स्नो रिभर्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


काठमाडौँ । स्नो रिभर्स लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ निष्काशन गरेको थियो। जसमध्ये वैदेशिक रोजगारीमा रहेकाले आजसम्म मात्र आवेदन दिन सक्ने छन् ।

कम्पनीले माघ १८ गते नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल १८ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको थियो । सोही अनुसार कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ९३ हजार ७५० कित्ता आईपीओ निष्काशन गरेको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको आईपीओमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरूले आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेकाले न्यूनतम १० कित्ताका लागि र अधिकतम १ हजार कित्तासम्म माग गर्न सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सी–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति: १२ चैत्र २०८२, बिहिबार  १० : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।