नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाको पक्राउका सम्बन्धमा नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौंले बिरोध जनाएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै संघले उद्योगी व्यवसायीहरूमाथि अनुसन्धानका नाममा भइरहेको व्यवहारप्रति ध्यानाकर्षण भएको जनाएको हो ।
उद्योगी व्यवसायीको गिरफ्तारीका घटनाक्रमहरूले निजी क्षेत्रमाथि अनावश्यक दबाब र भयको वातावरण सिर्जना हुँदा व्यवसायिक वातावरण असर गर्ने संघको भनाई छ । ‘धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा थप अनुसन्धान गर्ने क्रममा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छालाई अनावश्यक रूपमा दुःख, हैरानी तथा मानमर्दन हुने गरी हिरासतमा राखी अनुसन्धान गरिएको कार्यप्रति यस संघ कडा विरोध व्यक्त गर्दछ,’ संघका अध्यक्ष दिनेश श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दोषी कोही उम्कनु हुँदैन, तर निर्दोषमाथि अन्याय पनि हुनु हुँदैन ।’
वित्तीय प्रकृतिका अभियोग र फौजदारी अभियोगलाई फरक व्यवहार गर्नुपर्ने संघको माग छ । जोखिम लिएर देशमा लगानी रहेकै अवस्थामा स्थान छोडेर जाने सम्भावना नभइ हिरासतमा राख्न नहुने संघको तर्क छ । यस्ता प्रकृतिका मुद्दामा पहिला सम्बन्धित पक्षलाई सुन्ने, अनुसन्धानमार्फत तथ्य प्रमाणित गर्ने र दोष पुष्टि भएपछि मात्र कानुनी प्रक्रिया अगाडि बढाउने विधि अवलम्बन गर्न संघले सरकारसँग आग्रह गरेको छ ।
अहिलेको अभ्यास अनुसार अनुसन्धानकै क्रममा उद्योगी–व्यवसायीहरूलाई थुनामा राख्ने, बैंक खाता रोक्का गर्ने तथा व्यवसायिक गतिविधि अवरुद्ध गर्ने कार्यले समग्र आर्थिक वातावरणमा नकारात्मक असर पार्ने भन्दै संघले निजी क्षेत्रको मनोबल कमजोर पार्ने तथा लगानीमैत्री वातावरणलाई प्रभावित बनाउन नहुने बताएको छ ।
देशभरका सम्पूर्ण उद्योगी व्यवसायीहरूलाई एकजुट भई आफ्नो हक, अधिकार र सम्मानको संरक्षण गर्न आग्रह गर्दै संघले समग्र निजी क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा गरेको योगदानको कदर जरुरी रहेको भन्दै गोल्छालाई अविलम्ब हिरासतमुक्त गरी हाजिरी जमानीमा अनुसन्धानको माग गरेको छ ।












प्रतिक्रिया