काठमाडौँ । पश्मिना एकदम नरम, हल्का र अत्यधिक न्यानो हुने किसिमको ऊन हो । नेपालमा उत्पादित पश्मिनाको माग अन्तर्राष्ट्रिय बजारमा बढ्दै गएको छ ।
युरोप, अमेरिका, जापान, कोरियालगायत देशमा पश्मिनालाई विलासी वस्तुका रूपमा हेरिन्छ । नेपालको पश्मिना यी देशहरूमा निर्यात हुने गरेको छ ।
उद्योगीहरूका अनुसार सरकारले सहयोग, प्रविधि हस्तान्तरण र अन्तर्राष्ट्रिय बजारसम्म सीधा पहुँच सुनिश्चित गरियो भने पश्मिनाले उत्कृष्ट ब्रान्डका रूपमा स्थान बनाउने सम्भावना छ ।
३ प्रश्नको आजको अंकमा हामीले पश्मिना उद्योग संघका उपाध्यक्ष चीरञ्जीवी काफ्लेसँग पश्मिनाको उत्पादन, बजार व्यवस्थापनलगायत विषयमा कुरा गरेका छौँ ।
-
नेपालमा पश्मिना उत्पादनको अवस्था र सम्भावना कस्तो छ ?
पश्मिना उत्पादन त भइरहेकै छ । तर, माग घट्दो क्रममा छ । मेनपावरको अभावको अवस्था छ । पछिल्लो समय भइरहेको युद्धले पनि पश्मिनाको क्षेत्रमा ठुलो असर परेको छ ।
विगत ३ वर्षदेखि भइरहेको रुस–युक्रेन युद्धले सम्पूर्ण युरोपको व्यापारमा नै गम्भीर असर परेको छ । पछिल्लो समय सुरु भएको इरान–इजरायल युद्ध र यसमा अमेरिकाको प्रत्यक्ष संलग्नताले झन् त्रास थपिएको छ । यसले व्यापारमा ठुलो असर पर्ने देखिएको छ ।
पश्मिना अलि महँगो वस्तु हो । आर्थिक संकटको समयमा मानिसहरूले आधारभूत आवश्यकता पूरा गर्नै अप्ठ्यारो पर्ने भएकाले बढी मूल्य तिरेर वस्तु खरिद गर्ने अवस्था हुँदैन ।
केही मात्रामा कच्चा पदार्थ स्थानीय रूपमा उत्पादन हुन्छ । अरू चीन र मंगोलियाबाट पनि आयात गरिन्छ । नेपाली बजार पनि थोरै मात्रामा छ । बजारमा नक्कली उत्पादन पनि सस्तोमा बिक्री गरिन्छ । नेपाली ग्राहकहरू सस्तो वस्तुतिर आकर्षित हुन्छन् ।
-
यसको ब्रान्डिङ र बजार विस्तारका लागि संघले के पहल गरिरहेको छ ?
हामीले पश्मिनाको ब्रान्डिङ गरिराखेका छौँ । च्यांग्रा पश्मिना ब्रान्डिङ गर्न थालेको १६ वर्ष भइसकेको छ । स्वदेशी ग्राहकले च्यांग्रा पश्मिना हेरेर खरिद गरेमा नक्कली वस्तुबाट बच्ने सम्भावना हुन्छ ।
बजार विस्तार गर्न हामीले सरकारसँग माग गरिराखेका छौँ । तर, सरकारले पनि स्रोत व्यवस्थापनको अभावमा गर्न सकेको छैन । यदि गर्न सकेमा पश्मिनाको अन्तर्राष्ट्रिय बजार राम्रो छ ।
सरकारले नेपाली पश्मिनालाई अन्तर्राष्ट्रिय स्तरमा संरक्षणको व्यवस्था गर्ने, गुणस्तरको प्रमाणीकरणका लागि च्यांग्रा पश्मिना ट्रेडमार्क कडाइका साथ लागू गर्ने, अन्तर्राष्ट्रिय व्यापार मेलामा सहभागिता प्रोत्साहन गर्ने काम गरिदिनुपर्छ ।
-
समस्याको दीर्घकालीन समाधानका लागि के गर्नुपर्ला ?
यसमा अहिले मुख्य चुनौती भनेको बजार व्यवस्थापन हो । बजार व्यवस्थापनमा सरकारले पहल गरिदिनुपर्छ । बजारमा नक्कली पश्मिना उत्पादनले असली पश्मिनाको क्षति हुने अवस्था छ । यस विषयमा हाम्रो संघले गर्नुपर्ने काम गर्दै आएको छ ।
सरकारले अलि ध्यान दिन सकेको छैन । यसका लागि नक्कली उत्पादनविरुद्ध कानुनी कारबाही प्रणाली बनाउनुपर्छ । हामीले ब्रान्डिङ गर्दै आएको च्यांग्रा पश्मिनालाई अनिवार्य प्रमाणीकरणको व्यवस्था गर्नुपर्छ । उपभोक्तालाई असली र नक्कली छुट्याउने तरिकाबारे जानकारी दिनुपर्छ ।
यसका साथै सरकारले च्यांग्रापालन प्रवद्र्धन कार्यक्रमका लागि र उद्योगीहरूलाई ऋण अनुदान र तालिमको व्यवस्था गरिदिनुपर्छ ।
मुख्य कुरा राज्यले सकारात्मक दृष्टिकोण राखिदिनुुपर्छ । आर्थिक रूपमा सहज गरेर नयाँ युवा पुस्तालाई पनि यसमा संलग्न गराउन राज्यको साथ हुनुपर्छ । राज्यको सहयोग अनिवार्य हुनुपर्ने हो, तर पाइएको छैन ।
राज्यले निश्चित नीति बनाएर त्यसका आधारमा व्यवसायीलाई यस्तो सहयोग र सहकार्यको वातावरण बनाउनुपर्छ ।












प्रतिक्रिया