विश्वका अधिकांस मुलुकमा विपदका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को जोखिमको त्रासले अहिले विश्व अर्थतन्त्र धरमराई रहेको छ ।
नेपालमा पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै चरणबद्ध रुपमा विभिन्न क्षेत्रलाई तत्काल चलायमान नबनाउने अभियान सरकारसँगै सम्बद्ध पक्षहरुले गरिरहेका छन् । आखिर यो सब किन त ? यसको एउटा मात्र जवाफ हो नेपाल र नेपाली कोरोनाको शिकार बन्नु नपरोस, कही कतै कोरोनाका कारण नेपालीको निधन भएको खबर सुन्न नपरोस ।
नेपाल, विकासोन्मुख मुलुक, हामी कुनै किसिमका ठूला प्राकृतिक विपत्तीलाई अन्य मुलुकले जसरी सहज रुपमा व्यवस्थापन गर्न सक्ने अवस्थामा छैनौं । छौं त केबल आफ्नै बलबुँतामा समस्या न्युनिकरणमा जुट्न सक्ने अवस्थामा छौं । यो सन्दर्भमा अनिकालमा बीउ जोगाउनु, हुलमुलमा जीउ जोगाउनु भन्ने उखानलाई हामीले शिरोधार्य गर्नै पर्छ ।
नागरिक बाँचे भने बजार र व्यवसाय कुनै पनि बखत सञ्चालनमा आउन सक्छ । तर नागरिक नै नरहेको अवस्थामा न त बजारको परिकल्पना गर्न सकिन्छ, न त व्यापार अनि व्यवसायको ।
तर पछिल्ला केही दिन यता देखिएका व्यवसायीक घरना, निजी क्षेत्र, बैंक वित्तीय संस्थाका साथै विभिन्न क्षेत्रका व्यगरलती मागका श्रृङ्खलाले हामी विपदको समयमा पनि आफ्नो व्यापारलाई निरन्तरता दिन राज्यसँग सहुलियत माग गर्नै पर्ने मनस्थितीमा रुमल्लिएका छौं भन्ने भान भएको छ ।
सबै एकजुट भएर सम्भावित जोखिम न्यनिकरणमा जुट्नु पर्ने बेलामा आफ्नो व्यवसायको चिन्ता प्रकट गर्दै सरकारसँग विभिन्न किसिमका सहुलियतको माग हाम्रा व्यवसायिक घराना, प्रतिष्ठान, नीजि क्षेत्र लगायतले गरिरहेका छन् ।
यस्ता व्यवसायिक घराना, प्रतिष्ठान र क्षेत्रले विपदको समयमा मौका पारेर नाफाको व्यापार गर्न खोजिरहेको भान आम नेपालीले गरिरहेका छन् । आफ्नो ज्यान ठिक अवस्थामा रहला कि नरहला भन्ने त्रास अरुलाई पनि परिरहेको छ भन्ने तितो यथार्थलाई भुलेर नाफाको चिन्तामा लागेको भान भैरहेका बेला सहुलियतको पछि लाग्दा गलत किसिमको सन्देश प्रवाह भैरहेको छ । के नेपालका व्यवसायिक घरानाले विपदको समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्नु पर्दैन ?
होटल व्यवसायीको एक किसिमको माग, बैंक वित्तीय संस्थाको अर्कै किसिमको माग, वायु सेवा प्रदायकको अर्कै किसिमको माग, इन्धन व्यवसायीको अर्कै माग, यही मौकामा कालो बजारीको तिब्र बढोत्तरी, कसैलाई व्याजको चिन्ता, कसैलाई करको चिन्ता । विषय जे होस् सबैले अहिले राज्यलाई गुहारी रहेका छन् । तर सम्भावित जोखिमको विषयमा कसैले एक शब्द पनि खर्चिन नखोज्नु दुखद विषय हो ।
माग माथि मागको चाङ थप्दै गर्दा एक जना नेपाली मात्र कोरोनाको शिकार भए भने अहिलेको बजार अनि व्यवसाय चौपट हुन सक्छ भन्ने विषयलाई ध्यानमा राखेर अघि बढ्नु पर्ने अवस्था देखिन्छ ।
अहिले देखि नै सहुलियत खोज्नेहरुले सर्वप्रथम यो बुझ्न पर्यो कि, यदि नेपालमा कोरोनाको संक्रमण फैलियो भने धेरैको ज्यान जान सक्छ र त्यसको असरले माग माथि माग तेस्र्याउनेहरुको व्यवसाय पलक झपटमा कहिल्यै उठ्न नसक्ने गरी बन्द हुने अवस्थामा पुग्न सक्छ । त्यस बखत अहिले राज्यसँग माग गरेको सहुलियत अनि सेवा र सुविधाको के अर्थ ? जब आफ्नो व्यवसाय गर्ने बजार नै सोत्तर भैसकेको हुनेछ ।
सामान्य अवस्थामा राज्यको उपस्थिती नदेख्नेहरुले सम्भावित विपदको अवस्थामा राज्यलाई गुहार गर्दै गर्दा आफ्नो भुमिकालाई किन भुलिरहेका छन् ? आफ्नो क्षमतालाई विपद व्यवस्थापनमा खर्चिन किन हिचकिचाई रहेका छन् ?
राज्य आफैं के गर्ने अनि के नगर्ने भन्ने अन्यौलमा परिरहेको अवस्थालाई कसैले नकार्न सक्दैन । राज्यका सम्बद्ध पक्ष तथा निकायहरु अहिलेको सम्भावित विपदको विषयलाई लिएर एक पछि अर्को निर्णय गर्ने अवस्थामा पुगेका छन् । यस्तो अवस्थामा सम्भवतः राज्यले कुनै पनि क्षेत्रबाट आएको सहुलियतको मागलाई ध्यान दिन सक्दैन र दिनु पनि हुँदैन । राज्यले विपदको घडीमा केही व्यवसायी तथा घरानाको कुरा सुन्ने हैन कि, आम नागरिकलाई ध्यान दिने पहल गर्नु पर्छ ।
सम्भावित विपद् आउन नदिनका लागि राज्यसँगै सबैले आआफ्नो ठाउँबाट रचनात्मक भुमिका निर्वाह गर्नु पर्ने अवस्था उत्पन्न भैसकेको छ । राजनितिक दलको भुमिका, व्यवसायीको भुमिका, को नेता, को कार्यकर्ता भन्ने सबै भुलेर राज्यले चालेका कदमलाई साथ दिँदै विपदलाई आउन नदिएको अवस्थामा बल्ल कति नोक्सान भयो, के के असर पर्यो, अब कसरी अघि बढ्ने भन्ने विषयमा नतिजा सहितको घनिभुत छलफल सुरु गर्न सके त्यसले सार्थक अर्थ राख्नेछ ।
विगतमा कर छुटको विषय होस् वा व्याजदरको विषयमा होस लाभ आम नागरिकले लिन पाएका छैनन् । राज्यबाट सम्बोधन हुने यस्ता अफरहरुको प्रत्यक्ष लाभ व्यवसायिक घरानाहरुले मात्र लिँदै आएका छन् । विपदको समयमा त्यस्ता घरानाहरुले आफ्ना ग्राहक, सेवाग्राही तथा आम नागरिकको सहायतालाई केन्द्रमा राखेर आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्ने समय आएको छ, सहुलियतको माग गर्न बन्द गरौं, विपद्लाई केन्द्रमा राखौं । नागरिक, सेवाग्राही र ग्राहक बाँचे व्यवसाय जहिले पनि गर्न सकिन्छ ।
प्रतिक्रिया