१० वर्षपछि पुनः युएईमा घरेलु कामदार पठाउने तयारी


काठमाडौँ । नेपालले संयुक्त अरब इमिरेट्स (युएई) मा घरेलु कामदार पठाउन सम्झौता गर्ने तयारी गरेको छ ।

नेपाली घरेलु कामदार पठाउने सम्बन्धमा सम्झौता गर्न दुवै देशले प्रस्ताव आदानप्रदान गरी छलफल अघि बढाएको बताइएको छ ।

तत्कालीन श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले २०७१ साल भदौ ११ गते ‘अर्को नीतिगत निर्णय नभएसम्म’ भन्दै मलेसिया, कतार, युएई, ओमान, बहराइन र साउदी अरबमा घरेलु कामदार पठाउन रोक लगाएको थियो ।

फेरि २०७७ असोजको दोस्रो साता संसदीय समितिले निर्देशन सच्याएको थियो । नेपालले २०७२ सालदेखि नै जोर्डन तथा इजरायलमा मात्रै घरेलु कामदार पठाउँदै आएको छ ।

घरेलु कामदारका रूपमा गएका नेपाली महिलामाथि हिंसा र शोषण भएको भन्दै अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले प्रतिबन्ध लगाउन निर्देशन दिएको थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव महेश पराजुलीले युएईमा घरेलु कामदारको विषयको छलफललाई तीव्रता दिइएको बताए ।

उनले भने, ‘हामीले युएईमा परीक्षणका रूपमा घरेलु कामदार पठाउनका लागि सम्झौताको खाका कोरेका छौँ । यद्यपि कामदार पठाउने नपठाउने भन्नेबारे निष्कर्षमा पुगेका छैनौँ । छिट्टै निष्कर्षमा पुग्ने तयारीका साथ लागिपरेका छौँ ।’

दुई चरणको बैठक सकारात्मक भएको बताउँदै उनले भने, ‘दुई देशबीच सम्झौताको मस्यौदा आदानप्रदान पनि भइसकेको छ ।’

घरेलु कामदारको सुरक्षाबारे चिन्ता व्यक्त भएर सरकारले नै प्रतिबन्ध लगाएकाले सुरुमा परीक्षणका लागि कामदार पठाउने सम्झौता गर्ने प्रक्रिया थालिएको हो ।

‘उनीहरूको प्रस्ताव र हाम्रो माग मिलेमा प्रतिबन्ध खुला गर्न सक्छौँ,’ पराजुलीले भने, ‘ती प्रस्तावहरूमा सहमति जुटे नेपालबाट चाँडै नै घरेलु कामदार युएई जान पाउँछन् ।’

नेपालले प्रस्ताव गरेको सम्झौतामा घरेलु कामदारलाई राख्न ‘होस्टल’ वा सामूहिक आवासको व्यवस्था गर्नुपर्ने उल्लेख छ । घरेलु कामदारको न्यूनतम पारिश्रमिक मासिक ४०० अमेरिकी डलर अर्थात् करिब ५४ हजार रुपैयाँ हुनुपर्ने प्रस्ताव उक्त मस्यौदामा गरिएको छ ।

युएई नेपाली श्रमिकहरूको आकर्षक गन्तव्यमध्येको एक हो । यो मुलुकमा ठुलो संख्यामा नेपाली श्रमिकहरू पुग्ने गरेका छन् ।

तर, यो मुलुकमा श्रमिकहरूको सुरक्षाको विषयमा पनि प्रश्न उठ्दै आएको छ । त्यहाँ जाने नेपाली श्रमिकले विभिन्न कारणले ज्यान गुमाउनुपर्ने तथा अंगभंग भएर फर्कनुपर्ने भयावह अवस्था छ ।

बिनाप्रावधान घरेलु कामदार पठाउँदा नेपाली श्रमिक झनै अप्ठ्यारोमा पर्ने सरोकारवालाहरू बताउँछन् ।

कति जान्छन् युएई ?

युएई पछिल्लो समय वैदेशिक रोजगारीका लागि रोजाइमा पर्ने गरेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक रोजगारीका लागि ७ लाख ४१ हजार २९७ जना नेपाली गएका छन् । यो नयाँ र पुनः श्रम स्वीकृति लिएर जाने दुवैको संख्या हो ।

त्यसमध्ये युएईमा मात्रै १ लाख ९३ हजार ४३८ जना गएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ । जसमध्ये १ लाख ६६ हजार ४ जना पुरुष छन् भने २७ हजार ७३४ जना महिला कामदार युएई गएका छन् ।

आर्थिक वर्ष २०८०/८१ मा १४९ देशमा श्रम स्वीकृति लिएर नेपाली कामदार गए पनि युएई नै रोजाइमा परेको छ ।

यस्तै, आर्थिक वर्ष २०७९/८० मा कुल ७ लाख ७१ हजार ३२७ जना बाहिरिँदा युएईका लागि १ लाख १६ हजार १५९ जना गएका छन् । जसमध्ये ९२ हजार ६८ जना पुरुष छन् भने २४ हजार ९१ जना महिला छन् ।

वार्षिक १ हजार नेपाली परदेशमै अस्ताउँदै

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रकाशित गरेको ‘नेपाल श्रम आप्रवासन प्रतिवेदन–२०२२’ अनुसार युएईमा सन् २०१९–२० देखि २०२०–२२ सम्ममा ४९६ जनाले ज्यान गुमाएका छन् ।

वैदेशिक रोजगारमा गएकाहरूमध्ये औसतमा वार्षिक १ हजार जनाले ज्यान गुमाउने गरेका छन् । जसमध्ये गत वर्ष सबैभन्दा धेरै हृदयघातबाट १९९ जनाको मृत्यु भएको छ । त्यस्तै १९२ जनाको आत्महत्या, १५७ जनाको प्राकृतिक मृत्यु, १५७ जनाको सडकमा दुर्घटनाबाट ज्यान गुमेको छ । त्यस्तै ९२ जनाको अन्य कारण र ४६ जनाले कार्यस्थल दुर्घटनामा ज्यान गुमाएका छन् ।

सरकारले प्रतिबन्ध लगाएका देशहरूमा पनि अवैध तरिकाले जाँदा वा सोचे अनुसारको काम नपाउँदा हतोत्साहित भएका कारण हृदयघात र आत्महत्या गर्नेको संख्या बढेपछि बर्सेनि वैदेशिक रोजगारीका क्रममा नेपालीको मृत्युदर बढेको सरोकारवाला निकायले बताउँदै आएका छन् ।

यस्तै वैदेशिक रोजगारीमा जानेहरूको संख्यामा बढोत्तरीसँगै ज्यान गुमाउनेको संख्या पनि बर्सेनि बढ्दै गएको उनीहरूको तर्क छ ।

सरकारी तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/०८१ मा भने १ हजार ३४६ जनाले ज्यान गुमाएका छन् । यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा १ हजार ४७९ ज्यान गुमाएका थिए भने २०७९/०८० मा १ हजार ३० जनाले ज्यान गुमाएका थिए ।

ज्यान गुमाउनेमा सबैभन्दा धेरै मलेसिया र खाडी राष्ट्रहरूमा छन् । खाडीका राष्ट्रमा कतार, साउदी, युएई, कुबेत, ओमनमा श्रमिकको मृत्युदर धेरै छ ।