काठमाण्डौं महानगरको श्रम बैंकबाट ९११ जनाले रोजगारी पाए : बालेन


काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र)ले श्रम बैंकमार्फत् ९११ जनाले रोजगारी पाएको बताएका छन् । बालेनले सामाजिक सञ्जाल मार्फत ३२९ जनालाई निजी र ५८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान गरेको जानकारी दिएका हुन् ।

मेयर बालेनले श्रम बैंकमार्फत दक्ष ४५५, अर्धदक्ष ३८ जना र अदक्ष ४१८ गरी जम्मा ९११ जनाले रोजगारी पाएको बताएका हुन् । जसमध्ये ३२९ जनालाई विभिन्न निजी कम्पनीहरूमा र ५८३ जना महानगरका विभिन्न विभागहरूमा महानगरमार्फत रोजगारी उपलब्ध गराइएको उनको भनाइ छ ।

यस्तै मेयर बालेनले काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको सीप मेलामार्फत् दुई हजार ५५५ जना, महानगरको तालिम केन्द्रहरूमार्फत एक हजार ४६७ जना र अनलाइनमार्फत दुई हजार गरि जम्मा ६ हजार २२ जनाले तालिम सम्पन्न गरेको बताएका छन्।

महानगरको सहजीकरण तथा आफ्नै प्रयासमा थप करिब ८०० जना युवा युवतीहरु रोजगार÷स्वरोजगार भएको पनि उनको भनाइ छ । उनले काठमाण्डौं महानगरले रोजगारी प्रवर्द्धनका लागि तीन वर्षको कार्ययोजना बनाइ कम्तिमा १५ हजार जनालाई तालिम तथा पाँच हजार जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले गौरव योजना ‘रोजगारी र आयवृद्धि काठमाडौंको समृद्धि’ तथा ‘श्रम बैंक’ स्वर्णिम योजना अगाडि बढाएको बताएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।