले पञ्चायतकालमा दुई प्रतिशतमा रहेको आर्थिक वृद्धि पहिलो चरणमा सात प्रतिशत पु¥यायौँ । अब दोस्रो चरणको आर्थिक वृद्धिको आवश्यकता छ । त्यसतर्फै सरकारले काम गर्नुपर्ने छ”, उनले भने, “व्यापार घाटा न्यूनीकरण गर्न विद्युत् उत्पादन वृद्धि गर्नुपर्ने छ । यातायात र खाना पकाउने प्रविधिलाई विद्युत्मा रुपान्तरण गर्न जरुरी छ ।”

बर्खायाममा विद्यत् उत्पादन बढेपनि हिउँदमा भारतबाट आयात गर्नुपर्ने अवस्था विद्यमान रहेको भन्दै ठूला जलाशययुक्त आयोजना निर्माण गर्न उनले सरकारको ध्यानाकर्षण गराए ।

“बर्खायाममा मात्र विद्युत् उत्पादन बढेर हुँदैन, हिउँदमा अहिले पनि विद्युत् अभाव छ”, सांसद महतले भने, “बर्खामा बेचेको बिजुलीबाट आएको खर्च हिउँदमा विद्युत् किनेर सकिएको छ ।”

हिउँदमा विद्युत्मा आत्मनिर्भर हुन जलाशययुक्त आयोजनाको तत्काल निर्माण गर्नुपर्नेमा जोड दिँदै उनले विद्युत्मा आत्मनिर्भर भएसँगै व्यापार घाटा कम हुने, विदेशी मुद्रा सञ्चिति बढ्ने बताए । विद्युत् उत्पादन वृद्धि गरी यसको खपत र निर्यात गरेर वैदेशिक रोजगारीमा आधारित अर्थतन्त्रालाई सुधार गर्न सकिने उनको भनाइ छ ।

नेकपा (एमाले)का सांसद लीलानाथ श्रेष्ठले राष्ट्रिय गौरवका आयोजनाको अवस्था अत्यन्त नाजुक रहेको भन्दै ती आयोजनाको काम तोकिएकै समयमा सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा तोसिमा कार्कीले स्वास्थ्य बीमा कार्यक्रम असफल हुने दिशामा अगाडि बढेको भन्दै बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गरिन् । उनले वैज्ञानिक ढङ्गले शुल्क तोक्नाका साथै दाबी भुक्तानीको व्यवस्था मिलाउन आग्रह गरिन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर जबराले निर्माणाधीन बुटबल–नारायणगढ सडक कहालीलाग्दो अवस्थामा रहेकाले तत्काल निर्माण सम्पन्न गर्न आग्रह गरे । बैंकको ब्याजदर बढ्दा उद्योगी व्यवसायी मारमा परेको जनाउँदै उनले वित्तीय क्षेत्रमा सुधारको योजना ल्याउन सरकारको ध्यानाकर्षण गराएका थिए । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।