काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा सेयर बजारले लगानीकर्तालाई उत्साहको शिखरदेखि अनिश्चितताको गहिराइसम्मको यात्रा गराएको छ । आर्थिक वर्षको सुरुमा देखिएको अभूतपूर्व “बुल रन” ले नेप्सेलाई लामो समयको अन्तरालपछि ३ हजार अंकमाथिको उचाइमा पु¥यायो भने त्यसपछिका दिनमा बजारले गहिरो करेक्सनको सामना गरिरहेको छ । यो एक महिनाको अवधि बजारको मनोविज्ञान, लगानीकर्ताको अपेक्षा र बजारको आन्तिरिक शक्तिको परीक्षणको अवधिको रुपमा रह्यो ।
साउनको सुरुवातमा सेयर बजारले स्वर्णिम यात्रा तय गरेको थियो । नयाँ आर्थिक वर्षको आगमन, मौद्रिक नीतिप्रतिको सकारात्मक अपेक्षा र बजारमा पर्याप्त तरलताका कारण लगानीकर्ताको मनोबल उच्च बन्न पुग्यो । लगानीकर्ताको यही उत्साहको जगमा नेप्से परिसुचकले लामो समयपछि ३ हजार विन्दुभन्दा माथिको यात्रा तय गर्दै गयो ।
साउनको दोस्रो साता नेप्सेले ३ हजार अंकको विन्दु पार ग¥यो । नेप्सेले चार वर्षको लामो प्रतिक्षा पछि ३ हजार अंक पार गरेको थियो । पछिल्लो पटक नेप्से २०७८ भदो २ गते ३१९८ अंकमा पुगेको थियो भने, त्यसपछि चालु आर्थिक वर्षको साउन ११ गते ३०१२ अंक माथि पुगेको थियो । यसले बजारमा थप उत्साहको सञ्चार गर्नुका साथै लगानीकर्ताहरुलाई आकर्षित गरेको थियो ।
बजारको वृद्धिसँगै कारोबार रकम पनि उचाई लिँदै गएको थियो । साउनका सुरुवाती दिनहरुमा दैनिक २० अर्ब रुपैयाँ हाराहारीको सेयर कारोबार भएको थियो । यसले बजारमा लगानीकर्ताको सक्रियता धेरै रहेको बुझाउँछ । नेप्सेले ३ हजार अंकको उचाई पार गरेकै दिन अर्थात साउन ११ गते २६ अर्ब ५७ करोड ७४ लाख रुपैयाँको सेयर किनबेच भएको थियो । नेप्सेको यो उचाईसँगै कुल बजार पूँजीकरण ५० खर्ब रुपैयाँ नाघेको थियो । साउन १३ गते मंगलबार कुल बजार पूँजीकरण ५० खर्ब ९ अर्ब ४६ करोड रुपैयाँ कायम भएको थियो । यो अवधिमा बजारमा सानाठूला सबै किसिमका लगानीकर्ताको सक्रियता व्यापक बनेको थियो । लामो समयदेखि निष्कृय रहेका लगानीकर्ता तथा कारोबारीहरुको सक्रियता बढेसँगै बजार निरन्तर उकालो लागेको थियो ।
बजार “सधैं एकै दिशामा हिँड्दैन” भन्ने सिद्धान्तलाई चरितार्थ गर्दै, उत्साहको उत्कर्षपछि बजारमा करेक्सनको चरण सुरु भयो । अझ भनौं घट्ने र बढ्ने बजारको सुन्दरता हो भन्ने मान्यता अनुसार बजारले ओरालो यात्रा समात्यो । लगातारको वृद्धि पछि उच्च विन्दुमा पुगेको नेप्सेमा लगानीकर्ताले नाफा सुरक्षित गर्न थाले । जसका कारण बिक्री चाप बढ्न गयो भने सेयरको तरलता देखियो । माग र आपुर्तीको शिद्धान्त अनुसार बिक्री चाप धेरै आउँदा बजार घट्नु स्वभाविक हो ।
साउन महिनाको मध्यपछि बजारमा दिनहुँ दोहोरो अंकको गिरावट देखिन थाल्यो । नेप्से परिसुचक क्रमशः ३ हजार अंकबाट तल झर्दै २९ सय, २८ सय र २७ सयको तहमा आयो । यो क्रम साउनको अन्तिम कारोबार दिन २९ गते अर्थात बिहिबारसम्ममा आउँदा २७८८.३६ अंकमा पुगेर बजार बन्द भएको छ ।
