होटलहरूमा अर्बौँको क्षति तर ६ महिनाभित्रै लयमा फर्किने व्यवसायीहरूको विश्वास !


काठमाडौँ।  गत भदौ २३ र २४ गते जेनजी युवाहरूले गरेको आन्दोलनले देशभरिका विभिन्न होटलहरुमा तोडफोड तथा आगजनी भएको छ ।

होटल संघ नेपालका अनुसार आन्दोलनको क्रममा देशभरिका करिब २ दर्जन होटलमा २५ अर्ब रुपैयाँको नोक्सानी भएको छ । आन्दोलनमा काठमाडौँ, पोखरा, बुटवल भैरहवा, झापा, मोरङ, विराटनगर, धनगढी लगायत क्षेत्रमा सञ्चालित होटलहरुमा गम्भीर क्षति पुगेको छ ।

आगजनीमा हिल्टन होटलमा मात्र ८ अर्ब रुपैयाँको क्षति भएको छ । यसबाट होटल व्यवसायीहरु चिन्तित बनेका छन् भने यो क्षेत्रमा काम गर्ने धेरै जनाको रोजगारी गुम्ने चिन्तासँगै आशंका बढेको छ ।

यो आगजनी र तोडफोडको कारणले गर्दा चाडपर्व नजिकिँदै गर्दा करिब २ हजार जनाको प्रत्यक्ष रुपमा रोजगारी गुम्ने चिन्ता बढेको हो । यो आन्दोलनमा ठुला, मझौला र साना सबै होटल तथा व्यवसायहरु निशानामा परेका छन् । अहिले पर्यटन क्षेत्रमा सञ्चालित होटलहरुमा पनि क्षति पुगेको छ । अहिले बुकिङ गरिएको होटल पनि धमाधम बुकिङ फिर्ता हुन थालेका छन् ।

तर, यता होटल व्यवसायी संघले भने कसैको पनि रोजगारी नगुम्ने दाबी गरेको छ ।

होटल व्यवसायीहरुले भने क्षतिग्रस्त संरचनाहरु उठाउने काम भइरहेकोले कसैको पनि रोजगारी नगुम्ने जनाएको हो । संंघका अध्यक्ष दिनेश कुमार चुकेका अनुसार आगजनी र तोडफोड भएर बन्द भएका होटलहरुमा कार्यरत कामदारहरुलाई पनि तलब दिइनेछ । उनका अनुसार अहिलेनै रोजगारी गुम्छ भनेर कसैले चिन्तित हुने अवस्था छैन् ।

कुनै भवितब्य घटना वा फेरि आन्दोलन नभएको अवस्थामा ६ महिनाभित्रमा पुरानै अवस्थामा फर्किने अध्यक्ष चुकेले जनाएका छन् ।

उनका अनुसार राष्ट्र बैंकले पनि अहिले सहुलियत कर्जा दिने प्रतिबद्धता गरेका छ भने करिब ५० देखि ६० प्रतिशत सम्म बीमा कम्पनीले भुक्तानी गर्न सक्ने अवस्था रहेको छ । यी कारणहरुले गर्दा होटल क्षेत्र छिट्टै लयमा आउने र रोजगारीको चिन्ता गर्न नपर्ने उनको दाबी रहेका छ ।

यो अवधिमा रोजगारी गुमाएका कामदारहरुलाई खाली नराख्ने र फेरि पुनःनिर्माण भएर पुरानै अवस्थामा फर्केपछि उनीहरुलाई रोजगारी प्रदान गरिने जनाएको छ । अहिले भएका उथलपुथल र क्षतिको कारण राष्ट्र बैंकले पनि कर्जामा सहुलियताको व्यवस्था गर्ने आश्वासन दिएको अध्यक्ष चुकेले बताए ।

संघका अध्यक्षका चुकेका अनुसार, होटलहरुको मर्मत र पुनर्संरचनाको काम तीव्र गतिमा गरिनेछ र यसका लागि आवश्यक स्रोत जुटाउन विभिन्न निकायहरुसँग समन्वय भइरहेको छ ।

उनले भने, ‘हामी हाम्रा कर्मचारीको साथमा छौँ र यो संकठको घडीमा उनीहरुलाई कुनै पनि एक्लो छोड्ने छैनौँ ।’ होटल नै बन्द गर्ने अवस्था आएमा आधा तलब दिएर भएपनि राखिने उनको दाबी छ । उनी भन्छन, ‘विगतमा कारोनाको समयमा पनि कामदारहरुलाई तलब दिएको इतिहास छ ।’

यदि कसैले ठुलो रोजगारी पाएमा वा विदेश जाने इच्छा राखेमा जान सक्ने तर दैनिक व्यवहार धान्न धौधौ पर्ने अवस्थामा कामदारहरु नपुग्ने उनको भनाई छ ।

संघले क्षतिग्रस्त होटलहरुको पुननिर्माण गर्नको लागि बैंक तथा वित्तीय संस्थाहरुसँग पनि राष्ट्र बैंकँगको समन्वयमा ऋणको किस्ता भुक्तानीमा सहुलियत दिन र ब्याजदर कम गर्न आग्रह गरेका छ ।

अध्यक्ष चुकेका अनुसार आगामी दिनमा सबै भन्दा ठूलो चुनौती राजनीतिक स्थिरता कायम हुन्छ वा हुन्दैन भन्नेमा छ ।

विगत र वर्तमानको जस्तो अशान्ति आन्दोलन र अवरोध नदोरिएमा होटल क्षेत्रको उत्थान हुने तर यस्तो हुन नसकेको अवस्थामा झन नकारात्मक असर निम्त्याउने र संकट आउने छ ।

अहिले नै प्रमुख राजनीति दलहरुले संसद विघटनको विरोध गर्दै आएको अवस्थामा स्थिरता आउँछ, आउँदैन भन्ने कुराले पिरोलेको उनको भनाई छ ।

तर उनले अहिले जनजीवन सामान्य बन्दै गएको र नयाँ सरकार गठन भइसकेको अवस्थामा सबै क्षेत्रको उत्थानको लागि सबैले एकजुट हुनुपर्नेमा जोड दिएका छन् । तर यसले विश्वमा नै नकारात्मक असर परेको नेपालमा स्थिरता छैन, आन्दोलन हुन्छ भन्ने भाष्य अन्तर्राष्ट्रिय स्तरमा पुगेको छ । जसले गर्दा विदेशी पर्यटकको आवागमन कम हुने र दीर्घकालीन रुपमा ठुलो असर पर्ने संघले जनाएको छ ।

प्रकाशित मिति: ३० भाद्र २०८२, सोमबार  १० : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।