युरोप–अमेरिकाबाट पर्यटक घट्दा ‘हाइ–भ्यालु’ आम्दानीमा जोखिम, हवाई भाडा बढ्दा थप दबाब


काठमाडौँ । २८ फेब्रअरीबाट सुरु भएको मध्यपूर्व युद्धले नेपालका पर्यटन क्षेत्रमा प्रत्यक्ष असर देखिन थालेको छ । युद्धका कारण सन् २०२६ मार्च महिनामा युरोप र अमेरिकी मुलुकबाट आउने पर्यटकको संख्यामा उल्लेख्य गिरावट आएको हो ।

पर्यटन बोर्डको तंथ्यांक अनुसार सन् २०२६ को मार्चमा युरोपबाट जम्मा २० हजार ८७६ पर्यटक आएका छन्, जुन अघिल्लो वर्षको तुलनामा १८.९ प्रतिशतले कमी हो । अघिल्लो वर्षको सोही अवधिमा २५ हजार ७४१ जना पर्यटन युरोपबाट नेपाल भित्रिएका थिए ।

युरोपका प्रमुख स्रोत मुलुकमध्ये फ्रान्सबाट ३०.२ प्रतिशतले घटेर २ हजार २८८ जनामा संकुचन भएको छ भने चेक रिपब्लिकबाट आउने पर्यटकको संख्या ५३.७ प्रतिशतले घटेर २५४ मा सीमित भएको छ ।

यस्तै, बेलायतबाट १९.७ प्रतिशतले घटेर ४ हजार ८१४, र जर्मनीबाट १३.२ प्रतिशतले घटेर ४ हजार ८६ मा सीमित भएको छ ।
त्यसैगरी, अमेरिकी महादेशबाट आउने पर्यटकको संख्यामा पनि २५.४ प्रतिशतले भारी गिरावट आएको छ । अघिल्लो वर्षको मार्चमा १३ हजार ९०७ पर्यटक आएकोमा यसपालि १० हजार ३७४ जना मात्र आएका छन् ।

यस्तै, युक्रेनबाट आउने पर्यटकको संख्यामा पनि भारी गिरावट आएको छ । युक्रेनबाट ४३.५ प्रतिशतले घटेर १७३ जनामा सीमित भएका छन् ।

धनगढी रुटको भाडादर १४ हजार ४ सय ५७ पुगेको छ ।

यता, संयुक्त राज्य अमेरिकाबाट आउने पर्यटक २८.१ प्रतिशतले घटेर ७ हजार ९७४ मा सीमित भएका छन् । पश्चिम एसियाली मुलुकबाट आउने पर्यटकको संख्यामा पनि ३७.१ प्रतिशतको ठुलो गिरावट आएको छ ।

मार्च महिनाको तथ्यांक अनुसार एकै महिनामा १ लाख २० हजार ५ सय १६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । गत वर्षको यही अवधिमा १ लाख २१ हजार ६८७ जना पर्यटक भित्रिएका थिए ।

अघिल्लो वर्षको तुलनामा समग्र आगमनमा १ प्रतिशतको सामान्य गिरावट देखिए युरोपबाट आउनेको संख्यामा गिरावट आउँदा नेपालको पर्यटन क्षेत्र छायाँमा पर्ने भएको हो ।

अन्य देशबाट आउने पर्यटकको संख्या बढेतापनि युरोपबाट आउने पर्यटकको संख्या घट्दा नेपालमा पर्यटनले गर्ने खर्चमा उल्लेख्य कमी आउने पर्यटन व्यवसायी अर्जुन खतिवडा बताउँछन् । उनका अनुसार युरोपबाट आउने पर्यटकको संख्या बढाउन सरकारी नीति नियम, प्रभावकारी प्रचार आवश्यक रहेको उनले बताए ।

युरोप र अमेरिकाजस्ता लामो दुरीका गन्तव्यबाट पर्यटकको आगमनमा केही संकुचन देखिए पनि भारत र चीन लगायतका छिमेकी मुलुकको संख्यात्मक वृद्धिले पर्यटन व्यवसायीलाई ठूलो राहत दिएको उनी बताउँछन् ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको ७ महिना साउनदेखि –माघसम्म) विदेशी पर्यटकले नेपाल भ्रमणमा ४१ अर्ब ९७ करोड ४३ लाख रुपैयाँ खर्च गरेका छन् । गत आर्थिक वर्षको तुलनामा बढी हो । मध्यपूर्व युद्ध, हवाइ भाडा वृद्धिले अब यो खर्च पनि घट्दो क्रममा हुने खतिवडा बताउँछन् ।

