बीमा कम्पनीलाई घरजग्गामा लगानी गर्न सक्ने,शेयरमा लगानी सीमा बढाइयो

0
Shares

 

बीमा कम्पनीले सूचिकृत कम्पनीको साधारण शेयर र घरजग्गामा लगानी गर्न पाउने गरि बीमकको लगानी निर्देशिका संशोधन भएको छ । बीमा समितिले संशोधन गरी बुधबार जारी गरेको लगानी निर्देशिका २०७५ अन्र्तगत आफ्नो कुल टेक्निकल रिजर्भको ५ प्रतिशत घरजग्गा व्यवसायमा लगानी गर्न सकिने व्यवस्था गरेको हो ।

बीमा कम्पनीहरुले धितोपत्र बोर्डबाट इजाजत प्राप्त विनिमय बजारमा सूचिकृत पब्लिक लिमिटेड कम्पनीहरुको साधारण शेयरमा १० प्रतिशत सम्म लगानी गर्न सक्नेछ । शेयर लगानी गरिने कम्पनीको चुक्ता पूँजीको ५ प्रतिशत भन्दा बढीहुने गरि भने लगानी गर्न नपाईने लगानी निर्देशिकामा उल्लेख छ ।

यस्तै नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गको बैंक तथा वित्तीय संस्थाको अग्रधिकार शेयर र ऋणपत्रमा २० प्रतिशत सम्म वा लगानी गरिने कम्पनीको चुक्ता पूँजीको १० प्रतिशत मात्रै लगानी गर्न सकिने व्यवस्था छ ।

धितोपत्र बोर्डबाट स्वीकृत कम्पनीको ऋणपत्रमा र कृषि पर्यटन र जलस्रोत लगायतका पूर्वधारमा पब्लिक लिमिटेड कम्पनी संलचान गरिएको संस्थामा २०/२० प्रतिशतसम्म ऋण वा पूँजी लगानी गर्न सकिन्छ ।

नागरिक लगानी कोष तथा म्युचुअल फण्डका लगानी योजनाहरुमा ५ प्रतिशत, राष्ट्र बैंकवाट अनुमति प्राप्त क र ख वर्गका बैंक तथा वित्तीय संस्थाहरुको मुद्धति निक्षेपमा २० प्रतिशत सम्म लगानी गर्न सकिने निर्देशिकाले व्यवस्था गरेको छ ।

यस्तै राष्ट्र बैंकवाट अनुमति प्राप्त ग वर्गका वित्तीय संस्थाहरुको मुद्धति निक्षेपमा १० प्रतिशत सम्म लगानी गर्न सकिनेछ तर निर्देशिकामा उल्लेख भएका शर्तहरु भने अनिवर्या पालना गर्नु पर्दछ ।

बीमा समितिले जीवन बीमा, निर्जीवन बीमा र पुनर्बीमा कम्पनीका लागि एउटै लगानी निर्देशिका जारी गरेको हो । अलग अलग समुहको लागि समितिले टेक्निकल रिजर्भको गणना मापदण्ड समेत अलग अलग निर्धारण गरिएको छ ।