नेपालमै उत्पादन हुन सक्ने औषधि पनि अर्बौंको आयात

‘आवश्यक नीति ल्याइदिए हामी औषधि निर्यात गर्न सक्छौँ’


काठमाडौँ । नेपालका ७२ वटा औषधि उद्योगहरूले एन्टिबायोटिक, दुखाइ निवारक, दम, एन्टासिड, मह्लमलगायत धेरै थरी औषधि उत्पादन गर्दै आएका छन् तर, सरकारी बेवास्ताका कारण नेपालमै उत्पादन हुने औषधि पनि अर्बौं रुपैयाँ खर्चेर विदेशबाट आयात हुने गरेको छ ।

नेपाल औषधि उत्पादक संघका अध्यक्ष महेशप्रसाद प्रधानका अनुसार सरकारले आवश्यक सहयोग गरेमा र नीति बनाएमा नेपाल औषधिमा आत्मनिर्भर हुने मात्र होइन, निर्यात गर्ने क्षमता हुन्छ ।

यसका लागि सरकारले आवश्यक नीति बनाएर सहयोग गरिदिनुपर्ने उनको भनाइ छ । तर, सरकारले त्यसमा चासो दिएको देखिँदैन ।

विगत ५ वर्षको भन्सार विभागको तथ्यांक हेर्दा एन्टिबायोटिक मात्रै अर्बाैं रुपैयाँको विदेशबाट आयात हुने गरेको छ ।

चालु आर्थिक वर्षको १० महिनामा मात्र १ अर्ब ३७ करोड ३ लाख ७ हजार रुपैयाँको एन्टिबायोटिक आयात भएको छ ।

गत आर्थिक वर्ष २०८०/८१ को १० महिनामा नेपालले १ अर्ब २७ करोड ७४ लाख २३ हजार रुपैयाँको एन्टिबायोटिक आयात गरेको थियो ।

अध्यक्ष प्रधानका अनुसार नेपालमा सबैभन्दा बढी वैज्ञानिक विधिको प्रयोग औषधि उत्पादनमा नै गरिन्छ । नेपालमा अन्य क्षेत्रमा विज्ञानको यति प्रयोग गरेको पाइँदैन । तर, प्रष्ट नीतिको अभावमा यो क्षेत्र प्रभावकारी हुन सकेको छैन ।

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७९/८० को १० महिनाको अवधिमा ९३ करोड ४२ लाख ४२ हजार रुपैयाँको एन्टिबायोटिक औषधि आयात भएको थियो ।

आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा १ अर्ब ५० करोड ८० लाख १० हजार रुपैयाँ, २०७७/७८ मा ९७ करोड ३६ लाख २६ हजार रुपैयाँको एन्टिबायोटिक आयात भएको देखिन्छ ।

यो क्षेत्रलाई एकदमै संवेदनशील रूपमा लिएर आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गरिनुपर्ने प्रधानको भनाइ छ । आन्तरिक उत्पादन हुने औषधिहरूको आयातमा निषेध गर्नुपर्ने बताउँदै उनले भने, ‘राज्यका सबै स्वास्थ्य संस्था र निकायमा नेपाली औषधि मात्र प्रयोग गर्ने प्रावधान लागू गर्नुपर्छ ।’

औषधिलाई विश्व बजारमा खुला प्रतिस्पर्धामा राखिने भन्दै नेपालमा पनि यस्तै प्रावधान लागू गर्नुपर्ने उनको भनाइ छ । साथै, उनले सस्तो नभएर गुणस्तरीय उत्पादन प्रयोगमा जोड दिनुपर्ने बताए ।

प्रकाशित मिति: २० जेठ २०८२, मंगलबार  १४ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।