प्रतिबद्धताको १९ प्रतिशत मात्र भित्रियो प्रत्यक्ष वैदेशिक लगानी


काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ मा प्रतिबद्धताको १९.८५ प्रतिशत मात्र वैदेशिक लगानी भित्रिएको छ । गत आर्थिक वर्षमा ६४ अर्ब ९६ करोड ५१ लाख रुपैयाँ लगानी प्रतिबद्धता भएकोमा १२ अर्ब ९० लाख रुपैयाँ मात्र भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।

गत आर्थिक वर्षमा सरकारले अध्यादेश मार्फत विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ लाई संशोधन गरेको कारण विदेशी लगानीमा केही वृद्धि भएको हो ।

सरकारले ऐनको संशोधन मार्फत न्यूनतम लगानी सीमा परिवर्तन, स्वचालित मार्गको विस्तार, एकल बिन्दु सेवामा सुधार, प्रक्रियागत सरलता लगायत विषयमा सहज गरेको थियो । यी परिवर्तनहरुले नेपालमा विदेशी लगानीको वातावरणलाई थप सहज भएको छ ।

गत आर्थिक वर्षमा ८४० वटा उद्योगमा उक्तमात्रामा लगानी भित्रिएको हो ।

अघिल्लो आर्थिक वर्षमा पनि प्रतिबद्धताको १२.१२ प्रतिशत मात्र वैदेशीक लगानी भित्रिएको थियो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ६९ अर्ब ८३ करोड ३५ लाख रुपैयाँ लगानी प्रतिबद्धता भएकोमा ८ अर्ब ४७ करोड रुपैयाँ मात्र भित्रिएको थियो ।

उद्योग विभागको तथ्यांक अनुसार आर्थिक वर्षमा २०७९/८० मा प्रतिबद्धताको २५ प्रतिशत विदेशी लगानी भित्रिएको थियो ।

उक्त आर्थिक वर्षमा ३० अर्ब ७१ करोड ९४ लाख रुपैयाँ लगानी प्रतिबद्धता भएकोमा ७ अर्ब ७ करोड ७८ लाख रुपैयाँ मात्र भित्रिएको थियो ।

विदेशी लगानीकर्ताहरुमा पर्यटन र सेवा मूलक क्षेत्रमा आकर्षण देखिएको छ । गत आर्थिक वर्षमा सेवा मूलुक क्षेत्रमा ४८ उद्योगमा, पर्यटन क्षेत्रमा ४१ उद्योगमा, र उत्पादनमूलक ६ तथा सुचना तथा प्रविधि क्षेत्रका तीनओट उद्योगमा लगानी भित्रिएको छ ।

लगानीकर्ताले नेपालमा गरेको लगानीको ठुलो हिस्सा भने लाभांश मार्फत लैजाने गरेका छन् । गत आर्थिक वर्षमा लगानीकर्ताले ९ अर्ब ६१ करोड ७० लाख रुपैयाँ लाभांस लगेका उद्योग विभागले जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा लगानीकतर्थाले १० अर्ब १८ करोड ७६ लाख ३९ हजार रुपैयाँ लाभांस लैजान विभागबाट स्वीकृति प्राप्त गरेका थिए ।

उद्योग विभागले २०८१ वैशाख देखि स्वचालित मार्गबाट ५० करोड रुपैयाँसम्म लगानी गर्न पाउने व्यवस्था गरेको छ । यसै प्रक्रिया अनुसार गत आर्थिक वर्षमा स्वचालित मार्गबाट ४६ करोड १२ लाख ६६ हजार रुपैयाँ विदेशी लगानी भित्रिएको छ ।

तर विगत तीन वर्षको आँकडा हेर्दा नेपालमा प्रतिबद्धता गरिएको २५ प्रतिशत पनि विदेशी लगानी भित्रिन सकेको छैन ।

नेपालमा प्रतिबद्धता अनुसारको वैदैशीक लगानी भित्रिन नसक्नुको प्रमुख कारण प्रतिबद्धता गर्ने मानिस वा कम्पनीलाई फलोअप गर्न नसक्नु भएको अर्थविद् कृष्णहरि बास्कोटा बताउँछन् । उनी भन्छन्, “प्रतिबद्धता गरेर गएपछि खोजी नै नगरेपछि लगानीकर्ताले किन नेपालमा लगानी गर्न आफैँ खोजेर आउँछ ?”

सरकारले चासो चिन्ता केही नदेखाएकोले प्रतिबद्धताअनुसारको लगानी नआएको बताउँदै, उनले भने, “कुनै पनि देशमा प्रत्यक्ष वैदेशिक लगानी आउन त्यहाँको स्थानीय स्तरसँग उसको सम्पर्क हुन्छ । उसले स्थानीय उद्यमीलाई सेयर पनि दिन सक्छ, आधा आधा गर्न पनि सक्छ अथवा नाफाको केही प्रतिशत दिन्छु भनेर सहमति गरेको हुन्छ ।”

यस्तै विदेशी लगानीकर्ताले कहीँ न कहीँ उसले आफ्‌नो सम्पर्क बिन्दु बनाएको हुन्छ । सम्पर्क बिन्दुको रुपमा काम गर्नको लागि नीजि क्षेत्र बलियो हुनुपर्नेमा निजी क्षेत्र बलियो नभएको जानकारहरु बताउँछन् । निजी क्षेत्रले पनि प्रतिबद्धताकर्तालाई आकर्षक गर्न नसकेको उनीहरुको भनाई छ ।

नेपालमा सबै सुविधा छ भन्नुपर्ने निजी क्षेत्रले उल्‌टै नेपालमा भ्रष्टाचार हुन्छ, यहाँका कर्मचारीले दुःख दिन्छन् सबै खराब छ भनेर उल्‌टै भड्काइरहेको अर्थविद बास्कोटा बताउँछन् । यसले लगानीकर्ताको मनोबल र नेपालप्रति हेर्ने दृष्टिकोणमा नकारात्मक असर पर्ने गरेको छ । निजी क्षेत्रको राम्रो मध्यस्थता नहुनु पनि बैदेशिक लगानी नआउनुको अर्को कारण हो ।

वैदेशिक लगानी प्रतिबद्धता गर्ने बेलामा सरकारले पनि विभिन्न सेवा सुविधाको लोभ देखाउँछ । तर, पछि काम गर्दै जाँदा सुविधाका लागि ‘कन्डिसन’ तेर्स्याइन्छ । यसरी पहिले भनिएको र पछि काम गर्दाको अवस्थामा अन्तर भएपछि लगानीकर्ता भड्किन्छन् ।

अर्को कारण भनेको उनीहरूले नेपालमा जुन काम गर्न खोजेका हुन् त्यो सजिलै प्राप्त नहने गरेको जानकारहरुको भनाई छ ।
यस्तै, लगानीकर्ताले आफू मन लागेको बेला फर्किन्छु र मलाई फर्किने वातावरण मिलाइदिनुपर्छ भनेर सम्झौता गर्छ । तर नेपालमा लगानी गरिसेकेपछि विदेशी मुद्राको पर्याप्तता छैन लगायत विभिन्न कारण देखाएर फर्किने वातावरण हुँदैन । जसले गर्दा लगानीकर्ताको मनमा यो मुलुकमा त आफ्‌नो पैसा पनि समयमा पाइँदैन, किन लगानी गर्नु भन्ने मनोविज्ञानले काम गर्ने बास्कोटा बताउँछन् । यस्तै नेपालमा हुने कानुनी झन्झट विदेशी लगानी भित्रिनुमा बाधक बनेको उनले बताए ।

प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार  ०८ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।