पहिलो मर्जरबाट बाहिरिएको किसान माइक्रोफाइनान्सले फेरि मर्जरमा जान गर्यो सम्झौता


एक पटक मर्जर सम्झौता गरी प्रकृयाबाट बाहिरिएको किसान माइक्रोफाइनान्स फेरि अरु लघुवित्तसँग मर्जरमा जाने भएको छ ।

कैलालीको किसान माइक्रोफाइनान्स, धनगढीको एनआरएन लघुवित्त र काभ्रेपलाञ्चोक भकुण्डेबेशींको दिब्य लघुवित्त एक आपसमा मर्जरमा जाने सम्बन्धमा सम्झौता गरेका छन्।

माघ १ गते बुधबार भएको मर्जर सम्झौतामा किसान माइक्रोफाइनान्स तर्फबाट सञ्चालक समितिका अध्यक्ष नेत्रप्रसाद जोशी, एनआरएन लघुवित्तका तर्फबाट मर्जर समिति संयोजक शम्भु घिमिरे र दिव्य लघुवित्तका तर्फबाट मर्जर समिति संयोजक महेश बस्नेतले हस्ताक्षर गरेका छन् ।

मर्जर सम्झौतामा हस्ताक्षर गरे लगत्तै सम्झौताको विबरण राष्ट्र बैंकमा बुधबार नै दर्ता गरिएको एक लघुवित्तका उच्च अधिकारीले नोटबजारलाई जानकारी दिए ।

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत नभएका एनआरएन लघुवित्तको चुक्ता पूँजी ३१ करोड रुपैंया तथा दिव्य लघुवित्तको चुक्ता पूँजी ७ करोड रुपैंया छ । दिव्य लघुवित्तमा सेञ्चुरी बैंक र प्राइम बैंक (साविकको कैलाश विकास बैंकको) लगानी छ । मर्जर पछि बन्ने नयाँ लघुवित्त कम्पनीको चुक्ता पूँजी ५० करोड हाराहारी हुने बताइएको छ।

शेयर आदान प्रदान अनुपात डिडिएका आधारमा तय गरिने सम्झौतापत्रमा उल्लेख छ। त्यसै गरी मर्जर पछि बन्ने संस्थाको नाम पनि अहिले निर्धारण भैनसकेको र मर्जर प्रकृयाका दौरान नामाकरण गरिने सम्झौतामा उल्लेख छ।

सम्झौता अनुसार मर्जर लगत्तै नयाँ संस्थाको नामबाट हकप्रद शेयर निष्काशन गरिनेछ। कति हकप्रद निष्काशन गर्ने भन्ने विषय खुलाइएको छैन।

दुई लघुवित्त नेप्सेमा सूचीकृत नभएका कारण संस्थापक र साधारण शेयरधनीको हिस्सा ७० अनुपात ३० कायम गर्न हकप्रद निष्काशन पश्चात थप नयाँ शेयर (एफपीओ) निष्काशन गर्ने सम्झौतामा उल्लेख छ।

यस अघि किसान माइक्रोफाइनान्स, नागबेली लघुवित्त र मिर्मिरे लघुवित्तले एक आपसमा मर्जरमा जाने सम्झौता गरेका थिए। शेयर स्वापमा सहमति जुट्न नसकेपछि तीन लघुवित्तको मर्जर सम्झौता तोडिएको थियो।