विश्वभर चर्किएको द्वन्द्व र त्यसले अन्तर्राष्ट्रिय उडानमा पारेको अवरोधका बाबजुद नेपाली पर्यटन क्षेत्रले आफ्नो लय समात्ने प्रयास गरिरहेको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी बताउँछन् ।

पछिल्लो तथ्याङ्कलाई ’निराशाजनक’ मान्न नहुने उनको तर्क छ । ‘बदलिँदो परिदृश्यले नेपालको पर्यटन रणनीतिमा थोरै समेत फेरबदल ल्याएको भएतापनि यो निराशाजनक छैन’ उनले भने ।

युरोप र अमेरिकाजस्ता लामो दुरीका गन्तव्यबाट पर्यटकको आगमनमा केही संकुचन देखिए पनि भारत र चीन लगायतका छिमेकी मुलुकको संख्यात्मक वृद्धिले पर्यटन व्यवसायीलाई ठूलो राहत दिएको उनी बताउँछन् । सीईओ जोशीका अनुसार, ‘पश्चिमा पर्यटकको संख्या बढ्न नसकेको भएतापनि छिमेकी देशहरुबाट भइरहेको वृद्धिले पर्यटनको सन्तुलन कायम राखेको छ ।’

संख्यामा गिरावट आए पनि युरोपेली र अमेरिकी पर्यटकहरू नेपालका लागि ’हाइ–भ्यालु’ (बढी खर्च गर्ने) स्रोत भएकोले उनीहरूलाई आकर्षित गर्न नेपालले अब डिजिटल मार्केटिङ र अन्तर्राष्ट्रिय पर्यटन मेलाहरूमा आफ्नो उपस्थिति झन् सशक्त बनाउने योजना बनाएको उनले बताए ।

यता, इजरायलबाट आउने पर्यटक संख्या घट्दा पदयात्रा गर्ने समूह घट्न थालेको छ । एउटा समूह घट्दा कम्तीमा २–३ जना गाईड र ५–६ जना भरियाले महिनाभरिको काम गुमाउँछन् । यसले गर्दा पर्यटनमा आश्रित हजारौँ नेपाली परिवारको जीविकोपार्जनमा समस्या परेको छ ।

मार्चमा इजरायलबाट आउने पर्यटकको संख्यामा ३१.५ प्रतिशतले घटेर १ हजार १४२ जनामा सीमित भएको छ ।

सार्क र एसियाली पर्यटकले धानेको क्षेत्र

पश्चिमा पर्यटक घटे पनि सार्क र अन्य एसियाली राष्ट्रबाट आएका पर्यटकले यस क्षेत्रलाई भरथेग गरिरहेको छ । सार्क मुलुकबाट मार्च महिनामा मात्रै ४२ हजार ६६८ पर्यटक आएका छन्, जुन अघिल्लो वर्षको तुलनामा २०.९ प्रतिशतले बढी हो ।

मार्चमा भारतबाट सबैभन्दा धेरै २५ हजार ७२८ जना पर्यटक आएका छन् । यो २०.२ प्रतिशत वृद्धि हो । त्यस्तै, बंगलादेशबाट ३०.८ प्रतिशत बढी (४ हजार ६७६) पर्यटक नेपाल भित्रिएका छन् ।
अन्य एसियाली मुलुकबाट ३३ हजार ४३६ पर्यटक आएका छन्, जुन ६.७ प्रतिशत हो । जसमा चीनबाट ११ हजार २२० र म्यानमारबाट ६ हजार २० पर्यटक रहेका छन् । ओसियाना क्षेत्र अन्तर्गत अस्ट्रेलियाबाट आउने पर्यटकको संख्या पनि १४.६ प्रतिशतले बढेर ४ हजार ८४५ पुगेको छ ।

महँगो हवाई भाडाले पर्यटन क्षेत्रमा संकट

पछिल्लो समय अनियन्त्रित रूपमा बढेको हवाई भाडाका कारण नेपालको पर्यटन क्षेत्र धरासायी हुने अवस्थामा पुग्ने आंकलन गरिएको छ । नेपाल आयल निगमले मंगलबार आन्तरिक हवाई इन्धनको मूल्य लिटरमा १ सय २५ बाट बढाएर २ सय ५१ रुपैयाँ पु¥याएसँगै भाडामा अचाक्ली वृद्धि भएको हो ।

अहिले वायुसेवा कम्पनीले लिने भाडा, १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) र विमानस्थल शुल्क थप गरी धनगढी रुटको भाडादर १४ हजार ४ सय ५७ पुगेको छ ।

काठमाडौं–माउन्टेन रुटको भाडा अब अधिकतम १८ हजार २६ र न्यूनतम ११ हजार ३ सय ४२ पुगेको छ । काठमाडौं–भद्रपुर न्यूनतम ९ हजार ९८९.२ रुपैयाँ र अधिकतम १५ हजार ८ सय ३७ पुगेको छ ।

