ललितपुर उद्योग वाणिज्य संघमा आफ्नो प्यानलले नै जित्ने बज्राचार्यको दाबी


ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षका आकांक्षी विश्वराज बज्राचार्यले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् । संघको वरिष्ठ उपाध्यक्ष समेत रहेका बज्राचार्यले संघको आउँदो निर्वाचनमा अध्यक्षमा आफु सहित सिंगो प्यानलको जित निश्चित रहेको दाबी गरेका हुन् ।

बज्राचार्यले असोज १९ गते ललितपुरमा हुने साधारणसभामार्फत चयन हुने नयाँ नेतृत्वमा अध्यक्षका रुपमा उम्मेद्वारी दिएका छन् । संघको अध्यक्षमा निर्वाचित बनेपछि ललितपुरका सम्पूर्ण साना ठूला व्यवसायीको छाता संगठनका रुपमा ललितपुर उद्योग वाणिज्य संघलाई अघि बढाउने बजाचार्यको भनाई छ ।

“देशको राजधानी उपत्यकाको उद्योग वाणिज्य संघलाई थप सुदृढ र बलियो बनाउने गरी काम गर्छु,” बज्राचार्यले भन । जिल्लाभित्र रहेका ३० वटा वस्तुगत संघलाई छुट्टै पहिचान दिलाउने योजना रहेको बताउँदै उनले हस्तकला, गार्मेन्ट जस्ता महत्वपूर्ण उद्योगलाई थप व्यवस्थित बनाउने योजना रहेको सुनाए ।

बज्राचार्यले जिल्लामा रहेको नेवारी समुदायको मौलिकतालाई ब्राण्डका रुपमा अघि बढाउन नेपाल उद्योग वाणिज्य महासंघ, केन्द्र, प्रदेश र स्थानीय सरकारसँग समन्वय अघि बढाउने समेत बताए । यही असोज १९ गते हुने संघको साधारण सभामार्फत २२ सदस्यीय कार्यसमिति चयन हुँदैछ । संघको अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी घोषणा गरेका छन् ।

“जिल्लामा रहेका सबै उद्योगी व्यवसायीलाई समेटेर प्यानलसहित चुनावमा होमिएका र्छौं,” बज्राचार्यले भने, “जितेपछि सबै उद्योगी व्यवसायीलाई समेटेर ललितपुरको बलियो र मजबुत व्यवसायीक छाता संगठनका रुपमा ललितपुर उद्योग वाणिज्य संघलाई अघि बढाउँछु ।”

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।