कृषि क्षेत्रमा बैंकहरूको लगानी सुस्त, नौ महिनामा करिब १० अर्बले घट्यो कर्जा प्रवाह


काठमाडौँ । कृषि क्षेत्रमा बैंकको लगानी सुस्त हुँदै गएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ९ महिनामा कृषि कर्जा प्रवाह ९ अर्ब ७९ करोड ४६ लाख रुपैयाँले घटेको छ ।

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा कृषि कर्जा प्रवाहमा २.३ प्रतिशतको गिरावट आएको हो ।

यसरी कृषि उत्पादनमूलक क्षेत्रमा बैंकहरूको लगानी खुम्चिँदै जानुले मुलुकको अर्थतन्त्र र कृषि व्यवसायीकरणको लक्ष्यमा चुनौती थपेको जानकारहरूको भनाई छ ।

गत असार मसान्तसम्ममा कृषि क्षेत्रमा ४ खर्ब १७ अर्ब ८८ करोड रुपैयाँ बराबरको ऋण लगानी भएकोमा चैत मसान्तसम्म आइपुग्दा यो रकम घटेर ४ खर्ब ८ अर्ब ९ करोड रुपैयाँमा सीमित भएको छ । यस अवधिमा बैंकहरूले कृषि क्षेत्रमा नयाँ ऋण प्रवाह गर्नुको सट्टा करिब ९ अर्ब ७९ करोड रुपैयाँ बराबरको पुरानो ऋण असुली गरेको देखिन्छ ।

अघिल्लो वर्षको सोही अवधिमा कृषि कर्जाको वृद्धिदर १.६ प्रतिशतले धनात्मक हुँदा ऋण लगानी ६ अर्ब ६३ करोड ९८ लाख रुपैयाँले बढेको थियो । चालु आर्थिक वर्षमा कर्जा प्रवाह ऋणात्मक हुनुले बैंकिङ क्षेत्रमा कृषि कर्जाप्रति उत्साह घटेको स्पष्ट हुन्छ ।

कृषि अन्तर्गतका विभिन्न उपक्षेत्रहरूमध्ये पशुपालन र त्यससँग सम्बन्धित सेवाहरूमा सबैभन्दा धेरै १ खर्ब ४९ अर्ब ७३ करोड रुपैयाँ ऋण लगानी भएको छ । यद्यपि यो क्षेत्रमा पनि अघिल्लो वर्षको तुलनामा लगानीको मात्रा केही घटेको पाइएको छ । गत आवको तुलनामा चालु आवमा यस उपक्षेत्रमा भएको लगानीमा ०.२ प्रतिशतले कमि आएको छ ।

त्यसैगरी अन्नबाली तथा नगदे बाली लगाइने खेतीपातीका लागि प्रवाह भएको ऋण ७८ अर्ब २३ करोड रुपैयाँ रहेको छ, जसमा करिब साढे ४ प्रतिशतको गिरावट आएको छ । वन पैदावार र माछापालनका क्षेत्रमा पनि करिब ३ अर्ब २४ करोड रुपैयाँ बराबरको ऋण परिचालन भएको छ । यो उपशीर्षकको कर्जा प्रवाहमा पनि ०.५ प्रतिशतले गिरावट आएको छ ।

तर चिया खेतीका लागि दिइने ऋणमा भने केही सुधार देखिएको छ । चिया क्षेत्रको ऋण ४.३ प्रतिशतले वृद्धि भई ३ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ ।

प्रत्यक्ष रूपमा गरिने कृषि कर्ममा ऋणको मात्रा घटे पनि कृषिमा आधारित उत्पादनमूलक उद्योग र प्रशोधनका क्षेत्रमा भने लगानी केही बढेको पाइएको छ । कृषि तथा वन पैदावार उत्पादन शीर्षक अन्तर्गतको ऋण प्रवाह यो अवधिमा १४.३ प्रतिशतले बढेर ४४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । यसले बैंकहरू प्रत्यक्ष खेतीपातीभन्दा पनि कृषिजन्य सामग्रीको प्रशोधन र उद्योगतर्फ बढी आकर्षित हुँदै गएको देखिन्छ । कच्चा उत्पादनमा जोखिम बढी हुने र उद्योगमा तुलनात्मक रूपमा सुरक्षा हुने भएकाले बैंकहरूको लगानीको दिशा बदलिएको देखिन्छ ।

