यो साता कस्तो रह्यो त सेयर बजार


काठमाडौँ । साताभरि सेयर बजार परिसुचक नेप्से उत्साहजनक नै रहेको देखिन्छ । गत साताको कारोबारको अन्तिम दिन २८७० अंकमा बन्द भएको सेयर बजार यो साताको कारोबारको अन्तिम दिन २९८२ अंकमा पुगेर बन्द भएको छ ।

साताको कारोबारको पहिलो दिन आइतबार ०.३२ अंकले बढेको बजार सोमबार २१.७६, मंगलबार ८०.९७, बुधबार ५.१७ अंकले बढेको थियो । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से ३.७६ अंकले बढेर २९८२.६४ अंकमा पुगको थियो । यो साता समग्रमा नेप्से १११.६९ अंकले बढेको हो ।

कारोबारमा दिनहुँ झिनो अंकको घटबढ भइरहे पनि साताभर जम्मा करिब ९५ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकमले पछिल्लो ११ महिनाको रेकर्ड बे्रक गर्दै २१ अर्ब रुपैयाँ नाघेको छ । सबैभन्दा बढी कारोबार आइतबार (२१ अर्ब ४६ करोड रुपैयाँ) भएको थियो । यो कारोबार रकम २०८१ भदौ २ गते आइतबार यताकै उच्च हो ।

साथै यो साता सबैभन्दा बढी अन्य समूह २५२ अंकले बढेको छ । यस्तै व्यापार समूह ६५ अंकले, लगानी समूह ५, होटल तथा पर्यटन समूह ३१२ अंकले लघुवित्त समूह २६९, उत्पादन तथा प्रशोधन समूह २७७, निर्जीवन बीमा समूह ५२८, जीवन बीमा समूह ६९५, जलविद्युत समूह १८४, वित्त समूह ५५, विकास बैंक समूह २२९ अंकले र बैंकिङ्ग समूह ४ अंकले बढेको छ । यो सात अरु उपसुचकमा दोहोरो अंकको वृद्धि हुँदा बैकिङ्ग समूह भने सुस्त देखिएको छ । साताभरिमा बैंकिङ्ग समूहको वृद्धि अरु उपसुचकको तुलनामा आशालाग्दो देखिएको छैन ।

यो साता सबैभन्दा बढी टे«ड टावर, उन्नति सहकार्य लघुवित्त, विन्ध्यवासीनी हाइड्रोपावर, ग्रिन भेन्चर्स र फस्र्ट लघुवित्तको सेयर मूल्य सबैभन्दा बढी बढेको छ ।

यता साताभरिमा कर्पाेरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक, सप्तकोशी विकास बैक समृद्धि फाइनान्स र पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा बढी घटेको छ ।

साताभरिमा कारोबार रकमको आधारमा ३ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार सहित नेपाल रिइन्स्योरेन्स शीर्षस्थानमा रहँदा कारोबार संख्याको आधारमा हिमालन रिइस्योेरेन्स शीर्ष स्थानमा रहेको छ ।

यो साता कुल बजार पूँजीकरणले पनि इतिहास कायम गरेको छ । नेप्सेमा लगातार सुधार आउँदा पूँजीकरणमा पनि इतिहास कायम हुँदै गएको छ । गत साताको कारोबार अन्तिम दिन ४७ खर्ब ४३ अर्ब ३७ करोड रुपैयाँ कायम भएको कुल बजार पूँजीकरण यो साताको कारोबारको अन्तिम दिन ४९ खर्ब ७७ अर्ब ४ करोड रुपैयाँ कायम भएको छ । कारोबारका पाँच दिनमा कुल बजार पूँजीकरण २ खर्ब ३३ अर्ब ६७ करोड रुपैयाँले बढेको छ । यो हालसम्मकै उच्च बजार पूँजीकरण हो । बजार पूँजीकरणमा भएको यो वृद्धिले लगानीकर्ताको विश्रास बढेको संकेत दिएको छ ।

प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार  १५ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।