छात्रवृत्ति विवरण नबुझाउने संस्थागत विद्यालयलाई ३ दिनको अल्टिमेटम


काठमाण्डौं महानगरपालिकाले ३ दिनभित्र सबै संस्थागत विद्यालयलाई छात्रवृत्ति विवरण पेस गर्न निर्देशन दिएको छ । महानगरले बिहीबार सार्वजनिक सूचना जारी गर्दै तोकिएको समयभित्र विवरण नबुझाएका यही वर्षदेखि स्कुल बन्द सूचीमा राख्ने जानकारी गराएको हो ।

यस अवधिभित्र पनि माग भएको विवरण पेस नगर्ने विद्यालयहरुलाई शैक्षिक सत्र २०८१ मा सञ्चालनमा नरही बन्द विद्यालयको रुपमा अभिलेखीकरण गरी यस्ता विद्यालयहरुमा विद्यार्थी भर्ना नगर्न÷नगराउन र गराएको भए अन्यत्र स्थानान्तरण गर्न समेत अभिभावहरुलाई सूचित गरिने उल्लेख छ ।

महानगरले रीतपूर्वक १० प्रतिशत छात्रवृत्ति उपलव्ध नगराउने निजी विद्यालयहरुलाई प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाही हुने चेतावनीसमेत दिएको छ । ‘विवरण पेस नगर्ने विद्यालयहरुलाई शैक्षिक सत्र २०८१ मा सञ्चालन नरही बन्द विद्यालयको रुपमा अभिलेखीकरण गरिनेछ’, महानगरपालिकाले बिहीबार एक सूचना गर्दै भनेको छ, ‘यस्ता विद्यालयहरुमा विद्यार्थी भर्ना नगर्न\नगराउनुहुन र गराएको भए अन्यत्र स्थानान्तरण गर्नसमेत अभिभावकलाई सूचित गरिने व्यहोरा अनुरोध छ ।’

महानगरले चालु शैक्षिक सत्रका लागि ४७३ संस्थागत विद्यालयबाट कक्षा १० सम्मसम्मका विद्यार्थी संख्या र उपलब्ध गराइएको छात्रवृत्ति विवरण प्राप्त भएको जनाएको छ ।

जसअनुसार महानगरभित्रका सबै संस्थागत विद्यालयमा विद्यार्थीको संख्या १ लाख ४९ हजार ९५० जना अध्ययनरत छन् । यसमध्येका १८ हजार ४२२ जनाले छात्रवृत्ति प्राप्त गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ जेष्ठ २०८१, बिहिबार  १० : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।