एनआरएन इन्फ्रास्ट्रक्चरको शेयर कारोबार : बाँदर अनि बाख्राको कथा


एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणमा निष्काशन गरेको प्राथामिक शेयर सूचीकरणपछि दोस्रो बजारमा हालसम्म ११ दिन मात्र कारोबार भएको छ । यो अवधिमा कम्पनीको प्रतिकित्ता शेयर मूल्य कारोबार सुरु भएको मूल्यबाट २८४ रुपैयाँसम्म बढेर ५९० रुपैयाँसम्म पुग्यो ।

एनआरएनको ११ दिनको कारोबारमा सुरुका ६ दिन निरन्तर १० प्रतिशतले बढ्यो । नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा सूचीकरण भएपछि पहिलो पटक कारोबार सुरु हुदाँ ३०६ रुपैयाँमा सुरु भयो ।

नेप्सेमा कारोबार भएका सुरुका ६ दिनसम्म निरन्तर १० प्रतिशतका दरले शेयर मूल्य बढेको थियो । तर, नेप्सेमा कारोबार भएको सातौं दिन देखि लगातार ४ दिन सोही गतिमा शेयर मूल्य घट्न थाल्यो । सुरुका ६ दिनमा निरन्तर बढेर प्रतिकित्ता ५९० रुपैयाँसम्म पुगेको थियो । त्यसपछि घट्न थालेको कम्पनीको प्रतिकित्ता शेयर मूल्य ३१९ रुपैयाँमा झरेको थियो ।

यसरी लगानीकर्ताको समुहले एनआएरनको शेयर कर्नरिङ्ग गरेर माग र आपूर्तिको सन्तुलनालाई बिगार्ने काम गर्ने र शेयरमूल्य चलखेल गर्ने प्रयास भएको छ । निरन्तर बढेको एनआरएनको शेयर मूल्य उच्च दरमा घटेको थियो । तर, पछिल्लो दिन अर्थात यो साता नेप्सेमा कारोबार भएको अन्तिम दिन बिहीबार भने पनि बढ्ने गतिमा देखिएको छ । सो दिन कम्पनीको शेयरमूल्य सर्किट मूल्य ३१९ रुपैयाँसम्म घटेर पुनः सर्किट मूल्यमा बढेर प्रतिकित्ता ३८९ रुपैयाँमा कारोबार बन्द भयो ।

सूचीकरण भएपछि कारोबार सुरु भएको ११ दिनमा एनआरएनको शेयर कारोबार बाँदर र बाख्राको चर्चित कथा जस्तै भएको छ । बाँदर र बाख्रा सस्तो दरमा खरिद गरेर एक व्यक्तिले धेरै संख्यामा सञ्चित गर्दै अन्तिममा कारोबारीबाट नै कृतिम माग सिर्जना गराई महङ्गोमा किसानलाई नै बिक्री गरेको अवस्थासँग ठ्याक्कै मेल खाएको देखिन्छ ।

एनआरएनको शेयर कारोबार र बाँदरको कथा

ललाङटार गाउँका किसान बाँदरको अनियन्त्रित क्रियाकलापबाट आजित थिए । ठूलो संख्यामा भेला भएर किसानहरु बाँदरबाट अन्नपात जोगाएर आम्दानी कसरी गर्न सकिन्छ भनेर छलफल गर्ने गर्दथे । परम्परागत खेतीले को पो धनी हुन सक्थ्यो र ? उनीहरुको छलफल औपचारिकतामा मात्र सीमित हुन्थ्यो ।

********************

मकैबाली गोडमेल गरेपछि फेरि बाँदरको समस्याको विषयलाई लिएर गाउँमा किसानहरुको भेला भयो ।

“बाँदर किन्ने मान्छे आए पनि हुन्थ्यो नि ।” शेरबहादुरले पीडा पोख्यो ।

“तल बजारमा अस्ति खुलेको एउटा नयाँ कम्पनीमा बाँदरको विषयमा निकै चर्चा हुन्छ रे । कुरो के हो बुझ्न जाने हो कि ?” बलबीर बोल्यो ।

