जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र किसान लघुवित्त वित्तीय संस्था लिमिटेड लघुवित्त एक आपसमा मर्ज भई एकीकृत कारोबार सुरु भएको छ । दुई लघुवित्त एक आपसमा मर्ज भए पछि गत बिहीबारबाट एकीकृत कारोबार सुरु भएको हो ।
नेपाल राष्ट्र बैंकले दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न गत जेठ २९ गते अन्तिम स्वीकृति दिएको थियो । दुवै संस्था मर्ज भएपछि ‘मातृभूमि लघुवित्त वित्तीय संस्था’को नामबाट कारोबार सुरु गरिएको संस्थाले जनाएको छ । यी दुई कम्पनीले गत चैत १८ गते मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
मर्जर पश्चात् मातृभूमि लघुवित्तको चुक्ता पुँजी ७४ करोड ३३ लाख रुपैयाँ पुगेको छ । नेपालभरि २३६ ओटा शाखा रहेका उक्त लघु वित्तको सदस्य संख्या २ लाख १६ हजार, ऋणी संख्या ८२ हजार, लगानीमा रहेको कर्जा ११ अर्ब ८२ करोड तथा बचत परिचालन ४ अर्ब पुग्ने छ।
‘आगामी दिनहरुमा संस्थाले सेवाग्राहीको सेवालाई थप ग्राहकमैत्री बनाउँदै दूरदराजमा रहेका ग्रामीण वस्तीहरुमा आफ्नो उपस्थिति जनाउने छ। मातृभूमि लघुवित्तलाई नेपालको एक सबल, सक्षम र अग्रणी वित्तीय संस्थाको रुपमा स्थापित गर्ने हामी प्रतिबद्ध छौं’ संस्थाका अध्यक्ष लोकराज शर्माले भने। शाखा मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय कैलालीको लम्कीचुहा ४ मा रहने छ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया