दसैँ र देश

मनै कुँड्याउने आँकडा : चाडबाडकै बेला काम खोज्दै ५३ हजार नेपालीले छाडे देश


काठमाडौँ । चाडबाडको समयमा पनि ५३ हजारभन्दा बढी नेपाली कामदार बिदेसिएका छन् । जुन नयाँ र पुनः श्रम स्वीकृति लिएर विदेश जाने नेपालीको संख्या हो ।

नेपालीका महान् चाड दसैँतिहारकाे मुखमा घरकाे जिम्मेवारीले थिचेका ५३ हजार ५२५ जना नेपाली श्रमिक राेजगारी खाेज्दै विभिन्न मुलुक गएका छन् ।

असोज महिनामा ४७ हजार ४४३ जना पुरुष र ६ हजार ८२ जना महिला गरी ५३ हजार ५२५ जना बिदेसिएका हुन् । जसमध्ये ३४ हजार १६९ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् । गत भदौमा ५७ हजार ४९३ जना नेपाली रोजगारीका लागि बिदेसिएका थिए ।

घटे मलेसिया जाने श्रमिक

यसैबीच, नेपालबाट मलेसिया जाने श्रमिकको संख्यामा गिरावट आएको छ । असोज महिनामा १ हजार ३१४ जनाले मलेसियाका लागि श्रम स्वीकृति लिएका छन् ।

मलेसियाले जेठ १८ अर्थात् मे ३१ देखि लागू हुने गरी आप्रवासी श्रमिकलाई रोक लगाउने निर्णय गरेको थियो । मलेसियाले आप्रवासी श्रमिकलाई रोक लगाएसँगै उक्त देश जानेको संख्या घटेको हो ।

श्रम बजारमा आप्रवासी श्रमिकको संख्या बढी भएको भन्दै मलेसियन सरकारले मे मसान्तसम्म आप्रवासी श्रमिकलाई प्रवेश दिने र त्यसपछि रोक लगाउने घोषणा गरेको थियो ।

मलेसियाको गृह मन्त्रालयले नेपालसहित १५ देशका नागरिकलाई मे मसान्तपछि प्रवेश नदिने भन्दै सूचना जारी गरेको थियो । यद्यपि, मलेसियाले सेक्युरिटी गार्डलाई भने मलेसिया प्रवेशमा रोक नलगाएका कारण उक्त संख्यामा श्रमिक बिदेसिएका हुन् ।

श्रमिकको रोजाइमा पर्‍यो युएई

वैदेशिक रोजगार विभागका अनुसार असोजमा सबैभन्दा धेरै युएई गएका छन् । पछिल्लो १ महिनामा युएईका लागि १७ हजार ७२४ नेपाली विदेश गएका छन् । जुन नयाँ र पुनः श्रम स्वीकृति लिनेको संख्या हो ।

त्यस्तै साउदीमा १० हजार ४६८, कतारमा ९ हजार ७९८ र कुवेतमा ३ हजार ८०७ श्रमिक वैदेशिक रोजगारीका लागि गएका छन् ।

यस्तै, जापानमा १ हजार २९९ जना, चीनमा १ हजार ३१४ जना, बहराइनमा ७२६ जना, क्रोएसियामा ७८३ जना नेपाली कामको खोजीमा बाहिरिएका छन् ।

कुन जिल्लाबाट कति गए ?

असोज महिनामा सबैभन्दा धेरै धनुषाबाट वैदेशिक रोजगारीमा गएका छन् । असोजमा धनुषाबाट २ हजार ९४४ जना बिदेसिएका छन् भने सिरहाबाट २ हजार ३४१ जना बाहिरिएका छन्

यस्तै, झापाबाट २ हजार ५४५ बाहिरिँदा मोरङबाट २ हजार १८६, महोत्तरी २ हजार ८९, सुनसरी १ हजार ८२८ जना वैदेशिक रोजगारीमा गएका छन् ।

१३ हजार अदक्ष श्रमिक बिदेसिए

नेपालबाट असोजमा बिदेसिने श्रमिकमध्ये १३ हजार ४३८ जना अदक्ष श्रमिक छन् । विभागका अनुसार असोजमा बिदेसिनेमध्ये ३३ हजार ९१९ हजार श्रमिक दक्ष छन् ।

यस्तै असोज महिनामा ५ हजार ७६३ जना अर्धदक्ष श्रमिक बिदेसिएका छन् भने व्यावसायिक सीप भएका ३३० जना गएका छन् । उच्च दक्षता हासिल गरेका ७५ जना श्रमिक कामको खोजीमा विभिन्न मुलुक पुगेका छन् ।

प्रकाशित मिति: ८ कात्तिक २०८१, बिहीबार  १४ : ४० बजे