“कुरा ठिक हो । एक पटक जाऔं” सबैले एक स्वरमा सहमति जुटाए ।

********************

“हजुर, हामी यो कम्पनीको प्रमुख जीवन बिक्रम सरलाई भेट्न आएका ।” (हुल बाँधिएर गएका किसानको भीडबाट बलबीरले रिसेप्सनमा बसेकी गहुँगोरी युवती (निशा) लाई जिज्ञासा राख्यो ।

“एकछिन पर्खिनुहोस है, म सरलाई तपाईहरु आउनु भएको कुरा सुनाउँछु ।”

केही बेरको प्रतिक्षा पछि …

“तपाईहरुलाई सरले भित्र बोलाउनु भएको छ ।” गाउँले किसानको नेतृत्व गरिरहेको बलबीरलाई निशाले भित्र जान संकेत गर्दै भन्छिन् ।

“नमस्ते सर ।” केही भित्र पसेर एउटा तला माथि चढेपछि बायाँ तर्फको सुविधा सम्पन्न कोठामा पुगेर सबैले सामुहिक रुपमा जीवन बिक्रमलाई नमस्ते गर्छन् ।

“नमस्ते नमस्ते, आराम हुनुहुन्छ ?”

“हजुर आराम छौं । हामी सानो सहयोग माग्न आएका ।” बलबीरले जवाफसँगै सहयोग माग्यो ।

“कस्तो सहयोग ?”

“बाँदरका कारण मकैबाली जोगाउन हम्मे हम्मे पर्यो । हाम्रो आम्दानीको स्रोत कसरी जोगाउने होला ?” खचाखच भरिएको कोठाको कुनामा भुँईमा टुसुक्क बसेको शेर बहादुरले आफ्नो अघिल्तिर रहेको भीडभन्दा अगाडि बडेमानको कुर्सीमा बसेको जीवन बिक्रमलाई समस्या पोख्यो ।

कुर्सी घुमाउँदै जीवन बिक्रम बोले, “हामीलाई एउटा विदेशी औषधी कम्पनीले औषधीको परीक्षण गर्न बाँदर माग गरेको छ । तपाईहरु बाँदर जम्मा गर्न सक्नु हुन्छ त ?”

“सर हामी बाँदर जम्मा गर्न तयार छौं ।” एक स्वरमा सबैले जवाफ दिए ।

बाँदर जम्मा गरेर बिक्री गर्दा आम्दानी पनि हुने, अर्कातिर बाली पनि जोगिने भएपछि किसानहरु हौसिनु स्वभाविक थियो ।

“हामीलाई चाहिए जति बाँदर ल्याइदिनु हुन्छ भने एउटा बाँदरको १ हजार रुपैयाँ दिन्छौं । बाँदर पनि सकिने, तपाईहरुको आम्दानी पनि हुने, मकैबाली पनि जोगिने ।” जीवन बिक्रमले सबै किसानलाई आश्वास्त पार्न खोजे ।

भुँईमा बसेका किसानको भिडको मध्य भागबाट बलबीरले थप्यो, “बाँदर मुला जति पनि छन् नि गाउँमा, तपाईले किन्ने पक्का हो भने हामी जति पनि बाँदर ल्याउन सक्छौं ।”

बलबीरको आवाज बन्द नहुँदै सबैको मुखबाट सामुहिक आवाज निस्कियो, “हो सर हामी बाँदर जम्मा गरेर ल्याउन तयार छौं ।”

********************

गाउँलेहरु बाँदर खोज्न जंगल पसे । पाँसो थाप्ने, अरु अनेक उपाय लगाउने गरेर गाउँलेहरुले एक सातामा ३३५ वटा बाँदर जम्मा गरे । बाँदर जम्मा गरेर जीवन बीक्रमलाई गाउँलेहरुले खबर गरे ।

