लक्ष्मी लघुवित्तले ४६ % ले खुद नाफा बढाएर प्रतिशेयर आम्दानी ५० पुर्यायो


लक्ष्मी लघुवित्तले आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासमा ७ करोड ८ लाख ९८ हजार रुपैंया खुद नाफा कमाएको छ । आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासमा लघुवित्तले ४ करोड ८५ लाख १७ हजार रुपैंया खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा लघुवित्तको खुद नाफा ४६.१३ प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०७४/७५ को दोस्रो त्रैमासमा लघुवित्तले ४ करोड ४५ लाख ६४ हजार रुपैंया खुद नाफा कमाएको थियो ।

लघुवित्तको खुद ब्याज आम्दानीमा आएको फराकिलो सुधारले खुद नाफामा प्रत्यक्ष असर देखाएको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्तले १८ करोड २२ लाख २९ हजार रुपैंया खुद ब्याज आम्दानी गरेको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले १३ करोड ६६ लाख रुपैंया खुद व्याज आम्दानी गरेको थियो । त्यसै गरी आर्थिक वर्ष २०७४/७५ को दोस्रो त्रैमासमा लघुवित्तले ११ करोड ७४ लाख रुपैंया खुद व्याज आम्दानी गरेको थियो ।

दोस्रो त्रैमासमो अवधिमा लघुवित्तले १ अर्ब ५३ करोड ३३ लाख रुपैंया निक्षेप संकलनका साथै बैंक तथा वित्तीय संस्थाबाट २ अर्ब ३९ करोड ८ लाख रुपैंया कर्जा तथा सापटी लिएर ४ अर्ब ३२ करोड ९१ लाख रुपैंया कर्जा परिचालन गरेको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले १ अर्ब ९ करोड ८७ लाख निक्षेप संकलनका साथै बैंक तथा वित्तीय संस्थाबाट एक अर्ब ७३ करोड ५७ लाख सापटी लिएर ३ अर्ब १२ करोड ८० लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २४ करोड २० लाख रुपैंयाबाट बढेर २७ करोड ८३ लाख रुपैंया पुगेको छ । त्यसै गरी लघुवित्तको जगेडा कोषको आकार पनि समीक्षा अवधिमा १८ करोड ४३ लाख ३ हजार रुपैंयाबाट बढेर २४ करोड ७५ लाख ३६ हजार रुपैंया पुगेको छ ।

लघुवित्तको निष्क्रिय कर्जा अनुपात १.५५ प्रतिशत छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा लघुवित्तको यस्तो कर्जा अनुपात १.२१ प्रतिशत तथा अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा १.१३ प्रतिशत थियो । व्यवसाय तथा आम्दानीको आकार बढाउँदै जाँदा जर्षेनी लघुवित्तको निष्कृय कर्जा अनुपात बढ्दै गएको देखिएको हो ।

पछिल्ला तीन आर्थिक वर्षहरुमा पूँजीसँगै कमाईको आकारलाई तिब्र गतिमा बढाएको लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा प्रतिशेयर आम्दानी ५० रुपैंया ९५ पैसा कायम गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा ३६ रुपैयाँ ८३ पैसा रहेको प्रतिशेयर आम्दानीलाई लघुवित्तले गत आर्थिक वर्षको यसै अवधिमा ४० रुपैयाँ १० पैसा पुर्याएको थियो ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर नेटवर्थ पनि १७६ रुपैयाँ १६ पैसाबाट बढेर १८८ रुपैंया ९५ पैसा कायम भएको छ भने र मूल्य आम्दानी अनुपात पनि २०.४० गुणाबाट घटेर १७.३३ गूणा बढी मात्र कायम भएको छ ।