बजार घट्न थालेसँगै लगानीकर्ताहरु हच्चकिन पुगे, जसको प्रत्यक्ष असर कारोबार रकममा देखिन थाल्यो । कुनै समय २६ अर्ब रुपैयाँ नाघेको कारोबार रकम १९ अर्ब, १६ अर्ब, १० अर्ब हुँदै ६, ७ अर्बको हराहारीमा झ¥यो । यो महिनाको कारोबारको अन्तिम दिन बिहीबार ७ अर्ब ४६ करोड ४१ लाख रुपैयाँको सेयर किनबेच भएको छ । कारोबार रकममा आएको यो गिरावटले बजारका सबै किसिमका लगानीकर्तामा अन्यौलताको अवस्था उत्पन्न भयो । नियमित कारोबार गरिरहेका र केही पुराना लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा पुगेको संकेत बजारले गरेको छ ।
नेप्सेमा सूचीकृत कम्पनीहरुले एक पछि अर्को गर्दै गत आर्थिक वर्षको चौथो त्रैमासको त्रैमासिक वित्तीय विबरण सावजनिक गर्दा बजारको तिब्र गिरावट केही रोकिन पुग्यो । यसका बावजुद नेप्से परिसुचकमा आएको गिरावटसँगै लगानीकर्ताले छोटो समयमा बनेको झण्डै ४ खर्ब रुपैयाँ बराबरको सम्पत्ती बजारमा नै गुमाए । अर्थात ५० अर्ब माथि पुगेको बजार पूँजीकरण ४६ खर्बको हाराहारीमा ओर्लिएको छ । साउन १ गते समग्र बजार पुँजीकरण ४७ खर्ब ८३ अर्ब रुपैयाँ थियो । साउन १३ गते ५० खर्ब ९ अर्ब पुगेको बजार पुँजीकरण साउन २९ गते बिहीबार ४६ खर्ब ५६ अर्ब रुपैयाँ कायम भएको छ । यो अवधिमा लगानीकर्ताको सम्पत्ती झण्डै ३ अर्ब रुपैयाँले बढेकोमा बजार घटेसँगै झण्डै ४ खर्बले घटेको हो ।
बजारमा आएको गिरावटको सबैभन्दा मुख्य कारण बढ्दो बजारमा नाफ सुरक्षित गर्नु नै हो । कम्पनीहरुको वित्तीय अवस्थामा खासै उत्साह नदेखिएको अवस्थामा बढेको बजारमा नाफा सुरक्षित गर्नु स्वभाविक हुने बजारका सम्बद्ध पक्षहरु बताउँछन् । तल्लो विन्दुमा सेयर किनेका लगानीकर्ताहरुले ३ हजारको बिन्दुलाई नाफा सुरक्षित गर्ने अवसरको रुपमा लिए, जसले बिक्री चाप बढायो । जब बजारमा गिरावट सुरु हुन्छ, तब धेरैजसो लगानीकर्ताहरुले डराएर हतारमा सेयर बेच्न सुरु गर्छन्, जसले गिरावटलाई तिव्र बनाउँछ । अझ धेरै जसो लगानीकर्ताहरुले बजार बढेका बेला नाफा कमाउन नै सक्दैनन् । केही चनाखा लगानीकर्ताहरुले मात्र बजारबाट नाफा लिन्छन् ।
सामान्य लगानीकर्ताहरु प्राय गरेर बजार घट्न थालेपछि वा घटेपछि सेयर बेच्छन् र बढेर माथि पुगेका बेला बजार अझै बढ्ने आशमा सेयर किन्छन् । त्यही विन्दुमा बजार घट्न थाल्छ अनि नोक्सान व्यहोर्दै त्यस्ता लगानीकर्ताले सेयर बेच्न थाल्छन् । जसको फाइदा बाठा र ठूला लगानीकर्ताले लिन्छन् । यस पटक पनि धेरैजसो लगानीकर्ताको हकमा त्यस्तै भएको छ । हरेक पटकको बजारको वृद्धि र गिरावटको चक्रमा यस्तै हुने गरेको छ । जसका कारण बढेको बजारमा पनि नाफा कमाउन नसकेका लगानीकर्ता फेरी फर्केर बजारमा जाँदैनन् । साउन दोस्रो साता पछि यस्तै चक्र चल्दा ३ हजारको तहबाट बजार तल झरेपछि बजार गिरावटको क्रम तिब्र बनेको देखिन्छ ।
बजार लगातार बढिरहने र लगातार घटिरहने हुँदैन । चरण चरणमा आउने यस्ता चक्रमा लगानीकर्ताले सुजबुझपूर्ण निर्णय लिन सक्ने हो भने बजारको घटाइ र वृद्धि तिब्र हुँदैन । यसले बजारमा लगानीकर्ताको सक्रियता पनि घट्न दिँदैन ।
लामो समयको बुल रन पछि बजारमा आउने करेक्सनलाई स्वभाविक मानिन्छ । यसले बजारलाई दिगो र स्वस्थ बनाउन मद्धत गर्ने विश्लेषकहरु बताउँछन् । नेपालको सन्दर्भमा पछिल्ला वर्षहरुको तथ्यांक हेर्दा चार चार वर्षको अन्तरमा भदौ महिनामा बजार राम्ररी बढ्ने गरेको देखिन्छ ।













प्रतिक्रिया