जीवन बीक्रमको कम्पनीका व्यक्तिहरु बाँदर जम्मा गरिएको ठाउँमा पुगेर गाउँलेलाई प्रति बाँदर १ हजार रुपैयाँको दरले एकमुष्ट ३ लाख ३५ हजार रुपैंया बुझाए अनि बाँदर लिएर गाउँबाट बाहिरिए ।
गाउँलेहरुले पनि दामाशाहीले सबै पैसा एक आपसमा बाँडे ।

…एनआरएन इन्फ्रास्ट्रक्चरको शेयर किन्नेको भीड, सर्किट मूल्यमा ४६ हजार कित्ता कारोबार…

बाँदर बेचेको अवसरमा गाउँमा भोज चल्यो । एक बोतल खानेले दुई, तीन बोतल समेत रित्याए । गरिबीको चक्र न हो, केही समयमा नै सबैको गोजी रित्तियो ।

********************

करिब १५ दिन पछि जीवन बिक्रम किसानको गाउँमा पुगे । सबै गाउँलेलाई एकै स्थानमा भेला गराएर उनले भने, “हामीलाई अरु ३ हजार वटा बाँदर चाहिने भयो ।” किसानहरुलाई मख्ख पार्दै उनले फेरि आव्हान गरे, “अब हामी तपाईहरुलाई एउटा बाँदर वापत २ हजार रुपैंया दिन्छौं ।”

“हुन्छ सर, हामी तपाईलाई चाहिए जति बाँदर ल्याईदिन्छौं ।” यति भनेर सबै गाउँले फेरि उत्साहका साथ बाँदर खोज्न जंगलतर्फ लागे ।

…एनआरएन इन्फ्रास्ट्रक्चरको शेयरमूल्यमा ५ मिनेटमै सकारात्मक सर्किट, ३ लाख बढी कित्ता माग…

आफ्नो गाउँमा सबै बाँदर सकिएका थिए । आसपासका गाउँमा गएर धेरै दिन लगाएर गाउँलेहरुले जम्मा ५०० वटा मात्र बाँदर जम्मा पारे । बाँदर जम्मा भएको खबर पाए पछि जीवन बिक्रमका मानिसले गाउँलेलाई एकमुष्ट १० लाख रुपैयाँ बुझाएर बाँदर लिए ।

३ हजार बाँदर माग गरिएकोमा ५०० मात्र जम्मा भएपछि जीवन बिक्रम तत्काल गाउँमा पुगेर गाउँलेलाई भने, “ तपाईहरुले मागेजति बाँदर ल्याउन सक्नु भएन । अब तपाईहरुले जति बाँदर ल्याउनु हुन्छ, प्रत्येक बाँदर वापत ५ हजारको दरले पैसा पाउनु हुन्छ । औषधीको परीक्षणका लागि धेरै बाँदर आवश्यक परेको छ ।”

“अझै ल्याउने ? हुन्छ भैहाल्छ नि ।” आफ्नो गाउँमा मात्र नभएर आसपासका गाउँका सबै बाँदर पनि सकिसकेको अवस्थामा थप बाँदर कहाँबाट ल्याउने चिन्ता मनमा बोकेर शेर बहादुरले जीवन बिक्रमको आश्वासनमा सहमति जनाए ।

“म केही दिनलाई बाहिर जाँदै छु । त्यस बेलासम्ममा बाँदर तयार गर्नु होला । फर्किएर आए पछि बाँदर ल्याइदिनु होला ।” उत्साहित मुद्रामा जीवन बिक्रमले भने ।

********************

सबै जना फेरि बाँदर खोज्न टाढा टाढासम्म गए । तर कतै बाँदर फेला पार्न सकेनन् । सबै बाँदर पहिले नै बिक्री भैसकेका थिए । बाँदर नपाएर आजित बनिरहेका बेला गाउँमा पुगेका २ जना युवाहरुले गाउँलेलाई चिन्तित हुनुको कारण बारे सोधे ।

