कोरोनाको त्रासका बीच मितेरी डेभलपमेण्ट बैंकले प्रोक्सीमार्फत सम्पन्न गर्यो साधारण सभा


विश्वमा महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को सम्भावित जोखिमका बीच मितेरी डेभलपमेण्ट बैंकले प्रोक्सीलाई जोखिम न्यूनिकरणको माध्यम बनाउँदै साधारण सभा सम्पन्न गरेको छ ।

सरकारले एकै स्थानमा २५ भन्दा बढी व्यक्ति जम्मा नहुन निर्देशन दिएको अवस्थामा बैंकले शेयरधनीको न्यूनउपस्थितीबाट नै साधारण सभा सम्पन्न गरेको हो ।

नोटबजारसँग कुरा गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीप्रसाद वस्तीले भने, संक्रमणको त्रास कहिलेसम्म रहने भन्ने अनिश्चित भएको अवस्थामा हामीले केही शेयरधनीको उपस्थितीमा मात्र साधारण सभा सम्पन्न गरेका हौं । अधिकांस शेयरधनीको प्रोक्सीका आधारमा साधारण सभाका एजेण्डाहरुलाई पारित गराउन सफल भएका छौं । यसका लागि बैंकका शेयरधनीहरुलाई विशेष आभार प्रकट गर्न चाहन्छौं ।

बैंकको साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको १८.५२५२ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.९७५ प्रतिशत नगद लाभांस पारित गरेको छ ।

यसै गरि सभाले मर्जर प्राप्तिका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव गरेको छ ।

बैंकले साधारण सभा प्रयोजनका लागि २०७६ फागुन २७ गते शेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो । जस अनुसार फागनु २६ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभाबाट पारित भएको बोनस शेयर पाउने छन् ।

अहिले बैंकको चुक्ता पूँजी ५८ करोड ५० लाख रुपैंया रहेकोमा शनिबारको साधारण सभाबाट बोनस पारित भएसँगै चुक्ता पूँजी ६९ करोड ३३ लाख रुपैंया पुगेको छ ।