अघिल्ला वर्षहरूमा कर्जा प्रवाह उत्साहित भएको तर पछिल्लो समय कर्जा असुली मात्रै भएकोले कृषि क्षेत्रमा लगानी कम देखिएको बैंकहरूको भनाई छ । राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेल भन्छन्, “कर्जा नियमअनुसार असुली भएको तर थप लगानी नभएको हुँदा कृषि क्षेत्रको लगानी ऋणात्मक देखिएको हो । पहिले समग्र कर्जा प्रवाह १८ देखि २० प्रतिशत हुँदा कृषि क्षेत्रमा पनि बढी जान्थ्यो, तर अहिले समग्र कर्जा प्रवाह नै सुस्त हुँदा यस क्षेत्रमा पनि घटेको देखिएको हो ।”

कृषि कर्जामा आएको यो गिरावटको मुख्य कारण सरकारले सहुलियतपूर्ण ब्याज अनुदानमा गरेको कडाइ र बैंकहरूले कृषि क्षेत्रमा महसुस गरेको जोखिम रहेको सरोकारवालाहरूको भनाई छ ।

धेरैजसो कृषि ऋण वास्तविक किसानसम्म नपुगी अन्य क्षेत्रमा प्रयोग भएको र खराब कर्जा बढ्दै गएको कारणले पनि बैंकहरू थप लगानीमा रक्षात्मक देखिएको विज्ञहरूको भनाई छ । बैंक तथा वित्तीय संस्थाहरूलाई आगामी २०८५ साल असार मसान्तसम्ममा आफ्नो कुल कर्जा प्रवाहको १५ प्रतिशत कृषि क्षेत्रमा अनिवार्य पु¥याउनुपर्ने नियामकीय व्यवस्था रहेकोमा राष्ट्र बैंकले त्यो सीमा घटाएर १० प्रतिशतमा झारेको छ । यसरी सीमा घटाएपछि कृषि क्षेत्रतर्फ जाने कर्जा झनै घट्न सक्ने सरोकारवालाहरू बताउँछन् ।

साना किसानले समयमा ऋण नपाउने, झन्झटिलो प्रक्रिया र बैंकहरूको सहर केन्द्रित सोचका कारण कृषि कर्जा प्राथमिकतामा पर्न नसकेको सरोेकारवालाहरूको गुनासो छ । साना तथा अर्ध व्यवसायिक किसानहरुलाई व्यवसायिक योजना (प्रपोजल) बनाउने, आवश्यक सरकारी सिफारिस जुटाउने र पटकपटक बैंक धाउने प्रक्रिया नै जटिल र महँगो रहेको किसानहरूले गुनासो गर्दै आएका छन् ।

काठमाडौंमा घर र घडेरीको व्यवसाय भएकाले कृषि फर्मको नाममा करोडौं कर्जा लिने जस्ता वेथितिका कारण पनि वास्तविक किसानको पहुँचमा ऋण नपुगेको जानकार बताउँछन् । वास्तविक किसानसम्म सहुलियतपूर्ण ऋण पुग्ने वातावरण नमिल्दासम्म उपभोग्य कर्जाको दबदबा कायमै रहने र कृषिको उपेक्षा भइरहने उनीहरूको भनाइ छ ।

कृषि अर्थविद् देवेन्द्र गौचनका अनुसार जब बैंकहरूले उत्पादनशील कृषिमा लगानी गर्दैनन्, स्वदेशी उत्पादन घट्छ र अन्ततः बजार आयातित सामानकै भरमा चल्छ । यसले एकातिर व्यापार घाटा बढ्ने र अर्कोतिर ग्रामीण अर्थतन्त्र झनै कमजोर बन्दै जाने उनी बताउँछन् ।

“कृषिमा लगानी नगर्नु भनेको आत्मनिर्भर अर्थतन्त्रको जग कमजोर बनाउनु हो,” उनले भने । कृषि उत्पादनमा वृद्धि भएमा मात्र औद्योगिक उत्पादनमा पनि वृद्धि हुने बताउँदै उनी भन्छन्, “कृषि उत्पादनमा वृद्धि भएमा त्यो उत्पादित वस्तुलाई उद्योग मार्फत प्रशोधन गरेर निर्यात बढाउन सकिन्छ, त्यसैले कृषि क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको छ ।

यसका साथै उत्पादन लागत महँगो र प्रतिफलको सुनिश्चितता नहुँदा किसानहरू कर्जा लिन डराइरहेका बैंकहरूको भनाई छ । किसानले उचित मूल्य नपाउने र बजारमा बिचौलियाको कब्जा हुनुले व्यावसायिक कृषिको आकर्षण घटेको उनीहरुको भनाई छ । साथै अझै पनि कृषि प्रणाली व्यावसायिक हुनुको साटो जीविकोपार्जनमा मात्र सीमित हुँदा पनि यो क्षेत्रमा हुने कर्जा लगानी बढ्न नसकेको विज्ञहरूको भनाई छ ।

प्रकाशित मिति: ५ जेष्ठ २०८३, मंगलबार  ०९ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।