गाउँमा पहिले कहिल्यै नदेखिएका युवालाई शेर बहादुरले तत्काल जवाफ फर्कायो, “हामीले गाउँका मात्र नभएर अरु गाउँका समेत बाँदर बेचिसक्यौं । अहिले राम्रो मूल्यमा अझै बाँदरको माग भएको छ । तर कतै बाँदर नपाएर हामी अलमलमा परेका छौं ।”

गाउँलेको कुरा सुनिसकेपछि एउटा युवाले झटपट प्रस्ताव गर्यो, “हामी तपाईहरुलाई चाहिए जति बाँदर दिन सक्छौं । तर हामीलाई एउटा बाँदरको ४ हजार रुपैयाँ दिनुपर्छ ।”

एनआरएन इन्फ्रास्ट्रक्चरको शेयरमा सर्किट, उच्च मूल्यमा ७८ हजार कित्ता माग…

४ हजारमा किनेर ५ हजारमा बेच्न पाउँदा १ हजार रुपैयाँ नाफा नै हुने भएकाले तत्काल गाउँलेहरुले युवाको प्रस्तावलाई स्वीकार गर्दै भने, “ हुन्छ १ हजार बाँदर एक साता पछि ल्याइदिनुस् ।”

हर्षित हुँदै सबै गाउँले आआफ्नो घर फर्किए ।

युवाहरुको प्रस्ताव बमोजिम ऋण खोजेर, परिवारका गहना बन्धक राखेर पहिले बाँदर बेच्दा बचेका पैसामा थप थाप गरी गाउँलेले युवाहरुलाई पैसा जम्मा भएको खबर पठाए ।

युवाहरु पनि सबै बाँदर लिएर गाउँमा पुगे । २ जना युवाबाट ४ हजार रुपैयाँको दरमा गाउँलेले ८३५ वटा बाँदर किने ।

एनआरएन इन्फ्रास्टक्चरको शेयरमा चलखेल हुँदा एकैदिन प्रतिकित्ता १०६ रुपैयाँसम्म नोक्सानी

********************

बाँदर किनेको १५ दिन बित्न लाग्दा समेत जीवन बिक्रम सम्पर्कमा आएनन् । तल बजारमा रहेको जीवन बिक्रमको कार्यालय पनि बन्द थियो । बाँदर किन्ने प्रतिबद्धता जनाएका कोही पनि नदेखेपछि गाउँलेलाई आपत्ति आईलाग्यो ।

एनआरएनको शेयर कर्नरिङले मूल्यमा तीब्र उतार(चढाव, यस्तो छ पूरा विवरण…

महिना दिनसम्म पनि कोही सम्पर्कमा नआएपछि गाउँलेहरु बाँदर पाल्न नसक्ने अवस्थामा पुगे ।

“जे हुनु भयो, हामीलाई जीवन सरले फसाए । अब सबै बाँदरलाई जंगलमा लगेर छाड्नुको विकल्प छैन ।” गाउँलेको भेलामा बलबीरले भन्यो ।

जीवन बिक्रमको कम्पनीले गाउँलेलाई फसाएर भागेको निष्कर्ष निकाल्दै सबै बाँदर जंगलमा लगेर छाडियो ।

आफैँले बेचेका बाँदर महँगो मूल्यमा किन्दा लागेको ऋण तिर्न गाउँलेहरुसँग कुनै विकल्प थिएन । बाँदरको व्यापारमा लाग्दा खेतीपाति पनि भएन । अब कसरी जीवन धान्ने ? गाउँलेहरु गहिरो चिन्तामा परे ।

********************

एनआरएनको शेयर कारोबार र बाख्राको कथा

“राम्रो व्यापार बाख्राको छ, फाइदा पनि राम्रो हुन्छ ।”

बाँदरको चक्करमा लाग्दा परेको नोक्सानको समीक्षा भेलामा गाउँलेले बाख्रा व्यापारमा लाग्ने सहमति जुटाए ।

सहमति अनुसार अलि टाठो बाठो भएका कारण बाख्रा व्यापारको नेतृत्व बलबीरले लियो ।

“गाउँमा भएका सबै बाख्रा शहरमा बिक्री गर्न लैजानुपर्छ । ५ हजार रुपैयाँका दरले गाउँका बाख्रा किन्ने प्रस्ताव शहरबाट आएको छ ।” केही दिनपछि बलबीरले गाउँलेहरुलाई भन्यो ।