अहिले नेपाल आउने पर्यटकहरू ’रिस्की’ पर्यटक हुन्, जो ठुलो बजेट लिएर भन्दा पनि अवस्था बुझ्न आइरहेका छन् । यस्तो बेला भाडा बढाउँदा उनीहरू थाइल्याण्ड जस्ता सस्ता र सीधा पहुँच भएका गन्तव्यतर्फ मोडिन सक्छन्

त्यस्तै काठमाडौं–विराटनगरको न्यूनतम ८ हजार ८८.९ रुपैयाँ र अधिकतम १२ हजार ७ सय ६५ पुगेको छ भने काठमाडौं–जनकपुर न्यूनतम ५ हजार ५ सय ६५ र अधिकतम ७ हजार ७० कायम भएको छ ।

यता, काठमाडौं–पोखरा रुटको न्यूनतम ५ हजार १५ र अधिकतम ८ हजार ६ सय ५ कायम भएको प्राधिकरणले जनाएको छ ।
यसैगरी काठमाडौं–भैरहवा रुटको न्यूनतम ७ हजार ६ रुपैयाँ र अधिकतम ११ हजार १६ पुगेको छ । काठमाडौं–नेपालगन्ज भाडा न्यूनतम १० हजार ८ सय र अधिकतम १७ हजार १ सय ४८ पुगेको छ ।

यस्तै, काठमाडौं–तुम्लिङटार न्यूनतम ६ हजार ३ सय २७ र अधिकतम ९ हजार ९ सय २० पुगेको छ ।

मन्त्रालयको एक कप चिया समेत नखाई आफ्नै पौरखले पर्यटन क्षेत्रमा अनुभव बटुलेका विज्ञहरूको सल्लाह लिएर दीर्घकालीन नीति बनाउनुपर्छ

हवाइ भाडामा सरकारले सहुलियत दिनुपर्छ

ठमेल पर्यटन विकास परिषद्का पूर्व अध्यक्ष भावेश्वर शर्माले हवाइ भाडा वृद्धि गर्ने समय उपयुक्त नभएको भन्दै यसले समग्र पर्यटन उद्योग, रोजगारी र राष्ट्रिय अर्थतन्त्रमा समेत ’मल्टिपल’ असर पार्ने चेतावनी दिएका छन् ।

उनले अन्तर्राष्ट्रिय अभ्यासमा सबैलाई समान दर रेट लागु हुने भए तापनि नेपालमा विदेशी पर्यटकका लागि पहिलेदेखि नै महँगो भाडा रहेको र त्यसमाथि इन्धनको नाममा गरिएको थप वृद्धिले नेपाललाई महँगो गन्तव्य बनाउने व्यवसायीको तर्क छ ।

‘अहिले नेपाल आउने पर्यटकहरू ’रिस्की’ पर्यटक हुन्, जो ठुलो बजेट लिएर भन्दा पनि अवस्था बुझ्न आइरहेका छन् । यस्तो बेला भाडा बढाउँदा उनीहरू थाइल्याण्ड जस्ता सस्ता र सीधा पहुँच भएका गन्तव्यतर्फ मोडिन सक्छन्,’ पूर्व अध्यक्षले बताए ।
पर्यटन क्षेत्रमा व्यापार न्यून हुँदै गएका कारण व्यवसायीहरूले कर्मचारी कटौती गर्न थालिसकेको उनले बताए ।

राज्यले अभिभावकको भूमिका निर्वाह गर्दै आन्तरिक स्रोतबाटै व्यवस्थापन गरेर भए पनि भाडा दर वृद्धि फिर्ता लिनुपर्ने उनको माग छ ।

नवनियुक्त पर्यटन मन्त्रीको उत्साहलाई सकारात्मक रूपमा लिँदै व्यवसायीहरूले मन्त्रीलाई आफ्नो घेराभन्दा बाहिर निस्किएर वास्तविक विज्ञहरूसँग परामर्श गर्न सुझाव दिएका छन् । ‘मन्त्रालयको एक कप चिया समेत नखाई आफ्नै पौरखले पर्यटन क्षेत्रमा अनुभव बटुलेका विज्ञहरूको सल्लाह लिएर दीर्घकालीन नीति बनाउनुपर्छ,’ पूर्व अध्यक्षले भने, ‘तब मात्र आन्तरिक र बाह्य पर्यटनलाई एउटा बलियो इन्डस्ट्रीको रूपमा विकास गर्न सकिन्छ ।’

प्रकाशित मिति: २० चैत्र २०८२, शुक्रबार  ०८ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।