पानी नपर्दा मधेश प्रदेशका अधिकांश स्थानमा रोपाई हुन सकेको छैन । समयमै रापाई नहुँदा रोपिएको धान पनि नष्ट हुने अवस्थामा पुगेको छ । सरकारले पनि खडेरी परेका स्थानहरुलाई संकट क्षेत्र घोषणा गरिसकेको छ । विस्तारै धान उत्पादनमा वुद्धि हुँदै जाँदा नेपाल धानमा आत्मनिर्भर हुन सक्ला कि भन्ने आशा थियो । तर पानी नपरेपछि यो अवस्था उल्टो भई धान उत्पादन घटेर साद्य संकट आउने सम्भावना देखिएको छ ।
तीन प्रश्नको आजको अंकमा हामीले समयमै धान रोपाई नहुँदाका असर र यसले निम्त्याउने खाद्य संकटको सम्भावनाका विषयमा नेपाल कृषि अनुसन्धान परिषद (नार्क) का कृषि वैज्ञानिक एवं धानबाली विज्ञ शुसीलराज सुवेदीसँग कुरा गरेका छौँ ।
नेपालको भूगोलमा पानी नपर्दा धान उत्पादनमा कस्तो असर पर्छ ? खाद्य संकटको सम्भावना हुन्छ ?
पहिलो कुरा त रोपाई नै भएको छैन, रोपाई नभएपछि धान उत्पादन कसरी हुन्छ ? खाद्य संकटको कुरा गर्दा विगत वर्षहरुमा नेपालमा १४ लाख हेक्टर जमिनमा धान रोपाई हुने गरेकोमा अहिले १० लाख हेक्टरमा मात्र रोपाई भएको छ, त्यो पनि राम्रो अवस्थामा छैन । विगतमा १४ लाख हेक्टरमा रोपाई हुँदा नै हामीलाई धान नपुगेर भारतबाट आयात गर्नुपर्ने हुन्थ्यो । अहिले त रोपाई नै १० लाख हेक्टरभन्दा बढी जमिनमा नहोला जस्तो देखिँदा धानको उत्पादन स्वभाविक रुपमा घट्छ । उत्पादन कम हुँदा आयात बढ्ने र खाद्य सुरक्षा स्वतः कम हुने नै भयो ।
पहिलेको पूर्वानुमानमा यो वर्ष अलि बढी पानी पर्छ भनिएको थियो । अझै पनि हप्ता दिनसम्ममा पर्याप्त पानी पर्यो भने धान रोपाई बढ्छ र उत्पादन पनि बढ्ला । अहिले धानको बिउ बूढो भइसकेको हुनाले २ हप्तासम्म पनि राम्रोसँग वर्षा भएन भने संकट आउँछ । हुन त संकट घोषण भइसकेको छ, तर त्यस पछिको संकट अर्कै किसिमको हुन सक्छ ।
प्राकृतिक विषय भएपनि तत्कालका लागि केही वैकल्पिक उपाय अपनाउन सकिन्छ कि ?
तत्काल त के गर्न सकिन्छ र ? मरिन डाइभर्सन, कोशी र कमलाका सिँचाइ आयोजनाका कामहरुको नतिजा अपेक्षित छैन । बागमती सिचाँईदेखि लिएर अन्य कामको पनि कृषिमा सिधा असर महसुस भएको छैन । पानी खोला तथा नदीहरुमा मात्र बगिरहेको छ । किसानको बारी सुक्खाको सुक्खै छन् । तराईमा चापाकलबाट पानी पनि आउन छोडेको छ । भोेलिका दिनमा पानीको संकट आउने अवस्था देखिइसकेको छ । यसको विकल्पममा डिप बोरिङले पनि धेरै क्षेत्रमा सिँचाई गर्न खर्च लगायत अन्य अवस्थाले पनि सम्भव हुने देखिँदैन । चर्चामा रहेका सिँचाई आयोजनाहरु समयमै सम्पन्न भएको भए अहिले यो अवस्था आउने थिएन । यसमा तपाई हाम्रो ध्यान नपुगेको जस्तो लाग्छ ।
जलवायु परिवर्तनको असरबाट बच्न र बेलामै सिँचाई आयोजनाहरु सम्पन्न गर्न सरकारले कस्ता दिर्घकालीन उपाय अबलम्बन गर्नुपर्ला ?
सरकारले कोशी र कमलाको डाईभर्सन बनाएर तुरुन्त निर्माण सम्पन्न गर्नपर्छ । मरिन डाईभर्सनको कुरा पनि चलेको छ, अनि बागमती भयो, यी तिन चार वटा आयोजनाहरुको सदुपयोग गर्ने कामलाई प्राथमिकतामा राखियो भने मधेशका आठवटै जिल्लामा दुई बाली धान खेती गर्न सक्ने अवस्था बन्छ । यति मात्र गर्ने हो भने तत्काललाई हामीले धानको अभाव झेल्नु पर्दैन ।
जलवायु परिवर्तनको कुरा गर्दा पहिले साउनमा झमझम पानी परेर झरी पथ्र्याे तर अहिले एकैचोटि ठुलो पानी पर्ने र जमिनमा पानी पस्नै नपाउने अवस्था छ । हिमालहरु पनि पग्लिँदै गएको अवस्था छ । यसमा पनि सरकारले ध्यान दिन आवश्यक छ । यसको लागि चुरे क्षेत्रको संरक्षण गर्नुपर्छ ।
अलि ढिलो गरी रोप्न मिल्ने रैथाने जातका धानको बिउको प्रयोगलाई बढाउन सकियो भने पनि हामीले अहिलेको समस्या धेरै खेप्नु पर्दैन जस्तो लाग्छ ।












प्रतिक्रिया