काठमाडौँ । पछिल्लो समय तरकारीको मूल्य एकदम आकासिएको छ । विगत १ महिनाको अवधिमा तरकारीको भाउ ७०० प्रतिशतसम्म बढेको कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिको दैनिक मूल्य सूचीमा उल्लेख छ ।
बर्खा लागेसँगै फलफूल तथा तरकारीको मूल्य दिनप्रतिदिन महँगिँदै गएको छ । दैनिक तरकारीको मूल्य आकासिँदै जाँदा आमउपभोक्ताको भान्सा पनि महँगो हुँदै गएको छ ।
३ प्रश्नको आजको अंकमा हामीले कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन कार्यालयका सूचना अधिकारी विनय श्रेष्ठसँग कुरा गरेका छौँ ।
पछिल्लो १ महिनामा तरकारीको मूल्य एकदम धेरै बढेको छ । आपूर्ति कम भएर हो कि अरू कुनै कारणले हो ?
वर्षात्को मौसम सुरु हुनेबित्तिकै मूल्य सधैँ बढ्ने गरेको छ । प्रमुख कारण त बर्खा नै हो । कतिपय स्थानमा तरकारी हटाएर धान रोपाइँ गरिन्छ । त्यसले पनि उत्पादनसँगै आपूर्तिमा प्रभाव पर्छ ।
वर्षात् सुरु भएसँगै तरकारी बालीमा पनि असरहरू पर्छन् । उत्पादन कम हुने, ढुवानीमा समस्या हुने, तरकारी छिट्टै बिग्रिने हुन्छ । यी सबै कुराको असर त सीधै मूल्यमै पर्ने हो ।
यो सिजनमा धेरै तरकारी लगाउने अवस्था हुँदैन । लगाएको तरकारी पनि वर्षाले नष्ट गर्ने गरेको छ । अहिले बजारमा दैनिक ६००–७०० टनसम्म तरकारी आइरहेको छ ।
-
उपभोक्तालाई महँगो मूल्य पर्दै गर्दा किसानहरूले भने मूल्य नपाएको गुनासो छ । कहिलेसम्म यसको असर देखिन्छ ?
वर्षा सकिए पनि यसको असर पछिसम्म पर्ने देखिन्छ । वर्षात्मा तरकारी लगाउने उचित वातावरण हुँदैन । लगाएमा पनि वर्षाबाट प्रभावित भएर नष्ट हुने सम्भावना धेरै हुन्छ । यसको असर त अब हिउँदे तरकारी उत्पादन नहुँदासम्म नै पर्छ ।
तरकारी त सधैँ कृषकहरूबाटै आउने गरेको छ । कृषकहरूले सीधै बजारमा आएर बेच्न पनि सक्छन् । तर, कृषकको उत्पादन थोरै हुन्छ, यति थोरै उत्पादन किसानले बजारसम्म ल्याउँदा लागत धेरै बढी हुन्छ ।
अब बिचौलियाले त धेरै किसानको एकै चोटि जम्मा गरेर ल्याउँछन् । किसान स्वयं आएर बिक्री गर्न व्यवस्था नभएको त होइन । तर, टाढाका किसानले उत्पादन यहाँसम्म ल्याउँदा वस्तुको मूल्य झन् बढी पर्न जान्छ ।
-
किसानलाई सहजीकरण गर्न राज्यको नीति कति प्रभावकारी छ र कस्तो हुनुपर्छ ?
त्यो हामीले विश्लेषण गर्ने विषय होइन, हामी पनि राज्यकै निकाय हौँ । सानो बजार सञ्चालन र व्यवस्थापन गर्ने निकायका रूपमा हामी छौँ । सामान्य बजार चलाउँछौँ ।
किसानहरूले मूल्य पाएनन् गुनासो छ । किन पाएनन् भन्ने प्रश्नका पछाडि धेरै कुराहरू छन् । किसानको उत्पादनको परिमाण, स्थान, उत्पादन स्थल र बजारसम्मको दुरी, बीचमा नाफा कमाउने प्रवृत्तिलगायत कारण छन् । मौसमी असरका कुराहरू छन् । यस्ता विषयमा सरकारले पहल गरिदिनुपर्यो । हामी यति मात्र भन्न सक्छौँ ।












प्रतिक्रिया