गाउँमा ३ हजारमा बिक्री हुन नसकिरहेका बाख्रा ५ हजारमा बिक्री हुने भए पछि गाउँले उत्साहित बने । बलबीरको प्रस्ताव आउने बित्तिकै सबै गाउँलेहरु बाख्रा संकलन गर्न गाउँ पसे ।

…एनआरएन इन्फ्रास्टक्चरको शेयरमूल्यमा ‘बाउन्स ब्याक’…

********************

केही दिन पछि बाख्रा जम्मा पारेर गाउँलेहरु बलबीर भएको ठाउँमा पुगे ।

“एउटाको ५ हजार दिन्छु भन्थिस्, हामीले ४८५ वटा बाख्रा ल्याएका छौं ।” खुसी हुँदै गाउँलेले बलबीरको ध्यानाकर्षण गराए ।

बलबीरसँगै बसेको शहरबाट गएको बाख्रा व्यापारीले गाउँलेको बोली भुँईमा खस्न नपाउँदै ५ हजार रुपैयाँका दरले सबै बाख्राको पैसा गाउँलेलाई तिर्यो ।

नयाँ अनुहारको बाख्रा व्यापारीको भनाई बमोजिम बलबीरले फेरि गाउँलेलाई ८ हजार रुपैयाँका दरले बाख्रा ल्याउन भन्यो । अनि आफु पनि बाख्रा खोज्न गाउँलेसँगै गाउँ पस्यो ।

गाउँमा बाख्रा भेटिएनन् । अर्को गाउँबाट खाजेर गाउँलेले ३०० वटा बाख्रा जम्मा गरेर शहरबाट आएको व्यापारीलाई ८ हजारको दरमा बेचे ।

बाख्रा व्यापारीले १५ हजार रुपैयाँका दरले फेरि बाख्रा ल्याउन बलबीर मार्फत गाउँमा हल्ला पिटायो ।

एक कान दुई कान मैदान भएपछि सबैको समस्या एउटै थियो । ‘बाख्रा छैनन्, कसरी ल्याउने ?’

“व्यापारीसँग भएका सबै बाख्रा उसले थाहा नपाउने गरि अर्को माध्यमबाट १२ हजारका दरले ल्याउँछु । अनि हामी त्यो व्यापारीलाई १५ हजारको दरले बेचे हुन्न ?” बलबीरले सुटुक्क गाउँललेलाई प्रस्ताव गर्यो ।

बलबीरको प्रस्ताव अनुरुप गाउँलेले रातारात पहिले आफैँले बेचेका सबै बाख्रा १२ हजार रुपैयाँका दरले किने ।

भोलिपल्ट बाख्रा व्यापारीलाई बाख्रा जम्मा भएको खबर गर्न गएका गाउँलेले कसैलाई भेट्न सकेनन् । गाउँमा बलबीर पनि देखा परेन ।

पहिले बाँदरको चक्करमा लाग्दा धोका खाएका गाउँले अहिले बाख्रामा पनि ठगिए ।

********************

बिहीबारदेखि एनआरएन इन्फ्रास्ट्रक्चरको शेयरमूल्य बाउन्सव्याक भएर बढ्न थालेको छ । अहिले सो कम्पनीको शेयर कारोबार बाँदर किनबेचको चरण पार गरी बाख्रा किनबेचको चरणमा प्रवेश गरेको छ । अहिले एनआरएनको शेयर मूल्य बढाएर खरिद गर्दै उच्चतम विन्दुमा पुर्याउन सक्रिय हुनेहरु कथाको अन्तिममा बाख्रा व्यापारी हराए झैं शेयर बेचेर हराएका दिन उच्च मूल्यमा शेयर किन्ने लगानीकर्ता यो कथाको गाउँले पात्र जस्तै बन्नेछन् ।

********************

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।